शनिबार, वैशाख १५, २०८१

लामो र मध्यम दुरीका सवारी साधन आजबाट सञ्चालनमा, स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने

मेरोन्यूज २०७८ साउन ९ गते ८:५७

काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद र जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयपछि यातायात व्यवसायीले लामो तथा मध्यम दुरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

महासचिव सिटौलाले सरकारले तोकेको मापदण्ड पालना गरेर नै यातायातका साधन सञ्चालन हुने बताए ।

लामो समयसम्म ग्यारेजमा थन्किएका कारण र वर्षातको समयमा बाटोको खराबीले गर्दा अहिले तत्काल सबै सवारी साधन सञ्चालनमा आउन नसकेपनि मर्मत सम्भारपछि विस्तारै सबै सवारी साधन सञ्चालन हुने उनको भनाई छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकाले गत बैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि लामो तथा छोटो दुरीका सबै सवारी साधन थन्किएका थिए । छोटो दुरीका सवारी साधन यसअघि नै सञ्चालनमा आएपनि लामो र मध्यम दुरीका सवारी साधन भने सञ्चालनमा ल्याइएको थिएन ।

विश्वविद्यालय र लोकसेवा आयोगले यसअघि रोकिएका परीक्षा सञ्चालनको तयारी गरेपछि सरकारले पनि लामो र मध्यम दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएको हो ।

विश्वविद्यालय र लोक सेवा आयोगको परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सूचना जारी गरेको थियो।

प्रतिक्रिया