शुक्रबार, वैशाख ७, २०८१

कमरेड पुष्पलाल श्रेष्ठको मूल्यांकन गर्दा

नारायण शर्मा २०७८ साउन ७ गते १४:३७

आज ४३औं पुष्पलाल स्मृती दिवस ! नेपाली राजनैतिक इतिहासमै सबैभन्दा इमान्दार, सबैभन्दा क्रान्तिकारी र सबैभन्दा त्यागी, तपस्वी, तेजस्वी र यशस्वी राजनीतिक नेतृत्व, वैचारिक व्यक्तित्व, अविचलित योद्धा र अथक अध्येताको नाम हो – पुष्पलाल श्रेष्ठ । त्यसैले सबैभन्दा श्रद्धेय, सबैभन्दा अनुकरणीय र सबैभन्दा स्तुत्य एक अद्वितीय व्यक्तित्व पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिक इतिहासका सर्वश्रेष्ठ नेतृत्व नै हुनुहुन्छ ।

क्रान्तिकारी कम्युनिस्ट विचार, राजनीति, संगठन र संघर्षका क्षेत्रमा उहाँका योगदानहरुका साथै त्याग, तपस्या, बलिदान र सर्वहारावर्गीय भावना, मूल्यमान्यता, जीवनशैली, संस्कार र संस्कृतिको हार्दिक स्मरण गर्ने, तिनको अवलम्बनको लागि  दृढ प्रतिबद्धता गर्ने र कार्यान्वयनको निम्ति कसिलो प्रतिवद्दता व्यक्त गर्ने एक ऐतिहासिक अवसर हो आज साउन ७ गते ४३औं पुष्पलाल स्मृती दिवस । यससन्दर्भमा हार्दिक श्रद्धासुमन आदरणीय कमरेड पुष्पलाल श्रेष्ठप्रति !!

आज पुष्पलाल कामरेड र उहाँका योगदानको स्मरण , श्रद्धा र मूल्यांकन गर्दा यस्तो देख्न सकिन्छ ।

लाग्छ, नेपाली देशभक्त, जनवादी र क्रान्तिकारी जनता, कार्यकर्ता र नेताहरुले पुष्पलाललाई स्मरण र श्रद्धा गर्नाका केही विशिष्ट र विलक्षण कारण छन् । ती हुन् :-

नारायण शर्मा

१) सादा जीवन र उच्च विचार अर्थात् क्रान्तिकारी विचार-राजनीति र सर्वहारावादी जीवनशैली र संस्कृती ।

२) अकण्टक अध्ययन र अचूक संघर्ष ।

३) असीम त्याग र आजीवन तपस्या ।

४) उल्लेख्य बलिदान र अमूल्य योगदान आदि-इत्यादी !

यी सबैको व्याख्या-विश्लेषण अहिले यो छोंटो लेखमा आवश्यक र सम्भव  दुवै छैन । तथापि केही उल्लेख्य योगदान यस्ता छन् जस्ले गर्दा पुष्पलाल महान र सदासर्वदा मानसम्मान योग्य हुनुहुन्छ भन्ने उच्च मूल्यांकन गर्ने अवस्थामा पुग्न सकिन्छ । मूलतः ती हुन् :-

प्रथम : अन्याय र अपमानपूर्ण पजनी पनि पचाउनु र पदप्रतिको मोह नहुनु !

राणाशासनको दवदवाका बीच २००६ सालमा भूमिगतरुपले प्रवासनमा रहेर नेकपा स्थापना गर्न पहिलो र महत्वपूर्ण पहल पुष्पलालको नै थियो ।सबैभन्दा सक्षम, सक्रिय, इमान्दार, अध्ययनशील, अनुशासित अनि सही विचार र आचारका धनी भएर नै उहाँ संस्थापक महासचिव हुनु भएको हो । तर पनि  उहाँलाई प्रथम महाधिवेशन २००८ मै महासचिव पदबाट पजनी गर्दा समेत उहाँ चुपचाप पार्टी निर्णय र अनुशासन मान्दै समर्पित रुपमै क्रियाशिल हुनुभयो । स्मरणीय छ कि लेनिन दिवसको ऐतिहासिक अवसरका उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने उक्त महान् अवसरमा र पार्टीको पहिलो पर्चा मार्फत पार्टी स्थापना भएको घोषणा कार्यक्रम गर्नेजस्तो महत्वपूर्ण बेलामा समेत अनुपस्थित रहनुभएका मनमोहन अधिकारीलाई पो प्रथम महाधिवेशनबाट महासचिव बनाइयो ।

यसरी अन्याय र अपमानजनक तरिकाले पुष्पलाललाई पजनी गरियो र दिव्य दुई दसकसम्म पनि उहाँलाई ससम्मान पुनर्स्थापित गरिएन । अझ मनमोहनले राजाको वैधानिक नायकत्वमा शान्तिपूर्ण रुपले समाजवादको प्रचार गर्नेजस्ता गतिविधिहरु गर्ने सर्तमा एउटा भूमिगत र क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई खुला र शान्तिपूर्ण बाटोमा ल्याउनु भयो भने दोस्रो महाधिवेशन (२०१४)मा महासचिव चुनिएका भनिएका केशरजङ्ग रायमाझीले त झन् सिङ्गो पाटीलाई एककिसिमले दरवारमा बुझाए ।

तैपनि पुष्पलालको क्रान्तिकारी विचार र इमान्दारीको अझै उपेक्षा नै गरियो । तथापि, २०१९ मा बल्लतल्ल तेस्रो महाधिवेशन त भयो तर पनि पुष्पलालको विचार, क्षमता र योगदानको कुनै आवश्यकता र सम्झनासम्म गरिएन र तुल्सीलाल महासचिव बनाइनु भयो । यसरी पार्टी पूरै गतिहीन र मतिहीन हुँदै, आन्तरिक गुटबन्दी र वादविवादमा रुमल्लिरह्यो भने बाह्यरुपमा पार्टी शान्तिपूर्ण, खुला र वैधानिक तवरले नगन्य  गतिविधिमै सिमित भयो ।

यसबिचमा राजा महेन्द्रले २००७ सालको आन्दोलनद्वारा स्थापित नेपाली काङ्ग्रेसको जननिर्वाचित वीपी कोइराला नेतृत्वको सरकार, सदन र संसदीय बहुदलीय व्यवस्था सबैलाई सैन्य कू द्वारा विघटन गरेर निर्दलीय र निरंकुश पंचायती व्यवस्थाको स्थापना र संचालन गरे । देशमा यस्तो ठूलो प्रतिक्रान्ती हुँदा र पार्टीका नेताकार्यकर्ताहरु गिरफ्तार हुँदा त नेतृत्वले आत्मसमर्पण गर्ने अनि पार्टी र आन्दोलन पूरै बिसर्जन हुने  खतरा देखेपछी पार्टी र आन्दोलनलाई बचाउनको लागि बाध्यताबस २०२५ मा गोरखपुरमा राष्ट्रिय सम्मेलन गरी पुष्पलाल कमरेडले आफ्नो नेतृत्वमा पार्टी पुनर्गठन गर्नु भयो । यसरी पार्टी र यसको क्रान्तिकारी, स्वाभिमानी र समाजवादी चिन्तन, चरित्र र धारलाई पुष्पलालले बचाउन महत्वपूर्ण भूमिका निभाउन भयो ।

– दोस्रो : पार्टी र आन्दोलनलाई वैचारिक विचलन, विघटन र विसर्जन हुनबाट बचाउन मात्र होइन, यिनलाई गति समेत दिन र क्रान्ति सम्पन्न गर्नको लागि  नेपाली समाज, नेपाली मानसिकता, नेपाली राजनीतिक आन्दोलनको इतिहास, राजनीतिक शक्ति सन्तुलन र नेपालको विशिष्ट भूराजनीतिक अवस्था आदिलाई मध्यनजर गर्दै राजाको निरंकुश र निर्दलीय पंचायती व्यवस्थालाई ढाल्न र फाल्नको लागि नेपाली काङ्ग्रेससँग संयुक्त भएर आन्दोलनलाई सफलतामा पुराउनुपर्ने अत्यन्त, वस्तुवादी, बैज्ञानिक र क्रान्तिकारी कार्यनीती अघि सार्नु ।

तर विडम्बना यो कार्यनीतिलाई एकातिर वीपीले ‘काङ्ग्रेस गणतन्त्रवादी कम्युनिस्टसँग सहकार्य गर्ने शक्ती होइन र गर्नु हुँदैन किनकि नेपालमा संवैधानिक राजतन्त्र नै अपरिहार्य व्यवस्था हो’ भन्नेजस्ता संकीर्ण, अनुदारवादी, अदूरदर्शी र संवैधानिक राजतन्त्रवादी सोंच राखेर अस्वीकार गरे भने अर्कातिर उदीयमान चर्चित र तिलस्मी नेताका रुपमा स्थापित कम्युनिस्ट नेता मोहनबिक्रम सिंहबाट त पुष्पलालको यसै कार्यनीतिलाई लिएर उहाँको तेजोबध गर्ने निहुँ बनाउँदै ‘गद्दार पुष्पलाल’ नामक पुस्तक नै लेखेर हदैसम्मको आक्रमण भयो ।

जब कि पुष्पलालको यो विचार र राजनीति विशेषत: निरंकुश पंचायत व्यवस्थाका विरुद्धमा काङ्ग्रेस-कम्युनिस्ट शक्ति अर्थात् लोकतान्त्रिक र वामपन्थी शक्तिहरू बीच कार्यगत एकता र संयुक्त मोर्चा हुनुपर्छ भन्ने  नीति कति धेरै ठिक रहेछ भन्ने कुरा त २०४६ र २०६२/६३ को काङ्ग्रेस-कम्युनिस्टको संयुक्त जनआन्दोलनबाट क्रमशः पंचायत र राजतन्त्र नै फालेबाट पुष्टि भैसकेको छ । स्मरणीय छ कि २०४६ को जन-आन्दोलनको सफलताका पछाडि पुष्पलालको कार्यगत एकता र संयुक्त मोर्चासम्बन्धी नीतिको मात्र होइन, स्वयं पुष्पलालकी उत्तराधिकारी जीवनसँगिनी साहना प्रधानको प्रत्यक्ष नेतृत्वको ७ वामपार्टीहरुको मोर्चाको प्रमुख भूमिका रहेको थियो ।

पुष्पलालका विचार र राजनीति अनि संगठन र संघर्ष आदिमा भए-गरेका सही र सफल अनि क्रान्तिकारी र इमानदारीपूर्ण विचार, व्यवहार र नेतृत्वको विगतमा जोजसबाट, जेजती र जस्तो-जसरी अवमूल्यन, अपहेलना र अन्याय गरियो, त्यो साह्रै नै दुखद र अक्षम्य गल्ती थियो भन्ने कुरा आज इतिहासले पुष्टि गरिसकेको छ । यो कुरालाई महसुस गरेर नै हिजो पुष्पलालको संयुक्तमोर्चा नीतिप्रति असहमत, असहिष्णु र आक्रामक रहेको नेपाली काङ्ग्रेस र मोहनविक्रम सिंह (चौम/मसाल) यी दुवै संयुक्त आन्दोलन गर्नमा सहमत भएर नै संयुक्त जनआन्दोलन भएर त्यो सफल पनि भएको थियो भने मोहनविक्रमले त पुष्पलाललाई गद्दार भन्नू ठूलो गल्ती भएको भनी स्वीकार्दै उहाँ र उहाँको पार्टी नेकपा(मसाल) ले आज सच्चाइसकेको अवस्था छ ।

यसप्रकारका सही विचार र राजनीति अनि संगठन र संघर्षको यथोचित नेतृत्व गर्दागर्दै पनि पुष्पलाल यसरी उपेक्षित हुनुमा एकातिर पुष्पलालमा रहेको क्रान्तिकारी निष्ठा, नैतिकता, सोझोपना, इमानदारी र अनुशासनजस्ता कुराहरुप्रति आफ्नै पार्टी, आन्दोलन र नेतृत्वभित्रका गैरक्रान्तिकारी, गुटवादी, अवसरवादी, अनैतिक,  प्रतिशोधपूर्ण र व्यक्तिवादी महत्वाकांक्षी सोंच र सनकले युक्त भएका राजनीतिक धूर्तहरु र तिनले गरेका गम्भीर उपहास र आघातजन्य क्रियाकलापहरुले काम गरेका छन् भने अर्कातिर नेपाली काङ्ग्रेस र मुख्यतः वीपी कोइरालाभित्रकै कम्युनिस्टलाई हेर्ने र बुझ्ने सन्दर्भमा भए-गरेका संकीर्ण, अनुदारवादी, अदूरदर्शी, पूर्वाग्रही र प्रतिशोधी विचार, भावना र कार्यहरुले काम गरेका छन् ।

नेपालमा नयाँ जनवादी गणतन्त्र र समाजवाद-साम्यवादको विचार र संगठनलाई मात्र होइन आन्दोलन र गणतन्त्रलाई नै स्थापित र विकसित गर्नमा स्वच्छ, स्वविवेकयुक्त र स्वाभिमानी अनि निस्वार्थ, निर्भिक र निर्णायक भूमिका र योगदान यदी कसैको छ भने त्यो पुष्पलालको नै छ र त्यो अरु कसैको भन्दा बढी नै छ भन्ने कुरा छर्लङ्ग छ ।

त्यसैले पुष्पलाल हामी सच्चा र स्वच्छ, इमान्दार र नैतिकवान, स्वाभिमानी र न्यायप्रेमी, देसभक्त र जनवादी, वामपन्थी र प्रगतिशिल अनि समाजवादी र साम्यवादी नेपालीहरुका एक  सच्चा गुरु, आदर्श नेता, श्रद्धेय व्यक्तित्व र अविस्मरणीय नेतृत्व हुनुहुन्छ र चिरकालसम्म भैरहनुहुनेछ । अन्तमा फेरि पनि हार्दिक श्रद्धासुमन सच्चा र स्वच्छ एक अत्यन्तै इमान्दार र निष्ठावान क्रान्तिकारी नेता कमरेड पुष्पलाल श्रेष्ठप्रति !!

प्रतिक्रिया