बुधबार, वैशाख १२, २०८१

गण्डकीमा मिल्यो मन्त्रालय भागबन्डाको विवाद, भोलि मन्त्रिपरिषद् विस्तारको तयारी

माओवादीले टुंग्यायाे मन्त्रीको नाम, कांग्रेसले शुक्रबार बिहान टुंग्याउने

मेरोन्यूज २०७८ साउन ७ गते २१:०८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सरकारको नेतृत्व सम्हालेको महिना दिन पुगिसक्दा समेत सरकार विस्तार गर्न नसकिरहेका बेला भोलि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । गठबन्धन दलकै बीचमा मन्त्रालय भागबन्डा मिलाउन सकस परेपछि उनले केन्द्रबाटै यसको व्यवस्थापन गरिदिन मुख ताकेर बसेका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि पनि पटकपटक काठमाडौं आएर उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । अन्ततः भोलि दिउँसो मुख्यमन्त्री पाखेरेलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार भोलि दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएकाे छ ।

११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रले ४, जसपाले १ र स्वतन्त्र दिपक मनांगेले एउटा मन्त्रालय लिने गरी भागबन्डा मिलेको छ ।

जसपाले २ मन्त्रालय मागेपनि एउटा मात्रै सिटमा चित्त बुझाउनु पर्ने भएको छ ।

कांग्रेसले आफनो भागमा परेको वाकी ३ मन्त्रीको नाम टुंग्याएकाे छैन । कांग्रेसका तर्फबाट मुख्यमन्त्री पोखरेलका अतिरिक्त अहिले कुमार खड्का सामाजिक विकास मन्त्री छन् । कांग्रेसले अन्य मन्त्रीको नाम भोलि बिहान टुंगाे लगाउने भएकाे छ ।

माओवादी केन्द्रबाट यस अगाडि नै मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् । बाँकी ३ मन्त्रालयमा मन्त्रीको नाम उसले बिहीबार साँझ टुंगाे लगाएको छ ।

अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरलाई पठाउने गरी माओवादीले मन्त्रीको नाम टुग्याएकाे हाे । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय मात्रै राख्ने गरी तयारी भएको छ ।

कांग्रेस संसदीय दलका नेता पोखरेल नेपाली जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पोखरेललाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) र स्वत्रन्त्र सांसदको समर्थन रहेको छ। ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि पोखरेलले दाबी गरेका थिए । उनलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

त्यसपछि उनले कांग्रेस, माओवादी, जसपाका एक/एक जना र स्वतन्त्र मनाङेसहितलाई सरकारमा लगेर आफूले शपथ खाएकै दिन मन्त्री नियुक्त गरेका थिए । तर त्यसयता उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन् ।

प्रतिक्रिया