शनिबार, वैशाख ८, २०८१

मित्रतादेखि कटुतासम्मको सम्बन्धमा आईजीपी थापा र एआईजी पाल

थापा आईजीपी हुँदा एकापसमा अँगालाे हालेर बधाई साटासाट गरेका उनीहरूबीचकाे सम्बन्धमा अहिले दरार पैदा भएकाे छ ।

मेरोन्यूज २०७८ साउन ९ गते १९:४८

काठमाडौँ । राजनीति, संगठन वा सरकारी निकाय जहाँ मुख्यपदका प्रतिस्पर्धी मिलेको खबर विरलै सुन्न पाइन्छ । एउटा प्रतिस्पर्धीले अर्को प्रतिस्पर्धीलाई हटाएर आफू विजेता बन्ने प्रयास हरदम चलिरहको हुन्छ । सकेसम्म आफैँ नेतृत्वमा पुग्ने र नसके नेतृत्वमा पुगेकालाई असफल बनाएर पुनः आफू नेतृत्वमा जाने प्रयास प्रतिस्पर्धी व्यक्तिहरुको स्वाभाविक चाहना हो । यो क्रम नेपाल प्रहरीभित्र अझ बढी चल्ने गरेको छ ।

रत्नशमशेर थापादेखि मोतिलाल बोहोरा हुन् वा अच्युतकृष्ण खरेलदेखि ध्रुवबहादुर प्रधानसम्म पनि यस्ता अस्वस्थ्य प्रतिस्पर्धा चले । अझ ओमविक्रम राणा र राजेन्द्रबहादुर सिंहको कथा बेग्लै छ भने रमेशचन्द ठकुरी र रविन्द्र प्रताप शाह, उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाहसम्म आइपुग्दा स्वस्थ्यभन्दा अस्वस्थ्य प्रतिस्पर्धा चलेको थियो ।

नवराज सिलवाल र जयबहादुर चन्दसम्म आइपुग्दा यसले चरम रुप नै लियो अदालतमा मुद्धासम्म पर्यो, प्रकाश अर्याल आईजीपी भए, जयबहादुर चन्द नियुक्ति मात्रै भए फुली लगाउनसम्म पाएनन्, सिलवालले डिआईजीबाटै राजिनामा दिए । त्यसपछिको व्याचलाई हेर्ने हो भने सर्वेन्द्र खनाल आईजीपी भएपछि रमेश खरेलले पनि डिआईजीबाटै राजिनामा दिए । यसरी हेर्दा नेपाल प्रहरीभित्र नेतृत्वका लागि हुने अस्वस्थ्य प्रतिस्पर्धा समान्य जस्तै छन् । अब हुने नेतृत्वका लागि पनि अहिलेदेखिनै रस्साकस्सी शुरु भएको छ ।

यद्यपि शैलेश थापा क्षेत्री र हरि पालका बीचमा यस्तो अस्वस्थ्य प्रतिस्पर्धा देखिएन । उनीहरु सधैँ एकअर्कालाई स्वीकार गरेर अघि बढे । ठाकुरप्रसाद ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जानु अघिसम्म थापा र पाल दुवै आईजीपीका प्रतिस्पर्धी थिए । उनीहरु दुवैले एउटा सहमति गरे–राजनीतिक रुपमा दुवैले प्रयास गर्ने, तर एकले अर्काेलाई चुक्ली लाउने काम नगर्ने र मिडियाबाजी नगर्ने । यी दुवै काम उनीहरुले गरेनन् ।

२८ औँ आईजीपी कसरी नियुक्ति भयो भन्ने बारेमा बाहिर ठूलै चर्चा नै भएन । त्यसअनुसार पालले कार्य तथा अपराध विभागको जिम्मेवारी लिए । यसअघि प्रतिस्पर्धीलाई खेदाएर प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाउने गरिन्थ्यो । तर थापाले पाललाई कार्य तथा अपराध विभागमा राखेर आफूहरु मिलेको संकेत दिए ।

‘नेपाल प्रहरीमा प्रतिस्पर्धीलाई शुरुमै प्रधान कार्यालयभित्रको विभाग दिएर राख्ने गरेको कमै पाइन्छ तर थापा र पाल मिलेको जोडी भएकाले पाल प्रधान कार्यालयमै बसे’, एक प्रहरी अधिकारीले उनीहरुको सम्बन्ध सुमधुर रहेको बताउँदै भने । उपेन्द्रकान्त अर्याल अवकाश पाएपछि डिआईजीबाट आईजीपी बन्दै आएका थिए । थापा अघिका आईजीपी ठाकुर ज्ञवाली पनि डिआईजीबाटै नियुक्त भएका हुन् । नेपाल प्रहरीमा थापा र पालमात्रै एआइजीमा पनि प्रतिस्पर्धी र आईजीपीमा पनि प्रतिस्पर्धी भएका थिए ।

पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् । प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिन्छन् । आईजीपी नियुक्ति सरकारले गर्ने भएकाले प्रधानमन्त्री वा गृहमन्त्रीसँग नजिक भएका व्यक्ति वा उनीहरुले रुचाएका अधिकृत मात्रै आइजीपी हुनेछन् भन्ने कुरा दुवैले बुझेका कारण उनीहरुले आइजीपीको प्रतिस्पर्धामा सहमतिमै दौडधुप गरे ।

प्रहरी नियमावलीमै सरकारले उपयुक्त लागेको जुनसुकै व्यक्तिलाई एआईजी वा डिआईजी मध्येबाट आईजीपी बनाउन सक्ने उल्लेख भएका कारण दुई मध्ये एक जना हुने अवस्था आएपछि दुवैले यस्तो सहमति गरे । प्रतिस्पर्धा रहेका थापा र पाल विगतमा विवादमा तानिएका थिएनन् । थापाले झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत कमान्ड सम्हालेका थिए । त्यसपछि मानव स्रोत एवं प्रशासन विभागको रहँदा आईजीपीमा बढुवा भए ।

पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरे । अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख हुँदै गर्दा उनले आईजीपीमा प्रतिस्पर्धा गरे । थापाको तुलनामा फिल्डको कमाण्ड पालले अलि धेरै गरेका छन् । उनले महानगरीय अपराध महाशाख, महानगरीय प्रहरी परिसरलगायतका कार्यालयमा पनि बसेर जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपाल प्रहरीमा थापालाई गमलाको फूलको उपमा दिइथ्यो भने पाललाई त्यो गमलाको फूल सजाउने मात्र होइन त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा आइडिया भएको अधिकृतका रुपमा व्याख्या गरिन्थ्यो । त्यसकारण जो आइजीपी भए पनि संगठनको कमाण्ड गर्न सक्छन् तर एकले अर्कालाई सहयोगको आवश्यक छ भनिन्थ्यो ।

त्यही कारण पालले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बसेर भ्यालीको कमाण्ड गर्ने अवसर पनि पाए । जुन स्थानमा यसअघि आईजीपी थापा आफैँले कमाण्ड गरेका थिए । उनीहरुको घनिष्ठ सम्बन्धबारे बुझ्न एउटा यो उदाहरण काफी छ । एक वर्षअघि असार २६ गते सरकारले नयाँ आईजीपी नियुक्त गर्दै थियो । प्रमुख प्रतिस्पर्धी थिए थापा र पाल । मन्त्रिपरिषद्को बैठक बसिरहेको थियो ।

तर दुवै आफ्नो लागी लविङ गर्नुको साटो एकै ठाउँमा एकैसाथ बसिरहेका थिए । दुवैलाई ठाउँ/ठाउँबाट फोन आइरहेको थियो । कसैले पाललाई आइजीपी बनाउन लागेको सूचना आएको छ भन्दै फोनमार्फत बधाई दिइरहेका थिए, कसैले थापालाई बनाउन लागेको सूचना पाएको भन्दै थापालाई बधाई दिइरहेका थिए । कतिले त एउटालाई बधाई भन्दै तुरुन्त अर्कोलाई अर्कोलाई बधाई भन्दै फोन गर्थे ।

थापा र पाल हाँस्दै टारिदिन्थे । केही छिनपछि मन्त्रिपरिषद्ले थापालाई आईजीपी बनाउने निर्णय गरेको औपचारिक जानकारी आयो । त्यसपछि पालले अँगालो हालेर थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । लगत्तै मिडियाबाट आएको फोनहरुमा पालले आफ्नो मिल्ने साथी थापा आइजीपी नियुक्त भएकामा आफू खुशी रहेको भन्दै पूर्ण सहयोग रहने सार्वजनिक प्रतिबद्धता जनाए ।

जागिरे जीवनको २९ औं वर्षसम्म मिलेर बसेका यी दुई जोडीको सम्बन्धमा एक महिना यता दरार उत्पन्न भएको छ । जब प्रहरी प्रधानकार्यालयको सिफारिसमा सरकारले पालको महानगरीय प्रहरी कार्यालयबाट सात महिनामै सरुवा भयो त्यसपछि पालले आईजीपीसँग भने मेरो के गल्ती थियो र एक वर्ष नपुगी सरुवा गरेको ? त्यसमा आईजीपी थापा नाजवाफ भए, कुनै प्रतिक्रिया जनाउन सकेनन् ।

त्यसदिन दुईजनाबीच तल्लोतहमा उत्रिएर विवाद भएको स्रोतले जानकारी दियो । प्रहरी अधिकारीको एक वर्ष अघि कमाण्ड खोसियो वा सरुवा भयो भने उसलाई कारवाही गरेको वा कमाण्ड असफल भएको मानिन्छ । जागिरे जीवनबाट घर जाने बेलामा भएको यो सरुवालाई पालले अपमान भएको ठाने ।

‘कोरोना संक्रमण हुँदा पनि निर्वाध रुपमा फिल्डम खटिएको थिए, हामी सफल हुनु भनेको आईजीपी सफल हुनु हो ठाने, तर आईजीपीले त्यो नबुझी सरुवा गरिदिए यो राम्रो भएन’, उनले आफू निकटका प्रहरी अधिकारीसँग गुनासो गरेका थिए । त्यतिमात्र होइन उनको सरुवा यस्तो ठाउँमा भएको कि–उनले पहिला नै कमाण्ड गरेर गएको स्थान कार्य र अपराध मध्ये फुटाएर बनाएको विभाग कार्यमा पठाएर उनलाई झन् अपमान गर्न खोजियो ।

‘२९ वर्षको जागिरमा हामीबीच कुनै नराम्रो भएन तर अहिले मलाई जसरी अपमान गर्न खोजियो कि मैले यसअघि कमाण्ड गरेको विभाग फुटाएर त्यहाँ पठाइयो’, पालले आफू निकटका प्रहरी अधिकारीसँग भनेका थिए । तर नयाँ सरकार गठनसँगै पालको सरुवा रोकियो । आइजीपी थापाले नै फोन गरेर रमना नलिनू भने । अहिले आइजीपी थापा र पालबीच दरार आएकै कारण भ्यालीको सुरक्षा रिपोर्टिङ पनि डिआईजी उत्तम सुवेदीले गर्दै आएका छन् ।

सरकारले आफूभन्दा पछिल्लो ब्याजका डिआईजी विश्व पोखरेललाई एआईजीमा बढुवा गरेर आईजीपीका लागि बाटो खोल्ने प्रयास गर्दा सामूहिक राजिनामा दिने भनेर दबाब सिर्जना गर्न सफल भएका थापा र पालको सम्बन्धको विषयमा प्रहरीभित्रै नमूना मानिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे एमाले सरकारले पाललाई सात महिनामै सरुवा गर्दा थापाले रोक्न सकेनन् वा रोक्न चाहेनन् । उनले खुरुक्क निर्णय कार्यान्वयन गरिदिए ।

‘अरुबेला ठुला आदर्शको कुरा छाँट्ने आइजीपी थापाले आफू निकट सहकुल थापालाई दरबन्दी थपेर एआईजी बढुवा गर्नेमात्रै होइन डिआईजी बढुवामा पनी ब्याच मिचेर एक नम्बरमा बढुवा गर्न खुलेरै कम्मर कसेर लागे । तर आफूलाई सधैँ साथ दिँदै आएका पालको विषयमा भने मित्रता निभाउन सकेनन् ।’ पाल निकट ति अधिकारीले बताए ।

घटनाक्रमले शेरबहादुर देउवाको कुनै बेला पिएसओ बसेका पाल अहिले देउवा प्रधानमन्त्री बनेसँगै शक्तिशाली बनेका छन् । अर्कोतर्फ थापा केही निरिह देखिन थालेका छन् । एआईजी सरुवाको निर्णय कार्यान्वयन रोकिएसँगै प्रहरीभित्र थापाको निरीहियता बाहिरीएको छ । गहिरो मित्रताको प्रतीक बनेका थापा र पालको सम्बन्ध अबका दिनमा पुनः मित्रवत दिशातर्फ जान्छ कि कटुतापूर्ण दिशातर्फ जान्छ । यसले यी दुईबीचको जीवनमामात्रै होइन समग्र प्रहरी संगठनकै जीवनमा प्रभाव पार्ने निश्चित छ ।

प्रतिक्रिया