बुधबार, वैशाख १२, २०८१

पुष्पलाल स्मृति दिवस

यसरी हुन्थ्यो दिल्लीमा बिपी-पुष्पलालको वार्ता

पुष्पलाल गणतन्त्र स्थापना गर्नु पर्ने पक्षमा थिए । तर, बिपी त्यो पक्षमा थिएनन् । उनी राजासहितको प्रजातन्त्र भन्थे ।

मेरोन्यूज २०७८ साउन ७ गते १३:२४

१०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको क्रान्ति २००७ सालको सम्झौतामा टुंगियो । प्रजतान्त्र पुनर्स्थापनापछि राजाले संविधानसभाको घोषणा गरे । तर, संविधानसभाको चुनाव गराउन लागेनन् । संविधानमा सम्पूर्ण अधिकार आफूमै राख्दै राजाले नेपाली कांग्रेस र कम्युनिष्टको दबाबमा संविधान जारी गरे ।

२०१५ सालमा चुनाव भयो । चुनावबाट कांग्रेसले दुई तिहाई बहुमत ल्यायो । राजालाई त्यो सह्य भएन । १८ महिनामै राजा महेन्द्रले राजनीतिक पार्टीहरुमाथि प्रतिबन्ध लगाउँदै पञ्चायती व्यवस्था लागु गरे । राजनीतिक दलका नेता-कार्यकर्तालाई जेल हाले । देशभित्र बढ्दो दमनले कांग्रेस–कम्युनिष्टका कतिपय नेता कार्यकर्ता भूमिगत भए । कतिपय भारत निर्वासनमा पुगे ।

पञ्चायतलाई ढलाउन त्यसपछि कांग्रेस कम्युनिष्टले मिलेरै संयुक्त जनआन्दोलनको ज्वाराभाट सिर्जना गर्नु पर्यो । त्यसका लागि निरन्तर ३० वर्ष आन्दोलन गरे । देशभित्र पञ्चायती शासकहरुको बढ्दो दमनपछि कांग्रेस कम्युनिष्टका नेताहरु भारत पुगे । त्यहीबाटै कांग्रेस कम्युनिष्टका नेताहरुले वार्ता गर्ने, संयुक्त आन्दोलनको रणनीति तयार पारे, र भारतबाट आन्दोलन अगाडि बढाएका थिए ।

त्यही क्रममा भारतमा तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस (नेपाली कांग्रेस) का संस्थापक सभापति बिपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबीचमा विभिन्न चरणमा वार्ता भएपछि संयुक्त आन्दोलनको वातावरण निर्माण भएको थियो ।

बिपी-पुष्पलाल वार्ता

भारतमा निर्वासनमा रहेका तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस (नेपाली कांग्रेस)का संस्थापक सभापति बिपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका बीचमा अनेक चरणमा वार्ता भए । त्यसबेला वार्तामा सहभागी भएका नेताहरूका विभिन्न सन्दर्भमा प्रकाशित लेख, स्मरण, अन्तर्वार्ता हेर्दा भारतमा कांग्रेस र कम्युनिष्टबीचमा भएका वार्तामा केही सीमित नेताहरु मात्र सहभागी हुने गरेका थिए ।

भारतमा भएका विभिन्न चरणका वार्ताका क्रममा कम्युनिष्टबाट पुष्पलालसहित हिक्मत सिंह र केशरमणि पोखरेल तथा कांग्रेसबाट बिपीसहित गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सहभागी हुने गरेका थिए । कतिपय सन्दर्भमा भने पुष्पलाप र बिपीका बीचमा एक्लाएक्लै वार्ता हुने गरेको थियो ।

पुष्पलाल त्यसबेला गणतन्त्रको पक्षपाती थिए । उनी मुलुकमा गणतन्त्र स्थापना गर्नु पर्ने पक्षमा उभिएका थिए । तर, बिपी त्यो पक्षमा थिएनन् । उनी राजासहितको प्रजातन्त्र भन्थे ।

संस्थागत रुपमै कांग्रेस र कम्युनिष्टबीचको वार्ताको पहलकदमी कम्युनिष्टले अगाडि बढाएको थियो । देशभित्र २०१७ सालमा राजाले पञ्चायत लागु गरेर दलमाथि प्रतिबन्ध लगाए पनि कांग्रेस कम्युनिष्टबीचमा संस्थागत वार्ताहरु हुनका लागि ७ वर्ष कुर्न पर्यो । अर्थात ०२५ सालमा मात्र कांग्रेस र कम्युनिष्टका बीचमा पार्टीगत तहमा भारतमा सम्वादहरु भएका थिए ।

भूमिगत भई भारतमा निर्वासनमा रहँदा २०२५ सालम कम्युनिष्टहरुले कांग्रेससँग पनि वार्ता गर्ने र संयुक्त आन्दोलनको वातावरण निर्माण गर्ने निष्कर्ष निकालेको थियो । त्यही आधारमा कांग्रेस र कम्युनिष्टबीचमा वार्ताको वातावरण बनेको हो । दुवै पार्टीका शीर्ष नेता भारतमा रहेकाले त्यही वार्ता गर्ने अवस्था त्यसबेला बनेको वार्तामा सहभागी तत्कालीन दुवै घटकका नेताहरुका विभिन्न सन्दर्भमा प्रकाशित अन्तर्वार्ता र लेखहरुलाई आधार लिएर भन्न सकिन्छ ।

पुष्पलाल त्यसबेला गणतन्त्रको पक्षपाती थिए । उनी मुलुकमा गणतन्त्र स्थापना गर्नु पर्ने पक्षमा उभिएका थिए । तर, बिपी त्यो पक्षमा थिएनन् । उनी राजासहितको प्रजातन्त्र भन्थे । राजाले कांग्रेस, कम्युनिष्टलगायतका दललाई प्रतिबन्ध लगाएर पञ्चायती शासन व्यवस्था लादे पनि जहिल्यै राजासहितको प्रजातन्त्रको कुरा उठाउँथे । भारतमा बिपी–पुष्पलालको पहिलो भेटमा बिपीसँग पुष्पलालले प्रश्न उठाएका पनि थिए ।

‘तपाईंको दर्शन त फ्रान्स र जर्मनको–सोसल डेमोक्रेसी हो । फ्रान्सेली क्रान्तिले पिक्चर दियो– राजतन्त्र ढल्दै गए । युरोपभरि त्यसको प्रभाव पर्‍यो । त्यसले दर्शन, विचार र व्यवहार दियो । राजाले त नेपालको प्रजातन्त्रलाई मास्ने काम गरे । तपाई (बिपी)लाई राजाले जहिल्यै धोका दिए । तपाईं डेमोक्रेसीको आइडल लिडर । देश चलाउने नै आइडोलोजिकल लिडरले हो । तर, तपाईं किन जहिल्यै राजासहितको प्रजातन्त्र भन्नुहुन्छ ?’

बिपी र पुष्पलालको पहिलो वार्ता नै गणतन्त्र कि राजासहितको प्रजातन्त्र भन्ने सवालमा सवालजवाफ सहित सैद्धान्तिक छलफल भएको थियो ।
जवाफमा बिपीले भनेका थिए ‘अहिले राजतन्त्र हटाउने बेला भएको छैन ।’

त्योपहिलो वार्ता भारतको कुशी नगरमा भएको थियो । पुष्पलालले वार्तामा त्यसबेलाका पार्टी पोलिटब्यूरो सदस्य केशरमणि पोखरेललाई साथ लिएर गएका थिए । बिपीका तर्फबाट भने पहिलो वार्तामा शुशिल कोइराला थिए ।

केही सैद्धान्तिक छलफलपछि त्यसदिनको वार्तामा बिपीले पुष्पलालसँग भनेका थिए, ‘कांग्रेसले अगाडि सारको राजनीतिक कार्यक्रममा कम्युनिष्ट पार्टी (त्यसमा पनि पुष्पलाल)ले हस्ताक्षर गर्नुस्, तपाईंको आर्थिक कार्यक्रममा मैले हस्ताक्षर गर्छु ।’

बिपीको प्रस्तावमाथि पुष्पलालले राजनीतिक कार्यक्रमप्रति चासो राखेका थिए । ‘म पार्टीको सम्मेलनबाट म्यान्डेट लिएर तपाईंसँग कुरा गर्न आएको छु । म चाहन्छु तपाईं हामी एक भएर जानुपर्छ । जनआन्दोलनमा लाग्नुपर्छ । त्यो म्यान्डेट बोकेर म आएको छु । तपाईंको राजनीतिक कार्यक्रम के हो ?’ बिपीसँग पुष्पलालले सोधेको त्यसबेला वार्तामा सहभागीमध्येकै केशरमणि पोखरेलले एक अन्तर्वार्ताका क्रममा बताएका थिए ।

बिपीको जवाफ थियो– प्रजातन्त्रको पुनर्स्थापना ।

बिपीको त्यस्तो जवाफपछि पुष्पलालले त्यसमा सहमति जनाए । ‘म पनि त्यही एजेन्डा बोकेर आएको छु । एउटै एजेन्डा भएपछि तपाईं र हामी मिलेर आन्दोलनमा लाग्ने कि नलाग्ने ? म चाहन्छु तपाईं हामी एक भएर हिँड्नुपर्छ ।’ पुष्पलालले बिपीसँग भने।

तर, बिपी कम्युनिष्टसँग कांग्रेस मिलेर अगाडि जान आँटेको विषय भित्री सहमति गरे पनि बाहिर सार्वजनिक गरेर जान अरुची राख्ने गर्थे । उनले त्यसदिनको बैठकमा पनि त्यही कुरा दोहोराएको सहभागीहरुका विभिन्न बेलाका अन्तर्वार्ताहरू अध्ययन गर्दा खुल्छ ।

‘घोषणा गरेरै जानलाई अहिले मलाई अलि कठिनाई छ । अन्तर्राष्ट्रिय परिस्थितिले मलाई दिन्न । कम्युनिष्ट जगतलाई हाम्रो आन्दोलनप्रति पोजेटिभ हुने वातावरण तपाईहरुले बनाउनुस् । हाम्रो खुला सपोर्टमा त कुनै पनि देश अहिले बोल्दैनन् । तर, नैतिक बल दिन्छन् । विशेषगरी चीनको नैतिक समर्थन पाउने वातावरणका लागि तपाईंले भूमिका खेल्नुस’ पुष्पलालसँग बिपीको प्रस्ताव थियो ।

त्यसपछि पुष्पलालले त्यसको लागि गम्भिर प्रयासमा लाग्ने बताएपछि पहिलो दिनको वार्तामा अन्य नेताहरुलाई पनि सहभागी गराएर पुनः छलफलमा बस्ने गरी टुंग्गिएको थियो ।

मेर्चा बनाएरै जाने पुष्पलालको प्रस्तावमा कांग्रेसका गणेशमान सिंह तयार भए पनि बिपी भने पहिलो वातावरण विश्वासको बनाउँदै क्रमशः जानुपर्ने पक्षमा थिए । बिपी खुला रूपमा मोर्चा नै बनाएर जाँदा अन्तर्राष्ट्रिय रूपमा समस्या पर्छ भन्ने अडानमा थिए ।

त्यो वार्तापछि संयुक्त संर्घषका कार्यक्रम घोषणा गर्ने कुरा दुवैले गरेनन् । तर दुवै पार्टीका कार्यकर्ताका बीचमा जिल्ला जिल्लामा मेलमिलाप गराउने, एकले अर्काको खेदो खन्ने काम बन्द गर्ने, बिपीलाई दिल्लीमा भेट्न पुगेका नेता-कार्यकर्ताले पुष्पलालसँग पनि भेट्ने, र पुष्पलाललाई भेट्न पुगेकाले बिपीलाई पनि भेट्ने क्रम पनि क्रमश: शुरु हुन थालेको थियो ।

दुई नेताबीचमा एक अर्कालाई धोका दिने, अविश्वास सिर्जना गर्ने काम बन्द गर्ने समझदारी पनि पहिलो बैठकमै भएको थियो ।

पहिलो वार्ता भएको १५ दिनपछि फेरि दोस्रो चरणको वार्ता भयो । दोस्रो चरणको वार्तामा भने सहभागीहरुको संख्या बढेको थियो । कांग्रेसका तर्फबाट बिपीसहित गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सहभागी थिए । अघिल्लो वार्तामा सहभागी शुशिल कोइराला त्यो बैठकमा सहभागी भएनन् । कम्युनिष्टबाट पुष्पलाल र केशरमणि पोखरेलका साथमा हिक्मत सिंह थपिएका थिए ।

त्यो वार्ताले एकअर्काप्रति नरम भएर जानुपर्छ भन्ने खाका नै कोर्ने काम गरेको केशरमणि पोखरेलले एक अन्तर्वार्ताका क्रममा व्यक्त गरेका थिए । मेर्चा बनाएरै जाने पुष्पलालको प्रस्तावमा कांग्रेसका गणेशमान सिंह तयार भए पनि बिपी भने पहिलो वातावरण विश्वासको बनाउँदै क्रमशः जानुपर्ने पक्षमा थिए । बिपी खुला रूपमा मोर्चा नै बनाएर जाँदा अन्तर्राष्ट्रिय रूपमा समस्या पर्छ भन्ने अडानमा थिए । त्यो वार्ता त्यक्तिकैमा सीमित भयो ।

त्यसपछिको तेस्रो वार्ता भने पुष्पलालको कम्युनिष्ट पार्टीले सम्पर्क कार्यालयको रुपमा खोलेको बनारसमा भयो । त्यस वार्तामा बिपी, गणेशमानसहितका कांग्रेस नेताहरू र कम्युनिष्टका पुरानै वार्तामा सहभागी नेताहरु सहभागी थिए । मोर्चा बनाएर संर्घष खुल्ला रुपमा गर्नेमै कुरा मिलेन ।

त्यसबेला गणेशमानले भने पुष्पलाललाई बिपीलाई आफूले मनाउने बताएर उठेको स्मरण नेताहरुको अन्तर्वार्ताहरूमा देख्न सकिन्छ ।

त्यसपछि पनि अर्काे एक चरणमा वार्ता भयो । त्यसले संयुक्त आन्दोलनमा जानुपर्ने कुरामा निष्कर्ष निकालेको थियो । तर, पनि खुला रूपमा मोर्चाबन्दी गरेर जानु हुँदैन भन्ने बिपीको धारणा कायमै रह्यो । त्यही कारण तत्काल कार्यान्वयनमा आएन । बिपीको जोड जहिल्यै राजासहितको प्रजातन्त्रकै विषयमा अडान हुन्थ्यो । तर पुष्पलाल गणतन्त्रको चर्काे पक्षपाती भइसकेका थिए ।

लेखमा पुष्पलालले ‘यस निरंकुश राजतन्त्रलाई निरपेक्ष रूपले नहेरी सापेक्ष रूपले हेर्दा यसको अन्त्य अनिवार्य छ । नेपालमा निरंकुश राजतन्त्रको गठन भएको यो पहिलो पटक होइन ।

कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पुष्पलालले गणतन्त्रात्मक शासन प्रणालीप्रति पार्टीको प्रतिबद्धतालाई स्पष्ट रूपमा राख्दै आएका थिए ।
सैद्धान्तिक र राजनीतिक रूपमा गणतन्त्र किन आवश्यक छ, भन्ने कुरो पुष्पलालले जति प्रष्ट रूपमा कसैले राखेका थिएनन् । पुष्पलालले ‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त)’ शीर्षकमा विचारोत्तेजक लेखसमेत पनि लेखे । ‘मुक्तिमोर्चा’ नामक भूमिगत पत्रिकाको २०३३ वैशाख–जेठमा प्रकाशित तेस्रो अंकमा पुष्पलालको उक्त लेख छापिएको थियो ।

लेखमा पुष्पलालले ‘यस निरंकुश राजतन्त्रलाई निरपेक्ष रूपले नहेरी सापेक्ष रूपले हेर्दा यसको अन्त्य अनिवार्य छ । नेपालमा निरंकुश राजतन्त्रको गठन भएको यो पहिलो पटक होइन । ……… जति पटक नेपालमा राजा निरकुंश राजतन्त्र गठन गर्न सफल भए उति नै पटक त्यसको पतन पनि भएको छ’ भन्दै त्यसका कारणको समेत विश्लेषण गर्दै अन्ततः राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुने ठोकुवा गरेका थिए । तर, बिपी पुष्पलालको गणतन्त्रको लाइनमा सहमत हुन सकेनन् ।

पछि भारतमा निर्वासनमै रहेका बेला २०३५ सालमा भारतमै पुष्पलालको हृदयघातबाट निधन भयो । बिपी भने २०३६ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया