बिहीबार, वैशाख १३, २०८१

सत्ता र शक्तिको उपज

किन छाडे श्रेष्ठ, आले र बूढाले ओलीको साथ ?

मेरोन्यूज २०७८ साउन ६ गते १६:२५

काठमाडौं । सत्ताबाट बाहिर रहँदा शक्ति प्राप्त हुँदैन भन्ने कुरा धेरै नेताहरुलाई थाह छ । सत्ताधारी दल र नेतासँग सधै नजिक रहँनुपर्छ भन्ने मान्यता केही नेताहरुमा हुन्छ नै । सत्ता र शक्तिको भोक जसलाई लाग्छ उसले पार्टीको नीति विधि र पद्धतिलाई तिलान्जली दिन्छ । उसले गुट त झन सहजै छोड्छ ।


भर्खरै सत्ताबाट बाहिरएको नेकपा एमालेका नेताहरुको स्वाभावलाई यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । राजनीतिमा गुट अदलबदल स्वाभाविक हो तर विपक्षी दलकै नेताहरुलाई पार्टीको निर्णय विपरित मतदान गर्नु अस्वाभाविक मात्र होइन राजनीतिक बेइमानी हो ।
एमालेको विद्रोही पक्ष माधवकुमार नेपाल समूहलाई भने संसद पुनस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरले त्यहाँबाट उम्किने ठाउँ नभएपनि १० जना सांसदले विश्वासको मत दिएनन । तर शुरुदेखिनै एमाले अध्यक्ष केपी ओलीको पक्षमा रहेका र मन्त्री समेत भएका व्यक्तिले शेरबहादुर देउवालाई किन मतदान गरे भन्ने बारेमा कौतहलता उत्पन्न हुन्छ नै । यसको एउटा प्रमुख कारण भनेको सत्ता शक्ति नै हो ।


माधवकुमार नेपाल समूहले विश्वासको मत दिने कि नदिने भन्ने बारेमा खटपट भैरहँदा केपी शर्मा ओली पक्षका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिए । नेपाल पक्षकै ११ जनाले भने देउवालाई मत दिएनन तर ओली पक्षका ८ जनाले माधवकुमार नेपालसँगै गएर विश्वासको मत दिएका थिए । त्यसमध्येमा पाँच जना यसअघि नेपाल पक्षमै रहेका तर बीचमा ओली पक्षतिर लागेको सांसद थिए । तीन जनाचाहि ओली पक्षका सांसद हुन । त्यसमध्येमा पनि दुई जना ओली क्याविनेटमा रहेका मन्त्रीहरु हुन् ।


ओली क्याम्प छाडेर नेपाल क्याम्पमा आउन उनीहरुलाई के बाध्यता आइलाग्यो त भन्ने आम चासो भइरहँदा जनमत जोगाएको र सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेको जवाफ दिएर उनीहरु पन्छिएका छन् । झट्ट हेर्दा त्यो स्वाभाविक देखिएपनि त्यसभित्र अनेकन उल्झन र समस्यामा उनीहरु रहेका छन् । सधै शक्तिको नजिक हुनुपर्ने बाध्यताका कारण पनि कतिपयले देउवा नेतृत्वको सरकारलाई मत दिएका हुन भने केहीले आफू अब एमालेको तर्फबाट वा अन्य कुनै कारणले पनि सांसद हुननसक्ने अवस्था रहेका कारण माधवकुमार नेपालसँग लाग्दा देउवा सरकारको पालामा मन्त्री पाइन्छ कि भन्ने आशबाट पनि नेपाललाई साथ दिएको पाइन्छ ।


‘अहिले माधव नेपाललाई आफ्नैले धोका दिएर संकट परेको छ यस्तो बेलामा साथ दिएको जस्तो पनि हुने, कारवाही पनि नहुने, मन्त्रीको अवसर आए दावी पनि गर्न पाउने कारण ओलीतिरका माधव नेपाललाई साथ दिएका हुनसक्छ’, नेपाल निकट स्रोतले भन्यो ।


तनहुँबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका किसान श्रेष्ठ र दुई पटक डोटीबाट निर्वाचित भएका प्रेम आले र डोल्पाका सदवहार नेता भनेर चिनिएका धनबहादुर बूढाको विषयमा भने थोरै थोरै शंकाको लाभ रहेको छ । किसान श्रेष्ठ जग्गा र हाउजिङ व्यवशायी हुन् । उनको नेपाली कांग्रेस निकटका धेरै व्यापारीहरुसँग साझेदारी रहेको छ । कतिपय स्थानमा होटल, हाउजिंङको साझेदारी रहेका श्रेष्ठ हाल सिमरास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिक होटल बनाउन लागिरहेका छन् । त्यहाँ उनी लगायत कांग्रेस निकट व्यवसायीहरुको पनि साझेदारी रहेको छ ।


उनी आफ्नो व्यवसायलाई सहज सञ्चालनको लागि देउवासँग निकट रहनेगरी विश्वासको मत दिएको स्रोतको दावी छ । त्यतिमात्र होइन, ओली समूहमा अन्धभक्त भएर लागेका श्रेष्ठले आफू मन्त्री बन्न धेरै पटक ओली र उनी निकटका नेताहरुसँग अनुनयविनय गर्दै आएका थिए तर उनलाई मन्त्री बनाइएन । उनले रामचन्द्र पौडेललाई हराएर आएको भन्दै ओलीसँग धेरै पटक मन्त्री मागे । छिमेकी जिल्ला स्याङजाबाट गोपालमान श्रेष्ठलाई हराउने पद्य अर्याललाई लामो समय मन्त्री बनाउने, दुई पटक नै मन्त्री दिने, लम्जुङकै पृथ्वी सुब्बालाई मूख्यमन्त्री बनाउने, आफूलाई चाहि केही जिम्मेवारी नदिने भन्दै ओलीसँग गुनासो समेत गरेका थिए ।


तर ओलीले खास वास्ता गरेनन । ओलीले वास्ता नगरेपनि ओली सरकार जोगाउन महेश बस्नेतसँग मिलेर जसपाका सांसद अपहरणमा समेत लागे । त्यतिगर्दा पनि दोस्रो लटमा समेत उनी मन्त्री नबनेपछि ओलीबाट टाढिएका हुन् । उनी ओलीकै लागि प्रशस्त खर्च गर्न सक्ने नेताको रुपमा समेत चिनिएका थिए । पछिल्लो समय उनको व्यापार व्यवशायपनि फैलिएको र उनी सधै शक्तिमै रहनुपर्ने अवस्थमा पुगेका छन् ।
उनको सम्बन्ध कांगेसका व्यवशायी मार्फत देउवासँग पनि राम्रै रहेको छ । ओलीले प्रेम आले, किशान श्रेष्ठ लगायतका सांसदहरुले देउवालाई विश्वासको मत दिने थाहा पाएपछि संसदीय दलको बैठकमै किस्ती किस्तीमा मन्त्री बाडिरहेका छन् हामीले सचेत हुने बेला आएको छ भनेका थिए ।


ओली पक्षमा रहेका अर्का सांसद आलेमा सधै सत्ता र शक्तिको नजिक रहिरनु पर्ने आवश्यकता रहेको छ । कुनै बेला माधव नेपाल पार्टीभित्र शक्तिशाली हुँदा उनकै पक्षमा रहेका आले ओली शक्तिमा आएपछि ओलीकै पक्षमा लागेका हुन् । वन पैदावार व्यवसाय मार्फत अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण विभागमा आलेमाथि उजुरी परेको छ ।

विभागले उनलाई दुई पटक बोलाएर सोधपुछ पनि गरिसकेको छ । सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्धा चल्नुअघिनै उनले राजनीतिक शक्ति केन्द्रको आडभरोसा खोज्दै आएका छन् । त्यही क्रममा उनी केही दिन अघि देउवा निवासमै पुगेर आफूले विश्वासको मत दिन लागेको बताएका थिए । आज भन्दा २२ वर्ष अघि नै उनी विरुद्ध डोटी जिल्ला अदालतमा काठ तस्करी गरेको मुद्धा परेको थियो ।


‘२०५५ वैशाख १० गते साविक छतिवन गाविस–९ रुबसकाँडा बस्ने प्रेमबहादुर आले र छतिवन–८ का राधेश्याम बडाऐरसमेतले मिलेर छतिवन गाविसका वडा नम्बर ५ र ८ मा रहेको वनबाट अबैधरूपमा ११ हजार २ सय ३२ दशमलव ८४ क्युफिट काठ कटाएको प्रमाणित भएकाले वन ऐन २०४९ को दफा ४९ ९घ० र ९ङ० को कसुरमा सोही ऐनको दफा ५० ९१० ९घ० ४ नम्बरबमोजिम बिगो ४ लाख ४९ हजार ३ सय १४ रुपैयाँ ८० पैसाको दोब्बर रुपैयाँ र एक वर्ष कैद गर्न तथा बरामद काठ जफत गरी कारबाही गरिपाउँ’ भन्दै त्यतिखेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो ।


सो विषयमा आलेमाथि दुई वर्षअघिबाट सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको हो । २०५५ सालमा आले विरुद्ध मुद्धा परेपछि २०६३ सालतिर मात्रै सो मुद्धा सल्टिएको थियो । त्यसबेला सबै हिसाब मिलाएर उम्केका आलेलाई अकुत सम्पत्ति आर्जन गरेको अभियोग कायमै छ । उक्त मुद्दाबाट छुटाकारा पाइसकेपछि २२ वर्षको बीचमा आलेले वन पैदावार व्यवसाय र राजनीतिलाई बाहुबल र पैसाका आडमा एकसाथ अगाडि बढाउँदै लगातार ठूलो फड्को मारेका थिए ।

उनले डोटीबाट दुईपटक संसदीय निर्वाचन जितिसकेका छन् । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक द्वन्द्व सम्हाल्न नसकेर पुस ५ गते संसद विघटन गरेपछिको कामचलाउ सरकारमा आलेको मन्त्री बन्ने सपना पूरा हुँदा उनले वन मन्त्रालय पाएका थिए । तर पाँच महिनामै ओलीले हटाएपछि उनी रिसाएका थिए । आफूलाई मन्त्रीबाट हटाउदा जानकारी समेत नदिएको भन्दै ओलीसँग रिसाएका आले सर्वोच्च अदालतको फैसला लगत्तै देउवा निवासमा पुगेर विश्वासको मत दिने बचनबद्धता व्यक्त गरेका थिए ।


डोल्पाका सांसद धनबहादुर बूढा पनि यार्सा गुम्बाका ठूला व्यापारी हुन । उनी पर्यटन राज्यमन्त्री भएकै बेला विामानस्थलबाट आफ्नै गाडीबाट यार्सा ओसारपसार गरेको भन्दै प्रहरीले प्रधानमन्त्रीलाई समेत गुनासो गरेको थियो । लामो समय पर्यटन राज्यमन्त्री रहेका बूढालाई योगेश भट्टराई पर्यटन मन्त्री भएपछि ओलीले हटाइदिएका थिए ।

त्रिभुवन विनानस्थलमा मन्त्रीकै गाडीमा यार्सा गुम्बा बोकेर गएको भन्दै तत्कालिन प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले तत्कालिन प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । तत्कालिन आइजीपी खनालले मन्त्रीबाट हटाइदिनुपर्यो नत्र हाम्रो प्रहरीले पक्राउ गर्छ मन्त्री पक्राउ गरेको म्यासेज राम्रो जाँदैन भन्दै गुनासो गरेपछि ओलीले व्यापार राम्रोसँग गर्नु भनेर सम्झाएका थिए ।


त्यसपछि उनी ओलीसँग रिसाएर वामदेव गौतमसँग लागेपनि गौतमले पनि डोल्पामा चुनाव लड्न नपाएपछि उनलाई पत्याएका थिएनन । त्यसयता नेपालको सम्पर्कमा आउन चाहेका बूढाले सर्वोच्च अदालतको फैसलालाई राम्रोसँग उपयोग गरेर शक्तिको नजिक रहने अवसर जुटाएका हुन् ।

प्रतिक्रिया