मंगलबार, चैत ६, २०८०

चर्चित हत्याकाण्ड : पत्ता लागेन अभियुक्त, न्यायको पर्खाईंमा परिवार

दया दुदराज २०७८ साउन ८ गते १७:३१

काठमाडौँ । गत २०७७ साल साउन २५ गते गोंगबुमा दाङका कृष्ण बहादुर बोहराको हत्या भयो । टाउको र खुट्टा एउटा ठाउँमा र शरीरको भाग अर्को ठाउँमा फ्याँकेको आवस्थामा प्रहरीले बोहोराको शव फेला पारेको थियो । प्रहरीले उक्त घटनामा संलग्न टोखा नगरपालिका-१० बस्ने कल्पना मुडभरी पौडेललाई घटना घटेको २ दिनमै साउन २७ गते चितवनबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकी मुडभरीलाई जिल्ला अदालत काठमाडौंले फागुन १३ गते अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको छ । साथै, मृतक बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ । अदालतको उक्त आदेशसँगै पीडित पक्षले केही न्यायको अनुभूति गर्न पाए । तर देशमा यस्ता धेरै हत्याका घटनाहरु छन् । जसमा वर्षौं दिनदेखि अभियुक्तले सजाय पाएका छैनन् । अनि पीडित पक्षले न्याय पाएका छैनन् ।

रहस्याको गर्भमा राजदरबार हत्याकाण्ड

नेपाली सेना, शसस्त्र र जनपद प्रहरीको बलियो सुरक्षा घेराभित्र बस्दासमेत तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको स-परिवारको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा वंश नाश हुने गरी हत्या भयो ।

अकल्पनीय रुपमा घटेको यो हत्याकाण्डको २० वर्ष समय बित्यो । तर पनि यो हत्याकाण्डको यथार्थ सार्वजनिक हुन सकेको छैन । अझै यो हत्याकाण्ड रहस्यमै छ । राजदरबार हत्याकाण्ड लगत्तै गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले राजदरबारको वंश नै नास हुने गरी हत्या गरेको भन्ने प्रतिवेदन दिएको छ । समितिले आफ्नो प्रतिवेदनमा ‘आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोकमा नसालु पदार्थ सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूमाथि गोली चलाई आफूले पनि आत्महत्या गरेको’उल्लेख छ ।

Advertisement

यद्यपि, त्यसलाई धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन् । राज परिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको एक अन्तर्वार्तामा बताएका थिए ।

विवाह गरेको २ दिनमै अर्थात असार २७ मा माइती पक्षले प्रहरीको सहयोगमा खोसेर लगेका थिए । उक्त दिनदेखि नै पटक–पटक धम्की आउने गरेको र मृतक मिजार असार २९ गतेदेखि नै बेपत्ता भएका थिए ।

राजदरबारको अकल्पनिय घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन् । उक्त पुस्तकहरुमा दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ । तर ती विवरणमा पनि विश्वसनीय आधार भेटिदैन । दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ‘मैले देखेको दरबार’मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ।

त्यस्तै भूतपूर्व प्रमुख शाही पार्श्ववर्ती सुन्दरप्रताप रानाको पुस्तक‘दरबारको दुःखान्त, राजपरिवार र संहारः मैले जसरी देखेँ’ मा पनि दीपेन्द्रले नै उक्त हत्यकाण्ड मच्चाएको ठम्याइएको छ । तर रानाले उक्त घटनापश्चात् घाइते राजा वीरेन्द्रको उद्धार गर्ने क्रममा कसले गोली चलाएको हो भन्ने नदेखेको लेखेका छन्।

विभिन्न इतिहासकार र राजनीतिशास्त्रीहरू दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बिउँ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गर्दै आएका छन् ।

अन्तर जातीय विवाहको उपहारमा हत्या

अन्तर जातीय प्रेमपछिको विवाहकै कारण विभत्स हत्याको सिकार बनेका एक हत्याकाण्ड हो, अजित मिजार । विसं २०७३ साल असार ३० गतेका दिन काभ्रे जिल्लाको पाँचखाल नगरपालिकास्थित घर भएका १८ वर्षीय मिजार धादिङ जिल्लाको गजुरी गाउँपालिकामा मृत अवस्थामा फेला परेका थिए । उनको हत्या भएको ५ वर्षभन्दा बढी भएको छ । तर घटनासँग सम्बन्धित कुनै व्यक्तिलाई अदालतले सजाय तोकेको छैन । उनको शव अझै पनि टिचिङ अस्पतालको शव गृहमा न्यायको बाटो कुरेर बसिरहेको छ ।

०७३ साल असार २५ गते स्थानीय सर्वमंगले उच्च माविमा अध्ययनरत कल्पना पराजुलीसँग मृतक मिजारले विवाह गरे । विवाह गरेको २ दिनमै अर्थात असार २७ मा माइती पक्षले प्रहरीको सहयोगमा खोसेर लगेका थिए । उक्त दिनदेखि नै पटक–पटक धम्की आउने गरेको र मृतक मिजार असार २९ गतेदेखि नै बेपत्ता भएका थिए । उक्त आधारमा छोराको हत्या भएको हुनसक्ने अजितका बाबु हरिभक्त मिजारले बताउँदै आएका छन् ।

सोहीअनुरुप विभिन्न निकायको हारगुहारसँगै अजित मिजारको विषयमा ०७७ साल भदौमा तत्कालीन संविधान सभा सदस्य कमल दोङको नेतृत्वमा छानविन उपसमित गठन गरेको थियो । उपसमितिले अजितको हत्यापछि प्रहरीले सबुत नष्ट पारेको प्रतिवेदन बुझाएको थियो । उक्त उप समितिले हत्यापछि प्रमाण नष्टको प्रतिवेदन बुझाएसँगै प्रहरीले घटनामा संलग्न भएको आरोपमा भोज बहादुर पराजुलीलाई पक्राउ गरेको थियो । पछि अदालतले उनलाई कारागार चलान गर्न आदेश दिएको थियो । तर पुस २८ गते उनलाई फेरि २५ हजार घरौटीमा रिहा गरिएको थियो ।

सोही वर्ष २०७३ साल माघ ५ गते तत्कालीन खेलकुद मन्त्री दलजित श्रीपालीको संयोजकत्वमा छानविन समिति गठन भयो । माघमा गठन गरिएको उक्त समितिले अजितको हत्या गरिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । यही अन्योल र किचलोकै बिच जिल्ला अदालत धादिङले २०७५ साल जेठ २० गते वस्तु निष्ट प्रमाण नपुगेको भन्दै तिनै जना आरोपीलाई सफाई दिएको थियो ।

हाल यो मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । पोष्टमार्टम रिपोर्ट नै विरोधाभाष भएका कारण उच्च अदालत पाटनले साढे चार वर्षपछि शव पुनः परीक्षण गर्न आदेश दिएको छ । पीडित परिवारले न्याय पाउने आशामा शवसमेत बुझेका छैनन् ।

बलात्कारपछि मारिएकी निर्मला

नेपालमा भएका विभिन्न आपराधिक घटनाहरूमध्ये बिर्सनै नसकिने एक घटना हो – निर्मला बलात्कारपछि हत्या । विसं २०७५ साल साउन ११ गतेका दिन कञ्चनपुरको भिमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त घटनाको ३ वर्ष पुगेको छ । यद्यपि, यस घटनामा संलग्न अभियुक्तबारे प्रहरी अझै अन्योलमै छ ।

उक्त बलात्कारपछि हत्या प्रकरणबारे अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको २३ दिनपछि भदौ २ गते दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

घटनापछि हालसम्म तीन गृहमन्त्री र तीन जना प्रहरी महानिरीक्षकहरु फेरबदल भए तर घटनाको विषयमा सबैको उत्तर अनुसन्धान मै रहेको भन्दा कुनै नौलो जवाफ पाइदैन ।

सिआइबीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जीसीसँगको बयानका क्रममा दिलिपले घटनाको दिन आफूले लगाएको सर्ट र आकाशे निलो रङको अन्डरवेयरबारे खुलाएका थिए । जिल्ला प्रहरी कार्यालयले मुख्य अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेकै दिन प्रहरीले उनको घरबाट गोजी च्यातिएको सर्टसमेत बरामद गरेको थियो । ०७५ भदौ ४ गते घटनास्थलमा हुबहु सोही रङकै च्यातिएको सर्टको गोजीको टुक्रा फेला पारेको थियो ।

दिलिपको घरमा प्रहरीले वडाध्यक्षसहितलाई राखेर बरामद सर्ट, कट्टुसहितका सामानको मुचुल्का गरेको थियो भने घटनास्थलमा प्रहरीले दिलिपका बाबुलाई समेत लगेको थियो । सर्टको टुक्रा घटनास्थलमा भेटिएको बेलाको फोटो हेर्दा त्यहाँ प्रहरीसहित अन्य केही मान्छेको पनि उपस्थिति देखिन्छ ।

दिलिपसिंह विष्टको आफ्नो बयानमा बलात्कार गरेको हत्यासमेत गरेको बताएका थिए । बयानसँगै प्रमाण जुटाउन दौढधुप गरेको प्रहरीले उनीविरुद्ध परिपक्व प्रमाण जुटाउन नसकेको कारण विष्ट उन्मुक्त भए । साथै पक्राउ परेका दिलिप मानसिक रुपमा असन्तुलन भएको प्रमाणीत भएपछि मानव अधिकारकर्मी र अभियान्ताहरुले उनलाई दबाबमा बयान दिन लगाईएको समेत बताएका थिए ।

घटनाको ३ वर्ष बित्दासमेत प्रहरी प्रशासनको उत्तर अनुसन्धानमै रहेको भन्दा कुनै नयाँ जवाफ पाइदैन । यस घटनापछि हालसम्म तीन गृहमन्त्री र तीन जना प्रहरी महानिरीक्षकहरु फेरबदल भए तर घटनाको विषयमा सबैको उत्तर अनुसन्धान मै रहेको भन्दा कुनै नौलो जवाफ पाइदैन ।

निर्मला हत्या प्रकरण आउदो साउन ११ गते ३ वर्ष पुग्दै छ, यसको अनुसन्धान कहाँ पुग्यो ? अभियुक्त पत्ता लाग्यो ? भन्ने मेरोन्युजको प्रश्नमा सुदुरपश्चिम प्रदेश प्रहरीका प्रवक्ताले भने, ‘हामी अनुसन्धानमै छौ ।’

जातसँग प्रेमको पराजय

रुकुम नरसंहार हत्या प्रकरणको अर्को नाम हो- नवराज बिक प्रकरण । वि.सं २०७७ साल जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ सोती गाउँमा भएको एक विभत्स सामुहिक हो, रुकुम हत्याकाण्ड । जाजरकोट जिल्लाका नवराज विश्वकर्मासहित ६ जना युवाको रुकुममा सामुहिक हत्या गरिएको एक वर्ष बढी भएको छ । यद्यपि, प्रहरी अझै अनुसन्धानमै छ ।

नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्जु विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढामगर र गोविन्द शाही गरी ६ जना युवाको विभत्स हत्या गरी भेरी नदीमा फ्याँकिएको थियो । अन्तर जातीय प्रेमका कारण मारिएका नवराज विश्वकर्मासहित ६ जनाका अविभावक अझै न्यायको बाटो चियाई रहेका छन् ।

प्रेमिकालाई भगाउन गएका नवराज र उनका साथीहरूलाई स्थानीयले हत्या गरेको आरोप छ । सोही आरोप अनुरुप हत्यामा सलंग्न चौरजहारी नगरपालिका ७ का वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवासहित २३ जना अहिले कारागारमा छन् । तर मुद्दाको अन्तिम फैसला हुन सकेको छैन ।

सर्वोच्च अदालतले नवराज हत्याकाण्डको मुद्दाको मिसिल जिल्ला अदालत रुकुमलाई पठाइसकेको छ । मिसिल जिल्ला अदालतमा पुगेपछि सुनुवाइको प्रक्रिया अघि बढ्नेछ । त्यसपछि जाहेरवाला, साक्षी, घाइते १२ जना र आवश्यकताअनुसार प्रहरी तथा विज्ञको वकपत्र पेश गरिनेछ । त्यसपछि अदालतले सुनुवाई तथा फैसला गर्नेछ । दोषी ठहर भएमा अभियुक्तहरुमाथि आजिवन कारावास हुन सक्छ ।

हत्या भएको केही दिनपछि नवराजका बुवासहित मृतक ६ जनाका परिवारले किटानी जाहेरी गरेपछि प्रहरीले सुरुमा २८ जना र त्यसलगत्तै ६ जना गरी २४ जनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतविरुद्धको ३ वटा मुद्दा दर्ता गरिएको थियो । पक्राउ परेका ४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले छोड्न आदेश दियो । एक जनालाई १ लाख धरौटीमा र बाँकी ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिइएको थियो ।

कोरोनाको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी धामी परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा असार ५ गते मृत फेला परेकी थिइन ।

सर्वाेच्चसम्म पुगेको उक्त घटनाको विषयमा प्रहरीले खासै चासो दिएको छैन । सर्वाेच्चले समेत कस्तो फैसला गर्छ ? प्रश्न बाँकी रहेको छ । जसकारण पीडित पक्षहरुले न्याय पाउने हो वा नपाउने हो भन्ने विषयमा अझै अन्योलमै छ ।

कोरोनाको खोप बोकेकी धामी मारिँदा

जनताको सेवाका लागि कोरोना भाइरसविरुद्धको खोप पुर्‍याउन जाँदै गरेकी एक स्वास्थ्यकर्मीको हत्या भयो । विसं २०७८ साल असार २ गते मारिएकी डडेलधुरा जिल्लाको परशुराम नगरपालिका ८ को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत २६ वर्षीय अस्मिता देवी धामीको हत्या भएको थियो । आज उनको हत्या भएको एक महिना बढी भएको छ । तर प्रहरीले उक्त घटनाको विषयमा कुनै अभियुक्तलाई पक्राउ गर्न सकेको छैन ।

गत २ असारमा कार्यालयबाट कोरोनाको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी धामी परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा असार ५ गते मृत फेला परेकी थिइन । उनको शव ५ गते फेला परेता पोस्टमार्टम रिपोर्टले उनको असार २ गते नै हत्या भएको पुष्टि गरेको थियो ।

उक्त हत्याकाण्डको विषयमा प्रहरीले अझै कुनै अभियुक्तलाई पक्राउ गरेको छैन । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको थियो । घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोली पनि खटाइएको थियो । घटनाका संलग्न भएको आशंकामा एक व्यक्तिलाई निगरानीमा राखे पनि पछि सोही व्यक्तिले आत्महत्या गरेपछि घटना झन जटिलतातर्फ मोडिएको प्रहरीको भनाई छ ।

घटना किन, कसले गर्यो ? भन्ने विषयमा प्रहरी अझै अन्योलमै छ । यद्यपि पीडित पक्षहरु भने न्यायकै बाटो कुरिरहेको छन् । मृतक अस्मिता धामीकी देवर दिनेश धामीले भने, ‘हामी न्यायको बाटो हेरेरै बसिरहेका छौँ, आशा छ प्रहरीले छिटै अभियुक्तलाई सार्वजनिक गर्छ ।’ उनले आफूहरु न्यायको हितमा रहेको र प्रहरी अनुसन्धानमा आफूले सकेको सहयोग पुर्‍याउने बताएका छन् ।

पछिल्लो ३ वर्षमा २६ हजारभन्दा बढीको हत्या

पछिल्लो तिन वर्षमा मात्रै २६ हजारभन्दा बढी व्यक्तिहरुको हत्या भएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार पछिल्लो ३ वर्षमा २६ हजार २ सय ४२ जनाको हत्या भएको हो ।

आर्थिक वर्ष ०७५/०७६ मा ७ हजार १ सय ७१, आ.व ०७६/०७७ मा ६ हजार ३ सय ९२ र आर्थिक वर्ष ०७७/०७८ को जेठ सम्म १२ हजार ६ सय ७९ गरी जम्मा २६ हजार २ सय ४२ जनाको हत्या भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक (एसएसपी) बसन्त कुँवरले जानकारी दिए । हत्याका घटनामा बढी पुरुषहरुको घटना नै बढी दर्ता हुने प्रवक्ता कुँवरले बताए ।

हत्याका घटनालाई कसरी नियन्त्रण गर्ने ?

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया