शुक्रबार, चैत १६, २०८०

चिनियाँ राष्ट्रपति सीको तिब्बत भ्रमणको कूटनीतिक अर्थ

केशरमणि कटुवाल २०७८ साउन ९ गते ९:०८

सन् २०१३ मा चिनियाँ राष्ट्रपतिको पदभार सम्हालेका सी जिनपिङले पहिलो पटक स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । नेपालसँग सीमा जोडिएको तिब्बत चीनका अन्य प्रान्तको तुलनामा कम विकसित छ । राजनीतिक दृष्टिकोणले निकै संवेदशील रहेको तिब्बतमा यसअघि उनले २०११ मा भ्रमण गरेका थिए । सन् २००८ मा उपराष्ट्रपति बनेका उनले ३ वर्षपछि तिब्बतको भ्रमण गरेका थिए भने राष्ट्रपति भएको करिब ८ वर्षपछि तिब्बत आएका हुन् । नेपालको सम्पूर्ण उत्तरी सीमा र भारतको हिमाञ्चल, उत्तराखण्ड, सिक्किम, अरुणाञ्चलका साथै भुटानको समेत सीमा जोडिएको तिब्बत चीनका लागि कूटनीतिक र सामरिक दृष्टिकोण निकै महत्वपूर्ण छ। केही वर्षअघि डोकलामा भएको विवाद र गत वर्षदेखि लद्दाखमा चलिरहेको संघर्षबीच चीनले सिचुवान र तिब्बतलाई जोड्ने नीति लिएको छ ।


सुटुक्क तिब्बतमा

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति जिनपिङको भ्रमणलाई चीनले समेत गोप्य राखेको थियो । तिब्बतको पोटाला बजारका व्यापारीहरुलाई चीन सरकारले २२ जुलाईमा पसल र प्रतिष्ठानहरु नखोल्न सूचना जारी गरिएको थियो । यसबाट नै तिब्बतीहरुमा कोही चिनियाँ कम्युनिस्ट पार्टीको वरिष्ठ नेता वा सरकारी प्रतिनिधिमण्डल आउने शंका थियो । तर कुनै पूर्वसूचना बिना नै राष्ट्रपति सी तिब्बत पुगे ।

ल्हासामा पोटाला दरबारबाहिर उनले जनसभालाई सम्बोधन समेत गरे । सम्बोधनमा उनले भने, ‘जबसम्म हामी कम्युनिस्ट पार्टीको अनुशरण गरिरहन्छौं र समाजवादको बाटोमा अघि बढिरहन्छौं, तबसम्म हामीलाई आफ्नो देशको विकास गर्न सहज हुनेछ।’ राष्ट्रपति सीको यो भनाईले चीनको विकासको अबको प्राथमिकता तिब्बत भएको संकेत गर्छ । पछिल्लो दशकमा चीनले तिब्बतमा रेल, सडक, विमानस्थल र सैन्य पूर्वाधारको विकासलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको छ । चीनको सरकारी मिडिया सीजीटीएनका अनुसार ल्हासामा जिनपिङ एक महत्वपूर्ण बौद्ध मठ द्रेपुंप मठ गएर त्यहाँको प्राचीन र धार्मिक तिब्बतका इलाकाको धार्मिक र सांस्कृतिक संरक्षणका बारेमासमेत जानकारी लिए ।

केशरमणि कटुवाल


कूटनीतिक रुपमा अर्थपूर्ण
राष्ट्रपति सी जिनपिङको यो भ्रमणलाई कूटनीतिक रुपमा अर्थपूर्ण रुपमा लिइएको छ । किनकि तिब्बत नेपाल र भारतसँग सीमा जोडिएको महत्वपूर्ण प्रान्त हो । तिब्बत आएपछि ल्हासा जाने रेल चड्नुअघि उनी न्यिंग्ची रेलवे स्टेशन गएका थिए। यो भ्रमणलाई लिएर भारतको कूटनीतिक र सामरिक क्षेत्रले समेत निकै चासो व्यक्त गरेको छ । ग्लोबल टाइम्सले ल्हासाको भ्रमणभन्दा उनको न्यिंग्ची यात्रालाई निकै महत्त्व दिएको छ ।

Advertisement

राष्ट्रपति सीले तिब्बतमा निर्माण भइरहेका रेलवे परियोजनाहरुमा भइरहेको प्रगतिबारे जानकारी लिँदै छिटो सम्पन्न गर्न निर्देशन समेत दिएका छन्। यो क्षेत्र भारतको अरुणाञ्चल प्रदेशको सीमा नजिकै रहेको छ । भारत र चीनको सीमा क्षेत्र नजिकै रहेको यो ठूलो सहरको पछिल्ला केही दशकपछि भ्रमण गर्ने सी पहिलो चिनियाँ नेता हुन्। यसअघि सन् १९९० मा तत्कालीन राष्ट्रपति जियाङ जमिनले तिब्बतको भ्रमण गरेयता शीर्ष नेताले भ्रमण गरेका थिएनन्।

चीनले आगामी पञ्चवर्षीय योजनामा पूर्वी र पश्चिमी इलाकाका आसपासका क्षेत्रलाई आपसमा जोड्न वृहत योजना बनाइरहेको छ । तिब्बत दक्षिण पश्चिम चीनमा व्यापारको विशाल केन्द्रका रुपमा रहन सक्नेछ । चीन विश्वकै प्रमुख आर्थिक शक्तिका रुपमा उदाइरहँदा तिब्बतको विकास अन्य विकसित प्रान्तहरुमा जस्तो हुन सकिरहेको छैन । त्यसैले पनि तिब्बतलाई अन्य विकसित प्रान्तको दाँजोमा पु¥याउने लक्ष्यसहित चीन तिब्बत केन्द्रित योजना बनाइरहेको छ ।

तिब्बतको रेलमार्गलाई राष्ट्रिय रेलमार्गसँग जोडिदै छ । प्राचीनकालदेखि नै तिब्बत नेपालको प्रमुख व्यापारिक मार्ग हो । चीनले तिब्बतको केरुङ हुँदै काठमाडौंसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेकाले त्यहाँको रेल सञ्जालसँग नेपालको पनि गहिरो चासो छ । नेपाल र चीनबीच सन् २०१८ ममा यातायात तथा पारबहन सन्धिमा हस्ताक्षर भएको थियो । यसलाई चीनले एसियासँग जोड्ने प्रमुख मार्गका रुपमा विकास गरिरहेको छ । त्यसका लागि तिब्बतको अत्याधुनिक विकास पहिलो शर्तजस्तै बनेको छ ।


नेपालका लागि महत्वपूर्ण न्यिंग्ची रेलमार्ग
नेपाल र ल्हासाबीच पुरानो व्यापारिक सम्बन्ध छ । पछिल्लो समयमा यातायातको विकाससँगै व्यापारमा सहजता ल्याएको छ । नेपालसँगको व्यापारिक तथा आर्थिक सम्बन्ध बलियो बनाउनका लागि ल्हासा न्यिंग्ची रेलमार्गले महत्वपूर्ण भूमिका खेल्नेछ। ल्हासा न्यिंग्ची रेलमार्गको सुरुवात गत महिना सुरु भएको हो । यसलाई सिचुवान–तिब्बत रेलमार्गको सामरिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । १ हजार ७४० किलोमिटरको यो रेलमार्गले सिचुवान र ल्हासालाई जोड्छ ।

गत महिना तीव्र गतिको ल्हासादेखि न्यिंग्ची रेलमार्ग उद्घाटन गरिएको छ र १६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा यहाँ रेल गुड्छ । नेपाल र भारतसँग सीमा जोडिएको तिब्बतका आधारभूत सुविधा बढाउने र विकासका कार्यमा तिव्रता दिने काम चीनले पछिल्लो दशकदेखि नै गरिरहेको छ । भारत यस क्षेत्रमा चीनको प्रतिस्पर्धी देश हो ।

सन् १९५९ को विद्रोह असफल भएपछि दलाई लामा भारत निर्वासित भए । दलाई लामालाई भारतले लामो समयदेखि आश्रय दिइरहेको छ । र स्वतन्त्र तिब्बत अभियान चलाइरहेका छन् । तिब्बतमा अस्थिरता ल्याउनका भएको खम्पा विद्रोहलाई नेपालले असफल पारिदिएको थियो । अरुणाञ्चल, लद्दाखजस्ता स्थानमा चीनविरुद्ध लड्नका लागि भारतीय सेनाभित्र तिब्बतीहरुको विशेष सैन्य दस्ता ‘स्पेशल फ्रन्टियर फोर्स (एसएफएस) नै बनाएको छ । यसको मुकाबिलाका लागि पनि चीनले आफ्नो सेनाभित्र तिब्बतीहरुको भर्नामा तिव्रता ल्याएको छ ।

पश्चिमा शक्ति राष्ट्रले चीनविरुद्ध चालिरहेका कदम, एसिया प्रशान्त र दक्षिण चीन सागरमा अमेरिकासहित चीनविरोधी राष्ट्रको गतिविधि, अमेरिकासँगको व्यापारिक र कूटनीतिक संघर्षका कारण विश्वको उदाउदो प्रमुख आर्थिक शक्ति चीनले एसियालाई आफ्नो उच्च प्राथमिकतामा राखेको बताउँदै आएको छ । यसै क्रममा भएको सीको भ्रमणलाई कूटनीतिक र सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया