बिहीबार, चैत १५, २०८०

ओली-नेपाल दुवै एक-अर्काको रणनीति हेर्दे

ओलीले अझै पठाएनन् नेपाल समूहलाई सोधिएको स्पष्टीकरण पत्र, भएन आज कारवाही

नेपाल समूहले पनि बोलायो आफू निकट केन्द्रीय सदस्य र सांसद्हरुको बैठक

मेरोन्यूज २०७८ साउन ५ गते २०:०८

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने माधव नेपाल पक्षका सांसदलाई कारवाही गर्ने बताइएपनि कुनै कारवाही गरिहालेको छैन । हिजोको बैठकले नेपाल समूहका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने र त्यसैका आधारमा कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएपनि नेपाल समूहलाई स्पष्टीकरण पत्र समेत पठाएको छैन ।

पार्टी फुटको अन्तिम मोडमा रहेको भन्दै दुवै पक्षले एक अर्काे पक्षका गतिविधि नियाल्दै बसेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई अझै पार्टी मिलाउन दुवै पक्षका नेताहरुको दबाब रहेका कारण पनि दुवै नेता एक अर्काको रणनीति जाच्ने तयारीमा लागेका छन् ।

सोही कारण एमालेको ओली पक्षले माधव नेपाल समूहका २२ सांसदलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपनि अझै त्यो पत्र सम्बन्धित नेताहरुलाई पठाएको छैन । जसका कारण आजै माधव नेपालसहितका नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढ्न सक्ने अनुमान गरिएपनि बैठकले त्यसबारेमा कुनै औपचारिक निर्णयसमेत गरेको छैन ।

आज दिउँसो च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा वसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाल समूहमाथिको कारवाहीको प्रक्रिया रोकेर अहिले पार्टीको अवस्थाका बारेमा प्रदेश तहवाट नेताहरुको रिपोर्टिङ शुरु गरेको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पूरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए । ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।

Advertisement

बैठकको शुरुमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले बैठकलाई ब्रिफिङ गरेका थिए । पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ ।

आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरूले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । सातै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा एमालेको सङ्गठनात्मक अवस्था तथा राजनीतिक सन्तुलनको बारे बैठकमा ब्रिफिङ गरेको प्रवक्ता ज्ञवालीले भने ।

उनले भने, –‘पार्टीबाट केही समूह बाहिरिँदा के असर पर्छ, आसन्न निर्वाचनमा पार्टीको अवस्था कस्तो रहन्छ भन्ने ब्रिफिङका साथै अब कसरी अगाडि जाने सुझाव पनि प्रदेश अध्यक्षहरूले दिनुभएको छ ।’

उनका अनुसार पार्टीभित्र देखिएको विवाद छिटो समाप्त गरेर गतिशीलरुपमा अघि बढ्नुपर्ने प्रदेश अध्यक्षहरूको सुझाव छ ।

प्रदेश अध्यक्षहरूले पार्टीको प्रशिक्षण अघि बढाउनुपर्ने, सरकारमा रहँदा पार्टीले गरेका काम र अहिलेको अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी दिनुपर्ने र आफूबारे कमीकमजोरीहरू भए त्यसको समीक्षा पनि गरिनुपर्ने सुझाव दिएका थिए । आज बैठकमा उठेका प्रश्नहरूको बारेमा भोलि महासचिवले जवाफ दिने पनि ज्ञवालीले जानकारी दिए ।

बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

उता माधव नेपाल पक्षका नेताहरुको आज नयाँ बानेश्वरस्थित अर्याल होटलमा छलफल भएको छ । नेपाल पक्षका आज भेला भएका सांसदहरूले नेता नेपाललाई आवश्यक परे नयाँ पार्टी निर्माण गरेर अघि बढ्न सुझाव दिएका छन् । ओलीसँग झुक्न नहुने भन्दै उनीहरुले त्यस्तो सुझाव दिएका हन् ।

भेलामा सहभागी सांसद् मेटमणि चौधरीले ओलीजस्तो शासकले एमालेलाई सग्लो बनाउन नसक्ने भएकाले कानूनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव सहभागीहरूले दिएको जनकारी दिए ।

‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव आएको छ। कानून र संविधानले दियो भने हामी त्यतातिर जान्छौं। हामी वकिलहरुसँग पनि छलफल गर्छौ ’ चौधरीले भने।

नेपाल पक्षले उक्त समूहका सांसद र केन्द्रीय सदस्यहरुको बैठक भोलि बस्ने गरी तय गरेको छ । बैठकमा ओली पक्षका प्रेम आलेसहितका ८ जना सांसदलाई पनि बोलाइएको छ । उनीहरुले प्रधानमन्त्री देउवालाई संसद्मा विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया