बिहीबार, वैशाख ६, २०८१

कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

मेरोन्यूज २०७८ साउन ८ गते १९:३९

कालिकोट । जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान भएको छ । अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटअनुसार अस्पतालले उक्त प्लान्ट जडान गरेको जानकारी दिए । अक्सिजन प्लान्ट जडानपछि अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले अबदेखि अक्सिजनको अभाव नहुने बताए ।

उनले भने, ‘हिजो दिनसम्म यहाँ अक्सिजनको अभाव थियो । हामी ग्यास भर्न नेपालगन्ज जानुपर्दथ्यो । त्यहाँ जाँदापनि तुरुन्तै पाउँदैन थियो, धेरै समय कुर्नुपर्दथ्यो । अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं, यो हाम्रो लागि खुशीको कुरा हो । अब अक्सिजन अभावको कारण यहाँका जनताले कुनै हैरानी र सास्ती व्यहोर्नुपर्दैन् । हाम्रो अस्पताललाई त सजिलो भयो, यसले दैलेख, अछाम, मुगु, बाजुरा, कालिकोट, जुम्ला, हुम्लासम्मलाई अक्सिजन फिलिङ गर्न सहयोग पुग्छ ।’

अक्सिजन जडानले कालिकोटका नागरिकको जीवन रक्षाको सहयोग पुगेको भन्दै उनले यसका लागि विशेष पहल गरिदिने र बजेट छुट्टयाइदिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विशेष धन्यवादसमेत ज्ञापन गरेका छन् । उनले भने, ‘उहाँको विशेष सहयोगबाट हामी यो प्लान्ट जडान गर्न सफल भएका छौं । यसको लागि माननीय मुख्यमन्त्रीज्यूलाई कालिकोटका जनताको तर्फबाट पनि विशेष धन्यवाद भन्न चाहन्छु ।’

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा किरण शाही र लेखा अधिकृत मुनबहादुर रावलले पनि सबैको सकारात्मक सहयोग र योगदानका कारण अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सफल भएको बताएका छन् ।

आगामी दिनमा अस्पतालमा अब अक्सिजनको अभाव नहुने पनि उनीहरुको विश्वास छ । उनीहरुले यसको लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालय, निर्देशक, स्वास्थ्य सेवा निर्देशनालयलगायत सहयोग गर्ने सबै व्यक्ति तथा संघ÷संस्थाप्रति हार्दिक आभारसहित धन्यवाद दिएका छन् ।

जिल्ला अस्पताल कालिकोट चौरमा दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त विद्युत आपूर्तिको आवश्यक भएकाले सोको लागि नियमित विद्युत् आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा महतले आग्रह गरेका छन् ।

अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी मुनरक इन्टरनेश्नल प्रालिका प्रबन्ध निर्देशक प्रशान्त झाले सबैको साथ र सहयोगले अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै यसमा साथ र सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया