बिहीबार, वैशाख १३, २०८१

यस्तो बन्दै छ, देउवाको ‘किचेन क्याविनेट’

मेरोन्यूज २०७८ साउन ४ गते १३:०३

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधि सभामा उपस्थित २४९ सांसदमध्ये १६५ सांसदले देउवालाई विश्वासको मत दिए ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक सातासम्म उनले औपचारिक रूपमा एउटा मात्रै नियुक्ति दिएका छन् । महान्यायाधिवक्तामा खमबहादुर खातीलाई मात्रै अहिले नियुक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता हुँदाका स्वकीय सचिव अधिवक्ता केशव जोशीले प्रधानमन्त्रीले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताबाहेक अन्य केही पदमा पनि नियुक्त नगरेको जानकारी दिए । ‘सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताबाहेक केही नियुक्त गर्नुभएको छैन । हिजो विश्वासको मत लिनुभयो । अब आजबाट केही सुरु होला,’ जोशीले भने ।

तर, किचन क्याविनेटमा बस्न भने नाम टिपाउने र सिफारिस गर्नेको संख्या सयौँ रहेको निकटस्थ स्रोत बताउँछ । धेरैले देउवा पत्नी डा. आरजु राणा देउवा र देउवा निकट नेताहरूसँग सिफारिस गराइरहेका स्रोत बताउँछन् ।

प्रमुख राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार र परराष्ट्र सल्लाहकारमा धेरैको प्रयास छ । निकटस्थ स्रोतले दिएको जानकारी अनुसार, प्रमुख राजनीतिक सल्लाहकारमा एक पदाधिकारीसहित तीन नेता लागिरहेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य रमेश लेखकबीच प्रतिस्पर्धा छ । तर, देउवाले भने नेता एनपी साउदलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएर सुदूरपश्चिममा आफूपछिको नेताका रुपमा स्थापित गर्न चाहन्छन् । साउदले भने आफू सल्लाहकार बनेर नजाने बताइसकेका छन् ।

त्यस्तै, प्रेस सल्लाहकारमा गोरखापत्र संस्थानका निवर्तमान महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह, प्रेस युनियनकै बहालवाला अध्यक्ष बद्री सिग्देल र देउवा यसअघि प्रधानमन्त्री हुँदा प्रेस विज्ञ भएका गोविन्द परियार र सुरेश आयार्य लागिरहेका छन् ।

सिग्देल पनि यसपटक बलियो प्रतिस्पर्धी हुन् । उनी प्रेस युनियनका अध्यक्ष छन् । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य र अहिले विपुल पोखरेल नेतृत्वको प्रेस युनियन सहितको गठवन्धनलाई जिताउन उनले उल्लेखनिय भूमिका खेलेका थिए ।

केपी ओलीको प्रतिमगनकारी कदमका विरुद्द पत्रकार महासंघको मोर्चामा प्रतिगमन विरोधी मोर्चा बनाउन उनले प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल लगायतसँगको मोर्चा निर्माणमा भूमिका खेलेको र महासंघमा सोही अनुसारको गठवन्धनलाई जिताउन पहलकदमी लिएका मध्येका हुन् । यस अर्थमा पनि सिग्देल वलियो दावेदारका रुपमा रहेका छन् ।

परराष्ट्र सल्लाहकारमा यसअघि देउवा प्रधानमन्त्री हुँदा र सुशील कोइराला प्रधानमन्त्री बन्दा पनि परराष्ट्र सल्लाहकार भएका डा. दिनेश भट्टराईको सम्भावना प्रवल रहेको स्रोतले बतायो । उनी पूर्व राजदूतसमेत हुन् । अझ आफ्नै सासु प्रतिभा राणालाई राजदूतबाट फर्काएर परराष्ट्र सल्लाहकार बनाउने सम्भावना पनि रहेको स्रोतले बताउँछन् ।

सचिवालयमा भने सधै देउवाको सहयोगीका रूपमा रहेका भानु देउवाले प्रमुख स्वकीय सचिव पाउनेमा दुविधा नरहेको बुढानीलकण्ठ स्रोत बताउँछ । तर, काम सबै भानुबाट गराउने, प्रमुख स्वकीय सचिवमा अली कोही आफू पक्षको सिनियर नेतालाई बनाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । भानु देउवाका भतिज हुन् ।

त्यस्तै, सचिवालयमा केशव जोशी, विरेन्द्र थापा, तेजराज भण्डारीलगायतको नियुक्ति निश्चित रहेको स्रोतले बतायो । सुरक्षा सल्लाहकार, प्रशासन सल्लाहकार, स्वास्थ्य सल्लाहकार राख्ने भनेर छलफल भए पनि कसलाई राख्ने भन्नेमा कुनै कुराकानी नभएको स्रोत बताउँछ ।

प्रधानमन्त्रीले आफ्नो सचिवालयमा हाराहारी ५० जनासम्म राख्न सक्छन् । तर, ठूलो सचिवालय बनाउने पक्षमा देउवा नरहेको उनी निकट नेताहरू बताउँछन् । आफूमा अहिलेसम्म सबैभन्दा ठूलो मन्त्रिपरिषद् र सचिवालय बनाउने तथा कुनै नयाँ काम गर्न नसक्ने भनेर बनाएको छवीलाई सुधार्ने गरी काम गर्ने उनले निकटस्थ नेताहरूसँग बताउने गरेका छन् । राम्रो काम गर्न भन्दै काम गर्न काविल बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाएको उनको तर्क हुने गरेको छ ।

गठबन्धन दलहरूलाई पनि काम गर्न सक्ने नेताहरू मात्रै मन्त्रीमा सिफारिस गर्न भनेका छन् । माओवादीबाट अर्थमन्त्री भएका जनार्दन शर्मा, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल यसअघि राम्रै काम गरेका नेतामा गनिन्छन् ।

प्रतिक्रिया