शनिबार, वैशाख ८, २०८१

‘सिनेमा क्रियटिभ हो, फ्लप भन्ने हुँदैन’

मेरोन्यूज २०७८ साउन ९ गते १३:२३

सानैदेखि सिनेमामा लाग्ने इच्छा राखेको थिएँ । मैले २०४८ सालमा एसएलसी दिएँ । एसएलसी पास भएपछि फिल्म मिडिया पढ्न खोजेँ । नेपालमा थिएन । बाहिर (विदेश) जान पैसा थिएन । छात्रवृद्धिको प्रयास गरेँ । तर, मिलेन । मसँग सोर्स फोर्स थिएन । सरकारी कोटाबाट जान खोजेँ । त्यो पनि पाइएन ।

त्यतिबेला मैले पत्रकारिता तथा आमसञ्चार पढ्दा पत्रिका, फोटोबारे पढ्न पाइन्छ भन्ने थाहा पाएँ । अनि काठमाडौंको प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आर आर)मा प्रमाणपत्र तह (आइए)मा भर्ना गरेँ । पढ्न थालेँ ।

आइए पढ्दा पढ्दै मैले नेपाली सिनेमामा काम पाएँ, २०४९ सालमा । त्यो बेला शुरुमा भिडियोमा काम गरेँ । त्यसपछि टेलिफिल्ममा काम गरेँ । २०५१ सालमा फिचर फिल्ममा सहभागिता जनाएँ, फिल्ममा काम गरेँ ।

‘आन्दोलन’ भन्ने मेरो पहिलो फिचर फिल्म हो । त्यसपछि ‘चुनौती’ भन्ने सिनेमामा काम गर्न पाएँ । त्यस्तै ‘घाइते’ भन्ने फिल्ममा काम गरेँ । ३, ४ वटा फिल्म काम गरिसकेपछि नारायण पुरी दाइको समूहमा सहभागी हुन पुगेँ । उहाँको फिल्ममा सबैजसो काम गरेँ । मिडिया पढेको भएर पदको हिसाबले जनसम्पर्क अधिकृत दिनुभयो । हिट भएका सिनेमा सुटिङका बेला मलाई अवसर आएको थियो ।

त्यति बेला २ वर्ष सिनेमा क्षेत्रमा काम गर्दा मेरो अध्ययनमा डिस्टर्ब भयो । २ वर्ष पढाईमा पछाडि परेकाले, मेरो मनले पढाईमा लाग, सिनेमा छाड भन्यो । मैले काम गरेका फिल्म हिट, सुपरहिट भए । तर म लोभमा नपरी, घरबाट पनि पढाइ पुरा गर्नु पर्छ भन्ने दबाब आउन थालेकाले पढाईमा लागेँ ।

पत्रकारिता यात्रा

पत्रकारिता तथा आमसञ्चारको विद्यार्थी भएकाले पढाईसँगै पत्रकारितामा पाइला चालेँ । पत्रकारिताको विद्यार्थी भएकाले नारायण पुरी दाइको समुहमा काम गर्दा गर्दै मैले सोही क्षेत्रमा जागिर गर्न थालेको थिएँ । मैले स्ट्रिङंगरको रुपमा कहिले कुन पत्रिका कहिले कुनमा लेखिरहन्थेँ ।

कान्तिपुर पब्लिकेशनको साप्ताहिकमा लेख्न थालेँ । रेडियोमा कार्यक्रम चलाउन थालेँ । नेपाल टेलिभिजनमा कार्यक्रम चलाएँ । पार्ट टाइम जस्तो काम गर्न थालेँ । पहिलो मनोरञ्जनात्मक अनलाइन साइबर संसार डटकममा काम गरेँ । स्पेश टाइम्स, इमेज एफएममा काम गरेँ ।

राजेन्द्र सलभ दाइले नेपाल टेलिभिजनमा मार्स्टस् च्यानल २ घण्टे कार्यक्रम निमार्ण गर्नु हुन्थ्यो, म त्यसमा सहभागी भएँ । स्पेश टाइम्स दैनिकमा काम गर्दा पारिश्रमिक समस्या आएपछि छाडेँ । अवसर आएपछि कहिले २ महिना कहिले १ महिना, कहिले कता कहिले कता ? मैले काम गर्थेँ । जताबाट अवसर र पैसा आयो त्यतै ।

काम गर्दै पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर सकियो । सिने, म्युजिक, नाटक, सबैमा कलम चलाउन थाले । कान्तिपुर साप्ताहिकबाट मलाई अवसर आएपछि उपसम्पादकदेखि वरिष्ठ उपसम्पादक भएर १९ वर्ष काम गरे ।

फ्लिमदेखि पत्रकारितासम्म

म नाटक सिनेमामा कलाकार, डान्सर भएकाले आइए पढ्दा म्युजिक भिडियोमा काम गर्थें । आफू पनि देखिन्थेँ । अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेछ’ गीत सागर र म मिलेर हामीले म्युजिक भिडियो बनायौँ । कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ मेरो साथी भएकाले ‘राम राम’ गीतको म्युजिक भिडियो बनाए, जुन निकै चर्चामा आयो । राजेन्द्र सलभको दृश्य च्यानलबाट म्युजिक भिडियो धेरै बनाए । बीचमा अर्धकट्टी भन्ने फिल्म गरेँ । ४ वर्षअघि सुश्री सम्पत्तिको निर्देशक भएर फिल्ममा काम गरे ।

सोचे कति मिडियामा काम गर्ने ? २४ वर्ष मिडियामा काम गरिएछ । ४० वर्ष उमेर कटेपछि फेरि म्युजिक भिडियो, फिल्ममा लागेको छुँ । यसैलाई निरन्तरता दिन्छु । के घर के डेरा नामको फिल्म बनाउने तयारीमा छु । २०७६ सालदेखिको कोरोना र बेलाबेलामा हुने लकडाउनले काम गर्न गाह्रो भएको छ । सहज भयो भने ‘के घर के डेरा’लाई अघि बढाउने छु ।

अहिले म्युजिक भिडियो ५ सयभन्दा बढी बनाए, फिल्मको निर्देशक बनेँ तर २४ वर्ष मिडियामा काम गरेको मान्छेले मिडिया छोड्न नसक्दा ठूलो पर्दा नामको अनलाइनमा सम्पादक भएर काम गरिरहेको छु ।

सिनेमामा मेरो सोच

नेपाली सिनेमाको विकासका लागि नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्छ । बजार ठूलो बनाउनु पर्यो । चाहे नेपाली सिनेमाको होस् या म्युजिक भिडियोको । बजार ठूलो भए मात्र हामी ‘सर्भाईब्’ हुन्छौँ ।

नेपाली नपुगेको देश छैन । नेपाली र नेपाली भाषीमा नेपाली सिनेमा पुग्नु पर्यो । त्योसँगै अन्य भाषा विदेश सम्सक्राइभ, नेपाली फिल्म हिन्दीमा, अंग्रेजी भाषामा डबिङ गर्यो भने झन् विकास हुन्छ । पछिल्ला समय केही सिनेमाले सब टाइटलमा सिनेमा ल्याउन थालेका छन् । यो राम्रो हो । अब त्यसतर्फ पनि हामीले सोच्नुपर्ने देखिन्छ ।

सिनेमको समस्या

अहिले मनन गर्दा हाम्रो सिनेमा अन्तर्राष्ट्रियकरण भएका छैनन् । ओटीटीमा जानुपर्छ । हामीसँग एउटा मात्र बाटो छ, सिनेमा हलमा रिलिज गर्न । अमिताभ बच्चन, सलमान खान को फिल्म लकडाउनमा चले । इन्टरनेटमा रिजिल भए । निमार्ताले फाइदा पनि लिए । हामीले सकेनौँ । ओटिटी अब आउँदैछन् हेरै कुनै सामान उत्पादन गर्दा राख्ने सोरुम बेच्ने होलसेलर रिटेलर बिक्रेता र क्रेता हुन सकेन । राम्रा फिल्म बन्दा अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । बंगाली केही साउथ इन्डियन भन्दा राम्रा छन्, नेपाली फिल्म । यसलाई विदेशमा लानु पर्छ ।

नेपालमा चलचित्र विकास बोर्ड गठन मात्र भयो । यसमा मेरो कुनै विरोध छैन । तर चलचित्र बोर्डले भारतको जस्तै ओटिटी ल्याउने काम गर्नुपर्यो । समस्यामा परेपछि मात्र सोच्ने बानी हटाउनुपर्छ । लामखुट्टेले टोकेपछि लामखुट्टे मार्ने औषधी किने जस्तो भयो । कुन ठाउँमा लामखुट्टे कहिले लाग्छ थाहा पाएर लाग्नुभन्दा अघि सचेत बन्नुको विकल्प छैन ।

राजनीतिक नियुक्तिले सरकारी क्षेत्र बिग्रेको छ । सरकारी मिडियाका ठूला मान्छेले सरकार परिवर्तनसँगै राजीनामा दिन बाध्य भए । यो राम्रो होइन । राजनीतिक नियुक्तिलाई पनि प्रोफेस्नर बनाउन आवश्यक छ । पछिल्लो समय राजनीतिप्रति जनताको इच्छाशक्ति मर्दै गएको छ ।

अबको योजना

मैले केही योजना बनाउछु । तर, सोच्दा कम्परमाइज गर्नुपर्छ । सोच, समय, अवस्था, आर्थिक अवस्थामा । मैले हलिउडको सिनेमा सोच्छु, दिमागमा । सिनेमामा हेलिकप्टर सोच्दा साइकलमा पुग्छु । चन्द्रमा (मुन) सोच्छु तर मुस्ताङमा पुग्छु । क्रियटिभ राइटर, निर्देशकले अंशुवर्मा फिल्म बनाउन सोच्छ । तर समस्या छ । भारतमा बनेको मोहन जोदारो जस्तै नेपालका ऐतिहासिक फिल्म बनाउन सकिन्छ, धेरै कुराको अपुगले विकल्पमा पनि बाधा ल्याउँछ ।

२०४६ सालको जनआन्दोलनको फिल्म बनाउँदा पनि सोच्ने मात्र हो । सिनेमा मात्र होइन, म्युजिक भिडियोमा माटाको घर खरले छाएको खोज्न गाउँमा जानुपर्छ टाढा । सुटिङको लागि रिमोट एरियामा जान सकिदैन । भुइचालोले घर भत्किए, जसका कारण सबै घर अहिले कंक्रिट भए । पुरानो घर भएपनि टिनले छाएको भयो । योजना बनाउन जे अगाडी आएको छ, त्यहि गर्ने हो ।

फिल्म नचल्दा…

फिल्म, भिडियो चलेन भने आरोप निर्देशकलाई लगाईन्छ । दोष लिइन्छ, निर्देशक टिमको क्याप्टेन हो । तर नेपालमा क्याप मात्र भिराइन्छ । सिनेमा चलाउने तरिका सिकाउँम्, निर्माता, वितरकले सिनेमालाई चल्न नदिने कारणले समस्या देखिएको हो । पेन्टिङ गर्ने पेन्टरले हो त्यसलाई क्युरेटरले प्रदर्शन हुने ठाउँमा पुर्याउँछ । मार्केटिङ गर्ने होइन । पेन्टिङ गर्ने काम क्रियशन हो । सबै सबैले मन पराउन पनि सक्छ, नपराउन पनि पाँउछ ।

यो गेम होइन गोल गर्ने । म्युजिक भिडियोमा कुन चाँही चल्छ भन्न सकिदैन । कुनै भिडियो दर्शकले मन पराएन भन्दैमा सम्पूर्ण दोष निर्देशकको हुँदैन । सर्वसाधारणले कस्तो रुचाउछन्, कस्तो रुचाउँदैनन् व्यक्ति अनुसार फरक हुन्छ ।

मन पर्ने निर्देशक

मेरो मित्र आलोक नेम्वाङ जो यो संसारबाट बिदा हुनु भयो । उहाँ मलाई मनपर्ने निर्देशक हो । यस्तै भुषण दाहाल र पछिल्लो समय राजेश पुमा राई र विधान कार्कीको काम मलाई मनपर्छ । गीतलाई न्याय दिन सक्ने अशिम शाह पनि मनपर्ने निर्देशक हुन् ।

मन पर्ने कलाकार

कलाकार सबै राम्रा छन् । सबै सहयोगी हुनुहुन्छ । वर्षा राउत, रेश्मा घिमिरेसँग मैले काम गरेकाले उनीहरूकाे नाम लिन्छु । तर खुबी भएका थुप्रै छन् ,सबैको नाम लिएर सकिदैन सबै आ आफ्नो ठाउँमा राम्रा छन् ।

निर्देशक आचार्यका चर्चित म्युजिक भिडियोहरु
मनमगन, पिरिम नलाउने, फिगर कोकाकोला, ज्यानमाया तिमीलाई, काले केटा, कल्लाई थाहा छैन, अल्लारे, हुकुम बक्सियोस्, पछिपछि लाएर, ए मान्छे, म तिम्रो शहर छोडी, गल्बन्दी पछ्यौरी, लगनगाँठो एल्बम, सुनन स्विटहार्ट, माया किन मोडियो, जिम्माल बाको छोरो आदि ।


(निर्देशक सुव्रत आचार्यसँग मेरो न्युजका किरण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया