शुक्रबार, वैशाख १४, २०८१

टिप्पणी

माधव नेपालकाे नेतृत्वमा ओली बाहेककाे बृहत कम्युनिष्ट केन्द्र निर्माण सम्भव छ ?

मेरोन्यूज २०७८ साउन २ गते १८:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) काे एकतमा पूर्ण विराम पनि लागेको छैन, फुटाएर अर्को पार्टी बनाउने तयारी पनि सेलाएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका पछिल्ला अभिव्यक्तिपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह बिच्चिएको छ । नयाँ पार्टी बनाएर जाने वा पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने भन्ने विषयमा नेपाल पक्ष मौन छ ।

एमालेभित्रको यो द्वन्द्वलाई दोस्रो पुस्ताका नेताहरुले समाधानको प्रयास पनि गरिरहेका छन् । तर पनि ओली–नेपाल आ–आफ्नै अडानमा कायमै छन् । एमाले निर्माणमा लागेका दुई नेताहरु अहिले व्यक्तिगत मनमुटावमा फसेपछि सिंगो पार्टीभित्र जर्वजस्ती दुई धार निर्माण भएको छ । यसले एमाललाई जुनसुकै हालतमा विभाजन तर्फ उन्मूख गराउँदैछ वा कम्युनिष्ट पार्टीलाई वैचारिक राजनीतिक र नेतृत्वमा आएको विचलनलाई सष्लेषण गरेर अघि बढ्दै छ भन्ने प्रश्न उठाएको छ ।

यही प्रश्नको प्रसंगमा अहिले एउटै कम्युनिष्ट केन्द्र बनाएर जानुपर्ने त्यसको नेतृत्व माधवकुमार नेपालले गर्नुपर्ने आवाज मन्दमन्द गतिमा आएको छ । यो विषयमा किन उठाइएको छ ? यसका पछाडि के कारण होलान् र एमालेभित्रको मुल संरचना बोकेर हिँडेको ओली पक्षलाई बाहिर राखेर कम्युनिष्ट केन्द्र बनाउन सम्भव छ भन्ने जटिल प्रश्न पनि सँगसँगै उठेका छन् ।

मन्दमन्द गतिमा कम्युनिष्ट केन्द्र बनाउनुपर्छ भन्नेहरुले त्यसको संरचनाको बारेमा कही कतै उल्लेख नै नगरी एकले अर्कालाई दुःखमा साथ दिने गरी प्रसंग उठेको जस्तो देखिन्छ । अहिले राजनीतिक रुपमा संकटमा रहेका माधव नेपाललाई सान्त्वना दिने गरी यो प्रसंग उठाइएको हो भने यो गर्भमै तुहिने निश्चित देखिन्छ ।

सत्ताको चावी लिएर बसेको माधव नेपाल समूहका सांसदलाई पार्टीले कारवाही गर्न नपाउने भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन त सक्लान तर यो अवस्थामा एमालेको विवाद समाधान भएन र नयाँ पार्टी बनाएर खुम्चनुपर्ने अवस्था आए भोलि आउने निर्वाचनको परिणाम सुखद् नहुन पनि सक्छ ।

यसले गर्दा दोस्रो पुस्ताका नेताहरुले पार्टी मिलाएर जानुपर्ने धारणा सार्वजनिक मात्रै गरेका छैनन् प्रयास पनि जारी राखेका छन् । अहिले कम्युनिष्ट केन्द्र बनाउनु पर्छ भन्नेहरुले यसअघि एमाले निर्माणको चरणलाई थोरै ध्यान दिनु आवश्यक छ ।

वास्तवमा झापा संघर्षबाट तयार भएको क्रान्तिकारी आधारको पृष्ठभूमिमा नै नेपालको कम्युनिष्ट आन्दोलनभित्र मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी धाराको विजारोपण भएको थियो । २०३१ सालमा झापा जिल्ला कमिटी र नेपाल क्रान्तिकारी संगठन मोरङद्वारा चार वटा पूर्वशर्तहरूको आधारमा क्रान्तिकारी तथा क्रान्तिकारी समूहको समन्वयको निम्ति संयुक्त अपिल जारी गरेर माले निर्माणको शुरुवात गरिएको थियो ।

तिनै चार पूर्वशर्तसँग सहमत क्रान्तिकारी समूह र व्यक्तिहरूद्वारा २०३२ साल जेष्ठ २४–२५ मा गोप्य सम्मेलन गरी अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिशन कमिटी (माले) गठन गरियो । यसमा २०३४ भाद्र १४ मा मुक्तिमोर्चा, २०३५ भाद्र २६ मा क्रान्तिकारी कम्युनिष्ट संगठन समिति, गण्डकी र २०३५ मंसिर २७ मा दाङको सन्देश समूह सम्मिलित भए ।

यो भिन्न–भिन्न कम्युनिष्ट समूहको एकताले उग्रवामपन्थी कार्यदिशामा क्रमशः सुधार पनि ल्याउँदै गयो । पुष ११, २०३५ मा को–अर्डिनेसन केन्द्रले एक सम्मेलन गरी नेकपा (माले) को स्थापना गर्यो । त्यसपछि नेकपा (माले) मा नया क्रान्तिकारी समूहहरू एकताबद्ध हुने लहर नै चल्न थाल्यो । जसको परिणामस्वरूप नेकपा (माले) नेपाली कम्युनिस्ट आन्दोलनको सर्वाधिक प्रभावशाली पार्टीका रूपमा विकास भयो र २०४७ सालमा माले–माक्सवादीको एकीकरणपछि एमाले बनेको थियो ।

यही पार्टी बहुदलीय प्रजातन्त्र तथा गणतन्त्रपछि पटक पटक सरकारमा गयो । जसको केन्द्र भागमा अहिले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नै थिए भने मालेको संस्थापक महासचिवचाहि सीपी मैनाली भए । संस्थापक महासचिव मैनाली नै २०५४ सालमा एमाले विभाजित भएपछि एमालेमा फर्कन सकेनन् । उनी अहिले माले नामको सानो पार्टीको महासचिव नै छन् ।

तत्कालीन समयमा नेपाललगायत नेताहरुले स–साना कम्युनिष्ट घटकहरुलाई एकीकृत गरेका कारण अहिले पनि छरिएर रहेका कम्युनिष्ट पार्टीलाई नेतृत्व गर्न माधवकुमार नेपाललाई आग्रह गरिरहेका छन् । खासगरी नेकपा (माओवादी केन्द्र) र त्यहाँबाट बाहिरिएका घटकलाई समेट्ने गरी कम्युनिष्ट केन्द्र बनाउने चर्चा शुरु भएको हो ।

एमाले छाडेर बाहिरिएका अशोक राई, माओवादीबाट बाहिरिएका बाबुराम भट्टराई, मोहन वैद्य तथा विप्लव सम्मलाई समेटेर एउटै कम्युनिष्ट केन्द्र बनाउने र त्यसको संयोजक माधव नेपाल हुने चर्चाले क्रमशः विस्तारित रुप लिएको छ । २०६२/०६३को दोस्रो जनआन्दोलन र २०६७ सालपछि तत्कालीन माओवादीमा देखिएको अन्तरसंघर्षले वैद्य, बाबुराम र विप्लव, गोपाल किराती, आहुतीलगायत धेरै नेता कार्यकर्ताहरु माओवादीको मुलधारबाट बाहिर बसेका छन् ।

माओवादीकै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतका नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् । एमालेभित्रका पूर्व नेताहरु पनि संगठित हुन खोजिरहेको र माओवादी केन्द्रबाट बाहिर रहेका नेताहरु पनि संगठित हुन खोजेको अवस्थामा माधव नेपाललाई संयोजक मानेर संगठित हुने अवस्था नआउला भन्न सकिन्न ।

तर उनीहरुलाई समेट्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसभन्दा बाहिर बस्न सक्ने अवस्था छ त ? उनीलगायतका केही नेताहरु मोहन वैद्य तथा सीपी गजुरेल केन्द्र निर्माणमा उनीहरुको भूमिका के रहँला भन्ने प्रश्न पनि सँगसँगै आएको छ । यसरी हेर्दा कम्युनिष्ट केन्द्र वा बृहद कम्युनिष्ट एकताको अवधारणा त बन्न सक्छ तर अवधारणा कार्यान्वयनमा भने ठूलो चुनौती रहेको छ ।

उता एमाले आफैँ यतिबेला संगठन निर्माणको चरणमा पुगेको छ । केन्द्रदेखि गाउँतहसम्म ठूलो संगठित पंक्तिको नेतृत्व एमालेले गर्दछ । त्यस्तो अवस्थामा माधवकुमार नेपालले नेतृत्व गर्ने कम्युनिष्ट केन्द्र र ओली नेतृत्वको एमालेको संगठित पंक्तिबीचनै टकराव देखिन्छ । तर यति सजिलै कम्युनिष्ट केन्द्र बनिहाल्ने अवस्था भने छैन ।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह तथा राष्ट्रिय जनमोर्चको पाँच दलीय गठबन्धमा सबैभन्दा निर्णायक माधव नेपाल समूह हो । नेपाल समूहले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने हुन्छ । यदि मत नदिए सरकारको आयू तीस दिनभन्दा टाढा छैन । सर्वोच्च अदालतबाट पुर्नस्थापित संसद्समेत विघटन हुने अवस्थामा पुग्छ ।

संसद् व्यूँताउनकै लागि गरिएका संघर्ष र त्यसबाट प्राप्त उपलब्धिसमेत धराशयी हुने अवस्था आएकाले माधव नेपाललाई कम्युनिष्ट केन्द्र बनाएर नेतृत्व दिने आश्वासनसहित यसको चर्चा त भएको होइन भन्ने आशंका पनि उत्तिकै व्याप्त छ । एकातर्फ एमालले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गसिसकेको छ । अर्कातर्फ एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीलाई विभाजनबाट रोक्न हरदम प्रयास गरिरहेका छन् ।

विवाद निरुपणका लागि बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई एमालेको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दिन भनेर नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराई बाहिरिएका थिए । सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत केही नेताहरुले विश्वासको मत नदिन सक्ने सम्भाजना बढेर गएको छ ।

पछिल्ला दिनमा भीम रावल पनि पार्टीको विवाद मिलाउनुपर्छ भनेर लागिरहेका छन् । यसकारण माधव नेपालसँग पहिलोको जस्तो बलियो र संगठित शक्तिको साथ रहने सम्भावना कमजोर बन्दै गएको छ । जसले गर्दा कम्युनिष्ट केन्द्र बन्यो र त्यसको नेतृत्व उनले गरे भने त्यसमा पनि अल्पमतमै पर्नेछ ।

प्रतिक्रिया