शुक्रबार, वैशाख १४, २०८१

प्रहरीमा गृह मन्त्रीको हस्तक्षेप सुरु, सशस्त्रको एसपी बढुवामा चलखेल

मेरोन्यूज २०७८ साउन ३ गते १६:३४

काठमाडौँ । नयाँ सरकार बनेसँगै गृह मन्त्रालय नेपाल कांग्रेसको भागमा पर्यो । पहिलो चरणको मन्त्रिपरिषद् गठनमा मन्त्रालयको जिम्मेवारी बालकृष्ण खाँडलाई दिइएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन मन्त्री खाँडले नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनसँग शान्ति सुरक्षाको बारेमा बिफ्रङ लिए । दुवै प्रहरी संगठनका प्रमुखलाई आफूले हस्तक्षेप नगर्ने बताएका थिए । तर, उनले मन्त्रालय सम्हालेकै तेस्रो दिन नेपाल प्रहरीमा एआइजिपी सरुवा रोकियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले जाँदा जाँदै नेपाल प्रहरीका चार एआइजीको सरुवा गरेको थियो । अघिल्लो दिन प्रहरीमा आफ्नो हस्तक्षेप नहुने धारणा दिएका गृहमन्त्रीले गृह मन्त्रालयमार्फत नै सो सरुवा रोकाएका थिए ।

‘आइजिपीले फोन गरेर एआइजीहरुलाई तत्काल रमना नबुझ्न निर्देशन दिएका थिए, त्यसले हामीले रमना बुझेनौँ’, एक एआइजीले भने । सरकारले ७ महिनाअघि मात्रै एआइजीको सरुवा गरेको थियो । तर, अघिल्लो सरकारले सबै एआइजीको सरुवा गरेर नयाँ थपिएका एआइजी सहकुल थापालाई पदस्थापना गरेको थियो ।

‘मन्त्रालय आउने बित्तिकै नेपाल प्रहरीमा जे देखियो त्यसबाट गृहमन्त्रीले प्रहरीभित्र चासो राखेको देखिन्छ, एआइजीको सरुवा भइसकेकाले उनीहरु जहाँ छन् त्यहाँ रोक्न कि निर्णय बदर गर्नु पर्यो कि त काजमा थमौति गर्नु पर्यो’, एक प्रहरी अधिकारीहले भने ।

उनका अनुसार अहिले कांग्रेसका केही नेताहरुले प्रहरी प्रधानकार्यालयमा सरुवा र बढुवाको सूची पठाउन थालिसकेका छन् । ‘मन्त्रीले हस्तक्षेप गरेका हुन कि करेक्सन गर्न खोजेका हुन बुझ्न सकिएन’, गृहमन्त्रालयका एक अधिकारीले भने ।

नेपाल प्रहरीमा एआइजीको सरुवा रोकेका गृहमन्त्री खाँडको सचिवलायलको नामबाट सशस्त्र प्रहरीमा भने हस्तक्षेप नै भएको छ । सशस्त्र प्रहरी बल नेपालमा १५ जना सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिसमा ८ जना डिएसपीको सूची नै मन्त्री निकटको नेताबाट परेको स्रोतको दावी छ ।

‘नयाँ सरकार आउनुपूर्व असार २३ गते बढुवाका लागि विज्ञापन गरिएको थियो सोहीअनुसार योग्यता पुगेका सबै डिएसपीहरुले बढुवाको दाबी गरे । तर, अहिले बढूवाको सिफारिस सूची हेर्दा धेरै कनिष्ठहरु पनि बढुवा भएका छन्’, स्रोतले भन्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नातेदार पर्ने एसपी दीपेन्द्र कुँवरमार्फत मन्त्रालयको नाममा यस्तो हस्तक्षेप भएको सशस्त्र प्रहरीका एक अधिकारीको दाबी छ । सशस्त्र प्रहरी बलको बढुवा सिफारिसअनुसार सशस्त्र प्रहरीका १५ जना डीएसपीलाई एसपीमा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । बढुवा उपरको उजुरी दिन चाहेमा ७ दिनको समयावधि दिइएको बढुवा समितिका सदस्यसचिव तथा सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले बताएका छन् ।

अहिले बढुवाको सिफारिसमा परेका गोपी चन्द, अमरबहादुर ऐर, विमल डाँगी, धनबहादुर सिंह, मनहरी कुँइकेल आफ्नो व्याचीभन्दा योग्यतामा निकै कमजोर भए पनि उनीहरु बढुवाको सिफारिसमा परेको स्रोतको दाबी छ ।

एसपी कुँवरकै कारण अहिले कामु एसएसपी बढुवा पनि रोकिएको छ । उनी नपर्ने भएपछि सो बढुवा रोकिएको स्रोतको दाबी छ । सोर्सकै आधारमा अहिलेको आर्मीको स्टाफ कलेजमा तालिम गरिरहेका उनले मन्त्रीसँगको सेटिङमा डिएसपी बढुवामा हस्तक्षेप गराएको स्रोतको दाबी छ ।

यसअघि उनी हावी हुँदै आए पनि सरकार नै फरक परेकाले असर नपरेको तर अहिले भने उनी हावी हुन थालेको स्रोतले बतायो ।

प्रतिक्रिया