बिहीबार, वैशाख १३, २०८१

शिथिल अर्थतन्त्र गतिशिल बनाउनु छ : अर्थमन्त्री शर्मा

मेरोन्यूज २०७८ साउन ८ गते १७:५१

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरस (कोडिभ–१९)ले शिथिल पारेको अर्थतन्त्रमा पुँजीगत खर्च सन्तोषजनक नभएको बताएका छन् । उनले शिथिल अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्ने आफ्नो ध्यान हुनेमा जोड दिए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग अर्थमन्त्रालयमा आयेजित छलफलमा मन्त्री शर्माले आर्थिक वृद्धि, पुँजीगत खर्च सन्तोषजनक नभएको उल्लेख गरेका हुन् । सो क्रममा उनले भने, ‘कोभिडले अर्थतन्त्र थलिएको छ, गरिबी बढेको छ, बेरोजगारीको संख्या बढेको छ, चुनौतीपूर्ण समयमा अर्थ मन्त्रालयको जिम्मेवारी पाएको छु, अर्थतन्त्रलाई गतिशिल बढाउने दृढ इच्छाशक्ति लिएको छु ।’

अर्थमन्त्री शर्माले गत आर्थिक वर्षमा ६३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै यो सन्तोषजनक नभएको बताए । उनले पुँजीगत बजेट थोरै विनियोजन गरिने भए पनि त्यो खर्च गर्न नसकिएको उल्लेख गरे ।

‘पुँजीगत ६३ प्रतिशत छ, आर्थिक वृद्धि सन्तोषप्रद छैन, पुँजीगत खर्च थोरै विनियोजन गरिन्छ, त्यसमा पनि खर्च हुँदैन, बजेट पनि बढाउनु पर्ने र खर्चसमेत बढाउनु पर्ने छ,’ उनले भने ।

मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको भन्दै उनले ‘सहकार्य गर्न एउटा प्रोजेक्ट’ बनाउने बताए । कस्तो खालको प्रोजेक्ट हो भन्ने विषयमा भने उनले खुलाएनन् ।

मन्त्री शर्माले राज्य संरचना सहजीकरण गर्ने खालको हुनु पर्नेमा उल्टै संरचनाले नै जटिलता थपिदिएको भन्दै त्यसमा काम गर्ने बताए । उनले थपे, ‘कोभिडले पर्यटन, यातायात, क्याटरिङलगायत व्यापार व्यवसाय एक अर्कामा आश्रित छ, ती सबै क्षेत्र अहिले संकटमा छ, त्यसका लागि काम गर्नु पर्ने छ ।’

प्रतिक्रिया