शुक्रबार, वैशाख ७, २०८१

सेनाका हुद्दामाथि सिपाहीले गोली हानेको पुष्टि

मेरोन्यूज २०७८ साउन ८ गते १६:०१

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै मृत फेला परेका नेपाली सेनाका हुद्दाको हत्या गरेको अभियोगमा अर्का सिपाही पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

धादिङ जिल्ला निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङको हत्यामा उनकै गणमा कार्यरत सिपाही ढकाल संलग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले मेरोन्युजलाई जानकारी दिए । ढकालले मृतक गुरुङको बैंक खाता कीर्ते गरेर ९ लाख रुपैयाँ निकालेको र सोही विषय लुकाउन हत्या गरेको डिएसपी थापाले जानकारी दिए । प्रहरीले उनको साथबाट एकथान एसएमजीसमेत बरामद गरेको छ ।

गोली लागेर मृत अवस्थामा गुरुङको शव बिहीबार फेला परेको थियो । नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसँगे बिदामा गएका ढकालका विषयमा समेत जानकारी पाएपछि उनलाई प्रहरीले खोजी गरेको थियो ।

ढकालले शान्ति मिशनबाट भर्खरै फर्किएका गुरुङलाई जग्गा देखाउन भन्दै चितवन लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया