शनिबार, वैशाख ८, २०८१

किन बढाइरहेछन् विप्लवले राजनीतिक भेटघाट ?

धर्मेन्द्र बास्तोला भन्छन् : पहिले तीन बुँदे कार्यान्वयन र त्यसपछि मात्र बृहत कम्युनिष्ट एकताको विषयमा छलफल हुन सक्छ

शित्तल शर्मा २०७८ साउन ५ गते २१:०५

काठमाडाैं । केपी ओली नेतृत्वको सरकारसँग २१ फागुनमा ३ बुँदे सहमति गदै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आयो । सहमतिका वुँदा यस्ता थिए :-

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

तर यो सहमति भएको चार महिना बितेर पाँचौं महिना चलिरहँदा पनि कार्यान्वयन नभएको ठहर विप्लवको पार्टीले गरेको छ । प्रतिबन्ध फुकुवा बाहेक अरु कुनै काम सरकारको तर्फबाट सन्तोषजनक हुन नसकेको ठहरपछि अहिले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरु काठमाडौंमा तीव्र राजनीतिक भेटघाटमा छन् । उनीहरूकाे यो भेटघाट केपी ओलीबाट शुरु गरेर आज फेरि केपी ओलीसम्मै आइपुगेको छ ।

असार २० गते सरकारको बागडोर केपी ओलीसँगै थियो । ओलीसँगै सहमति गरिसकेपछि दुई हप्तामै हिरासतमा रहेका आफ्नो नेता -कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता लिने काम गर्न सकिने भएपनि सरकारले त्यसतर्फ कुनै काम नगरेको आरोप विप्लवको थियो ।

‘त्यसबेला प्रधानमन्त्री रहेका ओलीसँग हामी तीनबुँदे सहमति कार्यन्वयन, जसमा बन्दी नेता-कार्यकर्ताहरुको रिहाई, मुद्दा फिर्ता एबं बाढीपहिरोबाट पिडितलाई राहत र कोबिड- १९ बिरुद्ध खोप ऊपलब्ध गराउने बिषयमा सरकारको ध्यानाकर्षण गर्न वालुवाटार पुगेका थियौं,’ नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) ले मेरोन्यूजसँग कुरा गर्दै भने,–‘अहिले उहाँ सरकारमा त हुनुहुन्न, तर पनि ओलीसँग खुला र स्पष्ट कुराकानी हामीले आज भेटेर गरेका छौं । राजनीतिक उतारचढाव र बदलिँदो परिवेशबारे छलफल गरेका छौं ।’

ओलीसँगै एउटै मञ्च ‘सेयर’ गरेर सार्वजनिक भएका विप्लव त्यसयता आफ्नै गृह जिल्ला कापिलवस्तुमा थिए । उनले पार्टी केन्द्रीय समिति कपिलवस्तुको शिवगढीमै बोलाए । प्रगतिशील संयुक्त सरकार, वैज्ञानिक समाजवादवारे जनमत संग्रह लगायतको एजेण्डा केन्द्रीय समितिबाट पारित गरेर चार महिने कार्ययोजना तय गरेर विप्लवको पार्टी अहिले देशव्यापी संगठनका बैठक राख्ने, नेता-कार्यकर्ता भेटघाट गर्ने तथा पार्टी र जनसंगठनका अभियान चलाउँदै हिँडेको छ ।

केन्द्रीय समितिपछि वास्तोलासहित केही नेतालाई कोभिडले छोयो । त्यसपछि भने नेताहरु केही दिन चुपचाप ‘आइशोलेसन’मा बसे ।

चौतर्फी ओलीसँग भएको सहमति कार्यान्वयन नभएको आवाज पार्टीभित्रै उठेपछि र सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि बढ्न थालेपछि विप्लव काठमाडौं आए । ओलीसँग भेटे र सहमति कार्यान्वयनमा चासो देखाए । केही सीमित पत्रकारलाई बोलाएर प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले त सहमति कार्यान्वयन नभए गम्भीर धोका हुनेसम्म भन्न भ्याए ।

त्यसपछि भने विप्लवले काठमाडौं छाडेका छैनन् । उनले यही राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

जब फेरियो सरकार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विप्लव सार्वजनिक भएलगत्तै भेट गर्न चाहेका थिए । तर शुरुका दिनमा विप्लवले प्रचण्डसँगको भेटलाई महत्व दिएनन् । कपिलवस्तुमै बसेर एकाध मिडियालाई अन्तर्वार्ता दिँदै उनले प्रचण्डप्रति नै निशाना सोज्याइरहेका थिए ।

धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउनेलगायतका नेता प्रचण्ड, बाबुरामलगायतका नेताहरुसँगको संवादमा थिए । तर पनि विप्लव कपिलवस्तुमै रमाइरहेका थिए ।

जब सर्वाेच्च अदालतले संसद् पुर्नस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो । त्यसपछि भने विप्लवलगायत नेकपाका नेताहरुले सत्ता गठबन्धन दलका नेताहरुसँग भेटवार्ता शुरु गरे ।

शुरुमा भेटप्रति अरुची देखाइरहेका विप्लव असार ३० मा नेता धर्मेन्द्र बाँस्तोलालाई साथ लिएर प्रचण्ड निवास खुमलटार पुगे । समसमायिक राजनीतिक विषयदेखि तत्कालीन ओली सरकारसँग भएको तीनवुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भए । उनले प्रचण्ड पत्नी सीता दाहालसँग पनि भेटे ।

भेटमा तीन बुँदे सहमति कार्यान्वयन र बृहत कम्युनिष्ट एकतासम्मका विषयमा छलफल भए । फेरि भोलिपल्टै एमालेका वरिष्ठ नेता माधव नेपालसँग पनि त्यही टोलीले भेट गर्यो । त्यो भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि मिसिएर भेटवार्ता भयो । माधव नेपाल, प्रचण्ड र विप्लवको त्रिपक्षीय भेटवार्ता भएपछि भने धेरैले त्यसलाई निक्कै अर्थपूर्ण रुपमा लिएका छन् । माधव नेपालसँग विप्लव र धर्मेन्द्र बाँस्तोलाले असार ३१ म नेपालको निवास कोटेश्वर पुगेर नै भेटेका थिए ।

विप्लवको काठमाडौंभित्रको राजनीतिक दौडधुप यतिमा मात्र सीमित रहेन । उनले साउन १ गते जनता समाजवादीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग उनकै निवासमा पुगेर भेट गरे । जनयुद्दका बेला एकै पार्टीमा रहेका यी नेताहरुको भेटघाट बाबुराम आफैँले सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका थिए ।

साउन २ मा भने उनी मोहन वैद्य (किरण) सँग भेट गर्नपुगे । किरणको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र विप्लवको पार्टी नेकपा विगत ५ महिना यता अन्य कम्युनिष्ट घटकहरुसँगै रणनीतिक मोर्चामा आबद्ध छ । तर त्यो मोर्चाले खास सक्रियता देखाउन सकिरहेको छैन ।

विप्लवको राजनीतिक लाइनका कारण देखा परेको अस्पष्टताका कारण मोर्चाले गति लिन नसकिरहेको बेला त्यसको सक्रियताका लागि क्रान्तिकारी माओवादीले दुवै पार्टीका लिडरहरु बसेर सामूहिक छलफल गर्ने सोच बनाएका थिए ।

तर समय विप्लवको पार्टीले उपलब्ध गराउन नसक्दा भेट हुन नसकिरहेका बेला दुई नेतामात्र पहिले भेट गरौं , छलफल गरौं भन्ने प्रस्ताव आएपछि मोहन वैद्य र विप्लवका बीचमा साउन २ मा भेटवार्ता भएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल (प्रतिक)ले मेरोन्यूजलाई बताए ।

‘सरकारसँग विप्लव जीको पार्टीले गरेको तीनवुँदे सहमति कार्यान्वयन र अवको रणनीतिक मोर्चाका विषयमा दुई नेताबीच छलफल भएको छ,’ प्रतिकले भने,–‘रणनीतिक मोर्चा सक्रिय हुन सकिरहेको छैन, यसमा देखापरेको अस्पष्टता हटाएर छिट्टै छलफल गरेर जाने गरी छलफल भएको छ ।’

खासगरी विप्लवको पार्टीले भनेको प्रगतिशील संयुक्त सरकारको चरित्र के हो ? त्यसको आधार के हो ? समाजवादका लागि जनमत संग्रह भन्ने विषयमा दुई पार्टीका बीचमा बुझाईमा अन्तर छ ।

वैद्यसँगको छलफल यिनै विषय केन्द्रित भए पनि ठोस सहमतिको चित्रमा छैन ।

साउन ३ मा माओवादी छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) बाहेकका नेताहरुसँग विप्लवले ललितपुरमा रहेको लेखराज भट्टको निवासमा भेटवार्ता गरे । मणि थापा, भट्ट, टोपबहादुर रायमाझी र प्रभु साहलगायत नेतासँग विप्लवले तीन घण्टा समसामायिक विषयमा छलफल गरे ।

त्यसपछि भने साउन ५ गते (मंगलवार) फेरि विप्लवको टोली नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा भेटवार्ता भएको छ । वार्तामा ओलीले त्यसबेलाका वार्ता टोलीका सदस्य राजन भट्टराईलाई पनिसँगै राखेका थिए ।

भेटमा विप्लवको टोलीले सरकारसँग २१ फागुनमा भएको सहमति कार्यान्वयनमा भएको ढिलाइका बारेमा धारणा राखेका थिए । ‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा रुपमा लिनु हुँदैन’ विप्लवसँग ओलीले भनेको भनाई उद्धृत गर्दै डा राजन भट्टराईले मेरोन्यूजसँग भने,–‘पार्टी विपक्षमा भएपनि त्यसबेला सरकारमा रहेर गरेको सहमति कार्यान्वयनमा सधैँ प्रतिबद्ध रहेको अध्यक्षले बताउनुभएको छ ।’

बाँस्तोलाले भने ओलीसँगको भेटघाटमा खुला र स्पष्ट कुराकानी भएको बताए ।

ओलीसँग मात्रै ‘प्रकाण्ड’ को इन्ट्री !

विप्लव नेतृत्वको नेकपामा विप्लव र प्रकाण्डका बीचमा अन्तरविरोध देखिन्छ । पछिल्ला राजनीतिक भेटघाटमा पनि त्यसको छनक नेताहरुले नै दिएका छन् । पार्टी प्रवक्तासमेत रहेका प्रकाण्ड केपी ओलीसँग अलिक बढी नजिक हुन खोजेको आरोप लागेको छ ।

पार्टीमा समेत विप्लवलाई अप्ठ्याराे पार्दै आएका प्रकाण्ड विगतमा सँगै रहेका माओवादी धारका नेताहरुसँगको छलफलमा भने सहभागी भएका थिएनन् । तर आज एमाले अध्यक्ष ओलीसँगको भेटमा भने उनी पनि सहभागी थिए ।

यसलाई पार्टीभित्रको अन्तरसंर्घषको परिणाम मान्ने या अन्य कुनै कारण ? विप्लव नेतृत्वको नेकपाका एक जना केन्द्रीय सदस्यले भने,–प्रकाण्ड कमरेड कोभिडका कारण विरामी रहेकाले अन्य राजनीतिक भेटघाटमा नरहनु भएको हो । अहिले उहाँ रिकभर भएपछि आज ओलीलाई महासचिवसँगै भेट्न जानु भएको हो ।’

कम्युनिष्ट नेता र त्यही खालको पृष्ठभूमिमा रहेका नेतालाई मात्र भेटघाट गरिरहेका विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन् । तयसका लागि प्रधानमन्त्रीलाई आज-भोलि तिरै भेट्ने योजना रहेको विप्लव पार्टीका एक नेताले बताए ।‘हामी प्रधानमन्त्रीलाई पनि भेटने तयारीमा छौं, त्यसका लागि समय मिलाउन लागिरहेका छौं। आज भोलि तिरै भेट हुनछ होला । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनकै लागि प्रधानमन्त्रीलाई भेटन खोजिएको हो ।’ ति नेताले बताए ।

भेटको राजनीतिक अर्थ के ?
विप्लवका बाक्लिँदो यो राजनीतिक भेटघाटमा बृहत कम्युनिष्ट एकताको विषय पनि सँगै जोडिएको नेताहरुको भनाइ छ । तर पहिले तीन बुँदे कार्यान्वयन र त्यसपछि मात्र अन्य विषयमा छलफल गर्ने योजना बनेको नेता बास्तोलाले बताए ।

‘तत्काल त तीनबुँदेकै कुरा हो । यसलाई कार्यान्वयन गरौं भन्ने नै हो । दोस्रो कुरा हामीले चाहेको बृहत् कम्युनिष्ट एकता हो । त्यो भनेको पूर्वमाओवादी या एमालेको कुरा होइन । नयाँ एजेण्डा, नयाँ धरातलमा, भविष्यको निम्ति, नयाँ कोर्स दिनको निम्ति बृहत कम्युनिष्ट एकता गरौं भन्ने हाम्रो कुरा छ पार्टीको एजेण्डाका हिसाबले’ बास्तोलाले भने,–‘तर, त्यो एजेण्डामा हामीले छलफल चलाएका छैनौँ । बहसमा पुग्या छैनौं । ’

प्रतिक्रिया