मंगलबार, चैत ६, २०८०

ओलीलाई किन चाहियो यस्ता फोर्स ?

मेरोन्यूज २०७८ साउन ६ गते १८:०५

नेकपा (माओवादी) छाडेर नेकपा (एमाले) प्रवेश गरेका टोपबहादुर रायमाझीलगायत नेता मंगलबार भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा ‘आइटी आर्मी घोषणा’ गरिरहेका थिए । उता, ललितपुरको च्यासलको एमाले बैठकमा ‘आइटी आर्मी’ले गर्ने के हो ? यसको संगठन कस्तो हुने हो ? भन्दै प्रश्न उठिरहेको थियो ।

नेताहरुले प्रश्न उठाए पनि त्यसको जवाफ न अध्यक्ष केपी ओलीले दिन चाहे, न महासचिव इश्वर पोखरेलले नै । त्यसपछि प्रश्न उठाउने नेताहरु नै एक–अर्कामा ‘मुखामुख’ गर्दै चुप बसे । ‘प्रश्न उठेपछि अध्यक्ष-महासचिवले नै सुने/नसुने झै बसेपछि अध्यक्ष ओलीकै सहमतिमा बन्दै रहेछ भन्ने बुझयौँ, अनि चुप लाग्यौँ,’ एमालेकै एक नेताले भने ।

अध्यक्ष केपी ओलीलाई झण्डै दुईतिहाई बहुमतसहित सरकारमा सहज रुपमा रहँदासम्म केही आवश्यकता परेको थिएन । पार्टी उनकै थियो, सरकार उनकै । उनलाई सितिमिति सरकारबाट झर्नुपर्ला भन्ने सोच थिएनन् ।

एउटा सार्वजनिक कार्यक्रममै ओलीले सरकारको बागडोर सम्हालेलगत्तै बोलेका थिए, ‘अब कांग्रेसले १५/२० वर्ष सरकारमा जाने आँटैसम्म पनि नगरे हुन्छ ।’

तर, परिस्थिति ओलीले भनेजस्तो बनेन । उनको काम गर्ने शैलीको चर्काे आलोचना हुन थाल्यो । पार्टीभित्रै उनी अप्ठ्यारोमा पर्दै जान थाले । त्यसपछि उनले बालुवाटारमै सञ्चार माध्यमका सम्पादकहरुलाई बोलाए र ‘मुटु नभएका सम्पादक’सम्म भन्न भ्याए ।

Advertisement

पार्टीको आन्तरिक विवाद थेग्न नसकेपछि पहिलोपटक गत पुस ५ मा ओलीले संसद् विघटन गरे । ओलीको त्यसपछि चर्काे आलोचना शुरु भयो । त्यसपछि नै हो–ओली समूहका नेता महेश बस्नेतले ‘ओलीको बचाउमा ‘साइबर सेना’ बन्ने/बनाउने घोषणा गरेको ।

सञ्चार माध्यममा ओलीको प्रतिकूल हुने कुनै समाचार आएमा त्यसविरुद्धमा ‘गाेयवल्स’ प्रचार शैली अपनाइन थालिए । अन्ततः नेकपा एकता टिकेन । एमाले एमालेतिर र माओवादी केन्द्र माओवादीतिर केन्द्रित भए ।

म्याग्दी पुगेर बस्नेतले अब ‘मसल’को लडाईं होइन, सूचना–प्रविधिको लडाईं लड्नु पर्ने भन्दै साइबर सेना बनाउने घोषणा गरे । त्यसपछि महेश बस्नेत जता–जता गए, उतै साइबर सेना बनाउन निर्देशन दिँदै हिँडे । युवा संघको विभागीय संरचनाका रुपमा रहने गरी ‘साइबर सेना’ बनाउने उनले बताए ।

‘प्रधानमन्त्रीमा रहँदा ओलीले प्रभावकारी काम गर्दा पनि प्रचार भएन, न मूलधारको सञ्चार माध्यमले स्थान दिए, न पार्टीकै नेता–कार्यकर्ताले सरकारको राम्रो कामको प्रचार गरे । ‘त्यसैले, जनतामा सही सूचना पुर्‍याउन साइबर सेनाको परिकल्पना गरियो,’ बस्नेतको त्यसबेलाको प्रतिक्रिया यस्तै हुन्थ्यो ।

आन्तरिक रुपमा ‘साइबर सेना’ बनाएपछि पार्टीभित्रकै ओलीको विरोधी खेमाका नेता–कार्यकर्ताको ओलीका कार्यकर्ताले संगठित रुपमै प्रतिरोध गर्न थाले । सञ्चार माध्यममा ओलीको प्रतिकूल हुने कुनै समाचार आएमा त्यसविरुद्धमा ‘योयवल्स’ प्रचार शैली अपनाइन थालिए । अन्ततः नेकपा एकता टिकेन । एमाले एमालेतिर र माओवादी केन्द्र माओवादीतिर केन्द्रीत भए ।

त्यसपछि एमालेभित्र ओली र माधव नेपाल पक्षको अन्तर संर्घष सेलाएन । झन बाँक्लिदो रुपमा ‘वारपार’ लडाई शुरु भयो । त्यो अहिले पनि जारी छ ।

ओली र नेपालका आ–आफ्ना गतिविधि कायमै छन् । पार्टीभित्रै थप अप्ठायारो आएपछि ओलीले दोस्रोपटक जेठ ८ मा फेरि संसद् विघटन गरे । त्यसविरुद्ध फेरि अदालतले विघटित संसद् पुनः स्थापना मात्रै गरिदिएन । पार्टीकै माधव नेपाल पक्षको समेत साथमा अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो ।

सत्ताबाट ५ वर्ष नै नझर्ने र आफ्नै नेतृत्वमा नयाँ चुनावमा मुलुकलाई लैजाने ओलीको सपना चकनाचुर भयो । ओली सत्ताबाट बाहिरिन पुगे । त्यसपछि भने माओवादीको जगजगी भएका बेला वाइसिएलसँग भिड्न एमालेको युवा संगठन राष्ट्रिय युवासंघले बनाएको ‘युथ फोर्स’ एकाएक फेरि बस्नेतको टोलीले ब्यूँताउने निर्णय गरे । ‘मसालभन्दा सूचना प्रविधि’बाट आक्रामक बन्नुपर्ने बताएका महेशहरुले युथफोर्स ब्यूँताउने काम गरे ।

युथ फोर्स ब्यूँतिएन मात्र, भक्तपुरको जंगलमा तालिमसम्म पनि दिने काम गरियो । त्यसका फोटो खिचेर छ्याप्छ्याप्ती सञ्चारमाध्यममा प्रचारप्रसार गर्ने काम पनि गरियो ।

ओलीलाई बालुवाटारबाट बालकोटसम्म पनि युथफोर्सले नै स्कटिङ गर्ने काम भयो । यसैमा ओली अहिले रमाउन थालेका छन् । पार्टीभित्रकै माधव नेपाल समूहको पुत्ला जलाउने, नेपालविरुद्ध नारावाजी लगाउनेदेखि बाँदर भेषको प्रदर्शनसम्मका काम अहिले युवा संघको नाममा भइरहेको छ ।

यसले मुलुकलाई फेरि एकपटक अराजकतामा लैजान सक्ने, समूह–समहूका बीचमा भिडन्तमा लैजान सक्ने अवस्था सिर्जना भएको छ । त्यहीबेला ओली पक्षमै लागेका पूर्वमाओवादी नेता प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’को घोषणा भएको हो । यो गठनमा पनि साहले अध्यक्ष ओलीसँग सहमति लिएरै घोषणा गरेको घोषणा सभामा जानकारी दिइएको छ ।

सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आइटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

‘आइटीको सहायताले मुलुकमा ब्याप्त दुराचार, बेतिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौँ,’ आइटी आर्मीको अन्तरिम घोषणापत्रमा भनिएको छ, ‘देशमा समाजवादी व्यवस्था निर्माणसहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि एवम् विकासको लक्ष्य पूरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामूहिक स्वरुपमा क्रियाशील रहने गरी आइटी आर्मीको स्थापना गरिएको छ।’

सारमा महेश बस्नेतहरुले निर्माण गरेको ‘साइबर सेना’ र ‘आइटी आर्मी’को उद्देश्य एकै देखिन्छ । तर यसमा ओलीलाई रिझायाउन कसले सक्ने भन्ने प्रतिस्पर्धा शुरु भएको जस्तो देखिएको एक एमाले नेताले बताए ।

आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्यीय हुने, प्रदेश कमिटीहरू १०१ सदस्यीय, जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय हुने यसको प्रस्तावित अन्तरिम घोषणा पत्रमा प्रस्ताव छ ।

खासगरी आफ्नो पार्टी र नेताविरुद्ध हुन सक्ने प्रचारलाई रोक्ने र नयाँ शैलीमा आफ्ना प्रचार सन्यत्रलाई व्यवस्थित गर्ने उद्देश्य यसभित्र अन्तरनिहित जस्तो देखाइएको छ ।

गाउँ तहसम्मै विस्तार गर्ने रणनीतिका साथ यसरी बनाइएको संरचना ओलीलाई अहिले सत्ताबाट बाहिरिनेबित्तिकै किन आवश्यक पर्यो ? प्रश्न उठेको छ । राजा महेन्द्रले पञ्चायतकालमा व्यवस्थाको विरोध गर्नेहरुमाथि जाइलाग्न राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल (मण्डले नामले परिचित) बनाएर बहुदलका पक्षपातीसँग भिडाएजस्तै त्यस्तै झल्को दिने गरी सत्ताबाट बाहिरिएपछि अहिले केपी ओलीलाई किन आवश्यक परिरहेको छ, युथ फोर्स, साइबर सेना र आइटी आर्मीहरु….?

ओली–नेपाल काउन्टर आक्रमणमा !

ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा साइबर सेना गत पुसमै गठन भएको थियो । अहिले ओली समूहकै नेता प्रभु साहले ‘आइटी आर्मी गठनको घोषणा गरेका छन्, एउटै उद्देश्य यी दुवैको देखिन्छ ।

खासगरी आफ्नो पार्टी र नेताविरुद्ध हुन सक्ने प्रचारलाई रोक्ने र नयाँ शैलीमा आफ्ना प्रचार सन्यत्रलाई व्यवस्थित गर्ने उद्देश्य यसभित्र अन्तरनिहित जस्तो देखाइएको छ ।

तर, यसरी बनाइने संरचना र यसले गर्ने कार्यले विद्युतीय कारोबार कसूरदेखि अभद्र व्यवहारसम्मका कानून आकर्षित गर्न सक्ने सम्भावना अधिक छ । घोषित वा अघोषित रुपमा अभियानका रुपमा कानूनले निषेध गरेका काम गर्नु हुँदैन । तर त्यसको समेत वास्ता नगरी विद्युतीय कारोबार आकर्षित हुने गरी ओलीले किन यस्ता काम गर्न नेता कार्यकर्तालाई उत्साहित बनाइरहेका छन् ? प्रश्न धेरै छ ।

अझ युवाहरुलाई तालिम दिने, संगठित रुपमा कुनै नेता, समूहलक्षित गरेर भिडन्तमै उतार्ने गरी प्रतिकारमा लगाउन खोज्ने कार्यले मुलुकलाई अराजकता र भीडतन्त्रतिर लैजान सक्ने भय देखिन्छ ।

ओली समूहका नेता बस्नेतहरुले ब्यूँझाएको युथफोर्स र उसका केही दिनयताका गतिविधिले त्यस्तै संकेत दिएको छ । ओली समूहले युथफोर्स गठन गरेलगत्तै माधव नेपाल समूहको विद्यार्थी संगठनले अखिल फोर्स गठन गरेको छ । अखिल फोर्स गठन गरेको नेपाल समहूका विद्यार्थीहरुले पत्रकार सम्मेलन गरेरै जानकारी दिएका छन् ।

त्यसमाथि नेपाल समूहका युवा संगठनले पनि माधव नेपालकै उपस्थितमा भोलि मात्रै ‘पिपुल्स भोलिन्टियर्स’ गठन गर्न खोजेका छन् । यसअघि एमाले ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको ‘पिपुल्स भोलिन्टियर्स’ पिभी ब्यूँताउन लागेको हो । त्यसका लागि नेपाल समूहका युवाहरुले ‘थापा पार्टी प्यालेस’ सूर्यविनायक भक्तपुरमा बिहीबार मध्यान्ह कार्यक्रम नै राखिसकेका छन् ।

युवाहरूको फोर्स जन्माउने र एक अर्काविरुद्ध सडकमा प्रतिरोध र भण्डाफोरमा उतार्ने प्रतिस्पर्धाले एमालेभित्रको एकता त झन कठिन बनाइदिएको छ । यसले मुलुकलाई फेरि अराजकतातिर धकेल्ने पनि देखाएको छ ।

प्रतिक्रिया