बिहीबार, वैशाख १३, २०८१

देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस, आकांक्षी धेरै, मन्त्रालय थोरै

सञ्जिता खनाल २०७८ साउन ६ गते १९:२८

काठमाडौं । पाँच वर्ष प्रतिपक्षको भूमिकामा बस्ने म्यान्डेड पाएको नेपाली कांग्रेस साढे तीन वर्षमा नै सरकारको नेतृत्वमा पुगेको छ । नेकपा (एमाले)को माधव नेपाल पक्षसहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पाटी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चासहितको गठनबन्धनबाट कांग्रेस सरकारमा पुगेको हाे ।

नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रधानमन्त्रीको सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसका विरुद्धमा १४६ सासंदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग राखेर सर्वोच्च अदालमा रिट हालेका थिए ।

सर्वाेच्चले गत असार २८ गते फैसला गर्दै २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । सोही आदेश अनुसार असार २९ गते बेलुका राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीको सपथ गराएकी थिइन् । सोही दिन देउवाले ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसमा कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । माओवादीबाट पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनादर्न शर्मा अर्थमन्त्री नियुक्त भइसकेका छन् ।

यही साउन ३ गते देउवाले संसद्बाट विश्वासको मत लिएका थिए । उनलाई एमालेका २२ सासंदसहित १६५ सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मत पाएर अगाडि बढेका देउवा मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनमा आबद्ध नेताहरुसँगको छलफलमा जुटेका छन् ।

एमाले नेता माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवसँग देउवाले छलफल तीव्र बनाएका छन् ।

संविधानअनुसार मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन पाइन्छ । अब ३ राज्यमन्त्रीसहित २० मन्त्रालय बाँकी छन् । मन्त्रालय भागबण्डामा प्रधानमन्त्री देउवाले माओवादी, जसपाका साथै आफ्नै पार्टीका तीन वटा समूहलाई चित्त बुझाउनुपर्ने हुन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले माओवादीलाई ८ मन्त्रालय दिने भने पनि उसले ९ मन्त्रालय माग गरेको छ । भने जसपालाई ४ मन्त्रालयले दिने भनेकामा उसले ६ मन्त्रालयको माग गरेको छ । जसले गर्दा मन्त्रालय भागबण्डा टुङ्ग्याउन देउवालाई हम्मेहम्मे परेको छ । आफ्नै पार्टीभित्र नै मन्त्रीको आकांक्षी बढी हुँदा प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तारमा ठूलै सकस देखिन्छ ।

कांग्रेसभित्रै धेरै मन्त्रीका आकांक्षी
कांग्रेसमा तीन समूह रहेका छन् । जसमा देउवा आफैंले नेतृत्व गरेको संस्थापन समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको छुट्टाछुट्टै समूह छ । मुख्यतः माओवादी र जसपाले माग गरेअनुसार मन्त्रालय दिँदा कांग्रेसको भागमा बढीमा ८ मन्त्रालय मात्र पर्ने सम्भावना देखिन्छ । तर कांग्रेसभित्र मन्त्रीको आंकाक्षी भने धेरै रहेका छन् । संस्थापन समूहबाट डा डिला संग्रौला, भरतकुमार शाह, पुष्पा भुसाल, विनोद चौधरी, मानबहादुर विश्वकर्मा, नारायण खड्काको नाम चर्चामा छ ।

देउवा निकट एक नेता भन्छन्, “रामचन्द्र पौडेल समूहले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय मागेको छ । तर देउवा २ मन्त्रालय मात्र पौडेल पक्षलाई दिने अडानमा छन् ।”

सभापति एवम् प्रधानमन्त्री देउवाले पौडेल पक्षबाट २ जना मात्र मन्त्री बनाउने अडान लिएको स्रोतको भनाइ छ । पौडेल समूहका प्रकाशमान सिंह उपप्रधानमन्त्री पाएमा मन्त्री बन्ने सम्भावना देखिन्छ । पूर्वमहामन्त्री सिंह १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षीसमेत हुन् ।

पौडेल समूहकी सुजाता कोइराला, शशांक कोइराला, दिलेन्द्रप्रसाद बडू, डा मिनेन्द्र रिजाल, सञ्जय गौतम, तेजुलाल चौधरी, प्रमोदकुमार यादव, राजेन्द्र केसी, प्रमिला राईको नाम मन्त्री हुनेको चर्चामा छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट एक जनाले मात्र मन्त्री पाउने सम्भावना देखिन्छ । जसमा यसअघि छोटो समयमा राम्रो काम गरेका गगनकुमार थापाको नाम पनि चर्चा छ । उनी प्रचण्डको प्रधानमन्त्रीत्वकालमा ९ महिना स्वास्थ्य मन्त्री बनेका थिए । तर उक्त समयमा उनले निकै अब्बल काम गरेका थिए ।

सोही समूहका अर्का स्वास्थ्यमन्त्रीसमेत बनेका उमाकान्त चौधरीको नाम पनि चर्चामा छ । प्रधानमन्त्री देउवालाई आफ्नै समूहका नेताले गगनलाई स्वास्थ्यमन्त्री बनाउन सुझाएका थिए ।

कांग्रेसभित्र मन्त्रीका लागि छलफल भने शुरु भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले औपचारिक रुपमा मन्त्रीका लागि नाम नमागेकाले कसलाई सिफारिस गर्ने भन्ने टुंगो नलागेको पौडेल समूहका नेता अर्जुनसिंह केसी बताउँछन् । उनले भने, “मन्त्रीको को को बन्ने विषयमा अहिलेसम्म पार्टीमा आधारिक छलफल भएको छैन् ।”

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया