मंगलबार, चैत ६, २०८०

देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलाे पटक राष्ट्रपतिसँग भेट

मेरोन्यूज २०७८ साउन ८ गते २०:३१

काठमाडाैं । प्रधानमन्त्री नियुक्त भएकाे एक सातापछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

यसअघि प्रधानमन्त्री हुने बित्तिकै एक/दुई दिनभित्रै राष्ट्रपति र प्रधानमन्त्रीकाे भेटवार्ता हुने चलन भएपनि देउवासँगकाे भेट भने एक साता पछाडि मात्र भएकाे छ । प्रधानमन्त्रीकाे नियुक्ति पत्रमा लेखिएकाे व्यहाेराका बारेमा देउवा र राष्ट्रपतिबीच असमझदारी बनेकाे थियाे ।

व्यहाेरामा विवाद हुँदा देउवाकाे शपथ कार्यक्रम झण्डै ३ घन्टा ढिला भएकाे थियाे । राष्ट्रपति कार्यालयले संविधानकाे धारा उल्लेख नगरी सर्वाेच्च अदालतकाे आदेशानुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएकाे भनेपछि देउवा असन्तुष्ट बनेका थिए ।

राष्ट्रपति भण्डारी देउवालाई शपथ गराएपछि बधाइ समेत नदिइ शपथ समाराेहस्थलबाट बाहिरिएकी थिइन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएकाे छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएकाे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । यसअघि आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

Advertisement

प्रतिक्रिया