मंगलबार, चैत ६, २०८०

पाेखरा क्षेत्रीय विमानस्थल बनेसँगै पोखरा–ढाका सिधा हवाई उडान हुने

मेरोन्यूज २०७८ साउन ८ गते २०:४२
फाइल फाेटाे

गण्डकी । पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै बङ्गलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बङ्गलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बङ्गलादेशीहरू आकर्षित हुने गरेका छन् । हाल ढाका–काठमाडौँ दैनिक एक उडानमात्रै हुँदै आएको छ ।

पाँच करोड जनसङ्ख्या रहेको बङ्गलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्र्याउन सकिए यहाँको पर्यटन प्रवर्द्धन हुनसक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता व्यक्त गरे ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बङ्गलादेशी नेपाल आउने गरेकामा २० हजार जति पोखरा घुम्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

प्रतिक्रिया