मंगलबार, चैत ६, २०८०

ओली र नेपालले बनाएको युवा फोर्सको औचित्यमाथि योगेशको प्रश्न

मेरोन्यूज २०७८ साउन ८ गते २२:३१

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षले निर्माण गरेको युवा दस्ताको औचित्य माथि प्रश्न उठाएका छन् ।

आज फेसबुकमा स्टाटस लेख्दै उनले अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्श र अखिल फोर्शको औचित्य के छ ? भनेर प्रश्न गरेका छन् ।

भट्टराईको फेसबुक स्टाटस:

ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेत्रित्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्श र अखिल फोर्शको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेत्रित्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथ फोर्श र अखिल फोर्शले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्से हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुसरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिस्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।

Advertisement

प्रतिक्रिया