शुक्रबार, वैशाख ७, २०८१

नगर प्रमुख र उपप्रमुखको विवाद हुँदा अन्योलमा बजेट

मेरोन्यूज २०७८ साउन ८ गते ११:१२

काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिकाको बजेटसहित सेवा प्रवाहका कामसमेत प्रभावित भएका छन् ।

नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादले आर्थिक वर्ष २०७८–७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ ।

नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताइन् । नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिएकी छन् । वैधानिक रूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् ।

प्रमुख र उपप्रमुखको विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको बताइएको छ । नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन भएको बताउँछन् । राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउनसमेत कठिन भएको जनाइएको छ ।

आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा सार्वजनिक सुनुवाइसमेत गर्न सकेको छैन । नगरवासी नगरपालिकाले गरेका कामको जानकारी नभएको भन्दै आक्रोशित हुँदै आएका छन् ।

प्रतिक्रिया