शुक्रबार, चैत १६, २०८०

स्थानीय तहको उदाहरणीय काम, गलकोटका दर्जन गौरवका योजना पूरा

मेरोन्यूज २०७८ साउन ३ गते ८:३८

गलकोट । बागलुङको गलकोट नगरपालिकाले तीन वर्षअघि थालेको वडास्तरीय गौरवका योजना पूरा गरेको छ ।

नगरका ११ वडामा प्रत्येक एक÷एक वडामा फरक–फरक योजना समावेश गरी गौरवको योजनामा समावेश गरिएको थियो । चार वर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

निर्वाचित भएर आएपछि जनप्रतिनिधिले वडाको आवश्यकताका आधारमा बजेटको सुनिश्चिततासँगै छनोट गरेको तीन दर्जन आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

गौरवका आयोजना छनोट गर्दा एक वडामा एक आयोजना भौगोलिक तथा सामाजिक मूल्याङ्कनका आधारमा गरिएको थियो । गौरवका योजनामध्ये कुनै वडामा पक्की सडक, कुनैमा स्वास्थ्य चौकी, कुनै वडामा वडा कार्यालय त कुनैमा सभाहल निर्माण गरिएको हो ।

गौरवका आयोजनामा लगातार २० देखि ६० लाखसम्मको बजेट बर्सेनि विनियोजन गरेर सम्पन्न गरिएको हो ।

Advertisement

“गौरवका आयोजनामा पहिलो वर्ष २० देखि ३० लाख विनियोजन गरेका थियौँं, यसलाई दोस्रो वर्ष थप गर्दै ४० देखि ६५ लाख र तेस्रो वर्ष सम्पन्न नभएका र बजेटको आवश्यकताका आधारमा विनियोजन गरेका थियौँ”, नगरप्रमुख गैरेले भने, “नगरले गर्व गर्न लायकका योजना सम्पन्न भएका छन्, जसका कारण सबै वडामा समानुपातिक विकाससमेत भएको छ ।”

गौरवका योजनामध्ये गलकोट–१ मा स्वास्थ्यचौकीको भवन निर्माणमा दुई रोपनी जग्गा व्यवस्थापन गरिएको छ । गलकोटमा निःशुल्क जग्गा पाउन सक्ने अवस्था नभएपछि जग्गा खरिदमा समेत नगरपालिकाले ठूलो रकम खर्च गरेको छ ।

अहिले स्वास्थ्यचौकी निर्माणको काम शुरु भएको छ । यस्तै वडा नं २ मा वडा कार्यालय भवन व्यवस्थापन र नगर सभाहल निर्माण भएको छ ।

दुई वर्षदेखि नगरपालिकाका सबै गतिविधि यही नगरसभामा भइरहेको नगरपालिकाका प्रवक्ता तथा गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । सभाहलसँगै वडा कार्यालय व्यवस्थापनका लागि करिब ७० लाख खर्च भइसकेको छ ।

यस्तै वडा नं ३ ले बाइसे÷चौबीसे राज्यका पालामा गलकोटमा राज्य चलाउने कोतघरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि गौरवको योजना पूरा गरेको छ ।

कोत घरको मर्मत, पर्खाल, पदमार्ग तथा कोतघरमा अजङ्गका खुकुरी र खुँडा राखिएको छ । उक्त खुकुरी र खुँडा हेर्न पर्यटकसमेत पुग्ने गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए ।

कोतघर पुग्ने सडकसमेत फराकिलो बनाइएको छ । ऐतिहासिक महत्वको कोतघरमा चैतेदशैँ र बडादशैँमा मेला लाग्छ । कोतघर संरक्षण, खानेपानी र पदमार्गमा नगरपालिकासँगै गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले समेत लगानी गरेको छ ।

नगरपालिका स्थापना भइसकेपछि चार वर्षको अवधिमा झण्डै ५० लाख खर्च भइसकेको छ । पदमार्गलाई पूर्णता दिन भने थप नौ लाख बजेट विनियोजन गरिएको छ । कोतघरमा राखिएका खुकुरी र खुँडा नेपालमै ठूलो भएको दाबीसमेत वडा कार्यालयको छ ।

यस्तै वडा नं ४ मा मध्यपहाडी राजमार्गबाट वडासम्म पुग्ने सडक कालोपत्र गरिएको छ । नगरपालिकाले ५० लाख खर्चेर सडक कालोपत्र गरेको छ ।

यस्तै नगरपालिकाको पुरानो बजार रहेको वडा नं ५ को हरिचौर बजार ढलान गरेको छ । तीन वर्ष लगाएर करिब एक करोडभन्दा बढी खर्चेर झण्डै ९०० मिटर सडक ढलान गरिएको छ ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको हरिचौर बजार व्यवस्थित गरिएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । हरिचौरमा रहेको गलकोट दरबार हेर्न आउने पर्यटकले पुरानो बजारसमेत अवलोकन गर्ने गरेको मल्लको भनाइ छ ।

यस्तै वडा नं ६ ले मजुवाबाट ढलेपिपल क्षेत्रमा बस्ती विकास मापदण्डअनुसारको सडक निर्माण गरेको छ । यस सडक नालीसहितको छ ।

समयमै सडक बनाएपछि बस्ती विकासलाई सहयोग पुग्ने, ताराखोलातर्फ जाने सडक पनि नियमित चल्ने अवस्थाको भएको छ । यस्तै वडा नं ७ ले आँगखेतबाट सानोखोलासम्मको सडक स्तरोन्नति गरेको छ भने वडा नं ८ मा सभाहलसहितको वडा कार्यालय बनेको छ ।

सुविधासम्पन्न र आकर्षक उक्त भवनमा ६४ लाख खर्च भएको छ । यस्तै वडा नं ९ ले बरेखानीमा सडक पु¥याएको छ । वडा नं १० ले सिद्धथान गैराबारी सडक र वडा नं ११ ले मल्मबाट रिघासम्मको सडक स्तरोन्नति गरेका छन् ।

प्रतिक्रिया