शुक्रबार, चैत १६, २०८०

टोकियो ओलम्पिकः जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

मेरोन्यूज २०७८ साउन ९ गते १०:०८

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरेकी हुन् ।

जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा छिन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन् । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् ।

भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

Advertisement

आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय बेहोरेकी छन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया