शनिबार, वैशाख ८, २०८१

माधव नेपाल के सत्ता गठबन्धनमै रहन चाहन्छन् ?

कांग्रेस-माओवादी सहितको बैठकमै जान छोडेका एमाले बरिष्ठ नेता माधव नेपाल फेरि सत्ता गठबन्धनको बैठकमा सहभागी हुन थालेका छन्

शित्तल शर्मा २०७८ साउन ९ गते २२:०२
तस्विर : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी नेताहरु

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहँदा पटक-पटक संसद विघटन गर्ने देखि आफु इतरका नेतालाई दमन गर्ने कार्यशैली अवलम्वन गरेपछि उनी विरुद्ध काग्रेस, माओवादी केन्द्र सहितका पार्टीहरुले विपक्षी मोर्चा बनाएका थिए ।

तत्कालिन सत्तासिन एमालेको काउन्टरमा विपक्षी काग्रेस, माओवादीले मोर्चावन्दी गर्नु स्वभाविक मानिएपनि त्यही मोर्चामा एमालेकै वरिष्ठ नेता माधव नेपाल समुह पनि सहभागी हुन पुगेको थियो । जसप्रति ओलीले पटक-पटक असन्तुष्टि मात्रै जनाएनन, माधव नेपाल, झलनाथ खनाल सहितका ११ नेतालाइ उनले एकपटक पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरे ।

तर पनि माधव नेपाल समुह ओलीको कारवाहीको कुनै प्रवाह नगरी काग्रेस, माओवादी केन्द्रसहितको गठवन्धनमा रहँदै आयो । काग्रेस, माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव र वावुराम भटटराइ पक्ष, राष्टिय जनमोर्चासगै माधव नेपालको एमाले टिमले गठवन्धन निर्माण गरेपछि उनीहरुले त्यसलाइ ५ दलीय गठवन्धन को नामाकरण समेत गरे ।

यही मोर्चाले ओलीको दोस्रो संसद विघटनका विरुद्ध संयुक्त मोर्चा कसे । संविधानको धारा ७६(५) अनुसार काग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निवेदन बोकेर राष्टपति कार्यालय पुगे । ओलीले संसद विघटन गरेपछि माधव नेपाल सहितका २३ सांसद देउवालाई प्रधानमन्त्री बनाउन अदालत सम्म पनि गए । अदालतले संसद पूर्नस्थापना गरिदियो । नेपाल समुहकै पनि साथका आधारमा सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो ।

त्यसपछि भने काग्रेस सभापति शेरवहादुर देउवाले सोही दिन अर्थात असार २८ गते आफनो निवास वुढानिलकन्ठमा बोलाएको विपक्षी गठवन्धन (त्यसवेला सम्म ओली सत्तापक्ष र काग्रेस माओवादी लगायतका दलहरु विपक्षी गठवन्धनमा थिए) को बैठकमा माधव नेपाल सहभागी नहुने सन्देश वुढानिलकन्ठ पुग्यो ।

त्यसभन्दा दुई दिन अगाडी देखि नै भीम रावलले विपक्षी गठवन्धनको नाममा अव काग्रेस -माओवादी सहितको बैठकमा सहभागी हुन नहुने भन्दै वैठकमै जान छोडिसकेका थिए । त्यसअगाडीसम्म यो गठवन्धनको बैठकमा नेपाल समुहबाट नेपाल र रावल सहभागी हुँदै आईरहेका थिए ।

संसद पूर्नस्थापना हुने, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश दिने वित्तिकै नेपाल वुढानिलकन्ठको वैठकमै नजाने सन्देश गएपछि काग्रेस र माओवादी केन्द्रले बैठक माधव नेपालको निवासमै गर्ने योजना बनाए । नेपालले पनि आफ्नो निवासमा नेताहरु आए अन्तिम पटक सहभागी हुने भन्दै त्यहीवाट संसद पूर्नस्थापना आफुहरुको एजेण्डा रहेको र त्यो पूरा भएको भन्दै गठवन्धन छोडने निश्कर्ष निकाल्यो । त्यसपछि असार २८ मा नेपाल निवासमै गठवन्धनको बैठक बस्यो ।

त्यही माधव नेपालले अव आफुहरु गठवन्धनमा सहभागी हुन नसक्ने जानकारी नेताहरुलाई गराए । अहिलेसम्म साथ रहेको, अव आफनो पार्टीभित्र एकताको प्रयास भईरहेकोले गठवन्धनमा सहभागी हुन नसक्ने र वाहिरिने धारणा माधव नेपालले काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत नेतालाई बैठकमा जानकारी गराएका थिए ।

त्यसपछि उनी गठवन्धनको बैठकमा सहभागी भएका थिएनन । यद्यपी, उनलाई निवासमै भेटन पुग्ने प्रचण्ड, प्रधानमन्त्री देउवालाई भने उनले भेटदै आएका थिए । त्यसवीचमा सिंहदरवारमा एकपटक गठवन्धनको बैठक बस्यो । तर त्यो बैठकमा माधव नेपाल सहभागी भएनन । नेपालको तर्फबाट त्यो बैठकमा नेता डा. विजय पौडेल सहभागी भए ।

त्यसपछि अव नेपालले सत्ता गठवन्धन छोडन सक्ने आंकलन धेरैलाई थियो । नेपाल समुहकै रावल देखि सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, लगायत नेताहरु पनि माधव नेपाललाई काग्रेस माओवादी गठवन्धनको बैठकमा जान रोक्दै आईरहेका थिए । अझ विशेष गरी माधव नेपालले विश्वास गरेका भीम रावलले त झन वढी नै दवाव नेपालमाथी पारिरहेका थिए ।

सत्ता सञ्चालन, मन्त्रालय वाँडफाँड लगायतका विषयमा छलफल गर्न सत्ता गठवन्धनले काग्रेसका महामन्त्री पूर्णवहादुर खड्काको संयोजकत्वमा काग्रेसका मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव रहेको कार्यदल बनाएपनि नेपाल समुहले त्यसमा नाम समेत दिएको थिएन ।

यो बेला शनिवार वालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकमा भने माधव नेपाल सहभागी भएका छन् । गठवन्धनको बैठकमा फेरि माधव नेपालको सहभागिताले के फेरि नेपाल सत्ता गठवन्धनमा जोडिन चाहेका हुन् ? प्रश्न उठेको छ ।

ओलीले पार्टी एकताका लागि नेपाल समुहका नेतालाइ आममाफी दिने घोषणा गरेपनि नेपालले त्यसलाई अझै ओलीमा महाराजधिराजको जस्तै अहंम देखा परेको भन्दै ओलीमाथी कटाक्ष गदै आएका थिए । यही परिवेशमा शनिवार विहान नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसपछि साझको वालुवाटार बैठकमा नेपालको उपस्थितीले फेरि नेपाल गठवन्धनको साथ छोडन नचाहेको अर्थमा लिन सकिने भएको छ ।

सरकारको आगामी रणनीति, मन्त्रिमण्डल विस्तारसहितका विषयमा कुरा गर्न बोलाईएको बैठकमा नेपालको उपस्थितीले अव नेपाल गठवन्धन छोडने पक्षमा नरहेको पुष्टि गरेको एमालेको ओली पक्षकै नेताहरुले टिप्पणी गरेका छन् ।

नेता नेपाललाई सरकारमा आउन प्रधानमन्त्री देउवा र प्रचण्डले फकाइरहेका छन्। उनीहरुले आवश्यक परे नेपाललाई सहयोगी हुने गरी दल विभाजनसम्बन्धी कानुन खुकुलो बनाइदिने वाचा गरेर नेपाललाई सरकारमा सहभागिताका लागि बोलाईरहेका छन् ।

तर नेपालले यस विषयमा औपचारिक निर्णय लिईसकेका छैनन ।

गठबन्धनको बैठकले प्रभावकारी ढंगले सरकार सञ्‍चालन गर्ने निर्णय लिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस विज्ञ विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् । मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको र सरकार प्रभावकारी सञ्चालन गर्ने निश्कर्ष बैठकले निकालेको सापकोटाले बताए ।

प्रतिक्रिया