शुक्रबार, वैशाख १४, २०८१

‘नेपाललाई चीनले तिब्बत र भारतले सिक्किम बनाउन सक्दैन’

मेरोन्यूज २०७८ साउन २ गते १५:४२

भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहता नेपाल मामिला जानकार मानिन्छन् । ८१ वर्षका अशोक मेहता यो उमेरमा समेत उत्तिकै सक्रिय छन् । रेडियो, टिभी र अनलाइनमा अन्तर्वार्ता दिइरहेका हुन्छन् ।

नेपाली मिडियाले त नेपाल–भारत राजनीतिक, सुरक्षा मामिलाको प्रसंग आउने बित्तिकै विश्लेषकका रुपमा उनलाई छुटाउँदैनन् । मेहता भारतको नोयडास्थित रामबिहारमा रिटायर्ड जीवन बाँचिरहेका छन् । मेहताले आफ्नै निवासमा राजनीति र समसामयिक विषयमा नरेन्द्र रौलेसँग खुलेर कुराकानी गरेका थिए :

तपाई राम्रो नेपाली बोल्नु हुन्छ, कसरी सिक्नु भयो ?

उहिल्यैदेखि हो, यो । हाम्रो इण्डियामा गोर्खालीमा पल्टनमा भर्ना भएको २०१४ सालमा हो । पल्टनमा भर्ती हुने बित्तिकै ६ महिनाभित्र नेपाली भाषा सिक्नै पथ्र्यो । पहिला सरल नेपाली, पछि पूरक नेपाली भाषाको परीक्षा दिनु पथ्र्यो । त्यसरी सिकेँ ।

नेपालमा पहिलोपटक कहिले पाइला टेक्नु भयो ?

२०१६ सालमा । त्योबेला अमलेखगञ्जबाट हिंडेर गएको हो । भीमफेदी, थानकोट हुँदै काठमाडौँ गएको हो । २ अक्टोबरमा महात्मा गान्धीको जन्मदिन थियो । काठमाडौंमा बाटो, बिजुली केही थिएन ।

हामी भारतीय दुताबासमा तीन रात बस्यौं । त्यो बेला दुई महिना नेपाल बसाई भयो । सुरुमा काठमाडौं, पोखरा, घान्दु्रक पुग्यौं । घान्दु्रकबाट आँधीखोला, भैरहवासम्म पनि हिँडेरै पुगेका थियौँ ।

पछिल्लोपटक नेपाल कहिले जानु भयो ?

म त सालमा दुई पटक नेपाल गइरहन्छु । ६० पटक जति नेपालमा पाइला टेकेँ हुँला । यति धेरैपटक त अन्य कुनै देश गएको छैन ।

नेपालसँग तपाईंको नाता गहिरो छ, कसरी सम्भव भयो ?

बहुत गहिरो छ । नेपालमा मेरा धेरै साथीहरू छन् । पल्टनमा बसेका भूपु सैनिकहरू छन् । नेपालमा नयाँ–नयाँ साथीहरू छन् । नेपाली सेनाका अधिकृत, नेपालका कुटनीतिज्ञ, नेपाली नेताहरूलाई चिन्छु । ऋषिकेश शाह, जो नेपालका सबैभन्दा जवान विदेश मन्त्री थिए । उनले भन्थे, ‘मेहतासाब नेपालको ज्वाँइ हो ।’ मैले पत्नीलाई समेत नेपाली बनाइसकेँ । उ मसँग नेपाल घुम्न जान्छे । उ पनि नेपालका बारेमा पूरा जानकारी राख्छे । उसले नेपाली समेत बोल्छिन् ।

८१ वर्षको उमेरमा निकै सक्रिय हुनुहुन्छ, अध्ययन, भ्रमण र विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ, अझै आफूलाई जवान महशुस गर्नु हुन्छ ?

म त आफूलाई भर्खरको केटा जस्तो ठान्छु । पल्टनमा गएपछि, त्यहाँ जवान केटाहरूले ‘बुढो साब आयो’ भन्छन् । म भन्छु, ‘म बुढो साब हैन । दिल, दिमागले एकदमै जवान छु ।’ अनि जबसम्म दिल, दिमाग जवान हुन्न तब काम हुन्न । आफ्नो शरीर, तन, मन फिट्फाट् राख्नु पर्छ । तब मात्र नेपालमा गएर कोदोको रक्सी खान पाइन्छ ।

हिजोआज तपाइको दैनिकी कसरी बितिरहेको छ ?

बिहान व्यायाम गर्छु । विभिन्न कार्यक्रमहरूमा भाग लिइरहन्छु । लेक्चर दिन जान्छु । केहीअघि इण्डिया इन्टरनेश्नल सेन्टरमा कन्फ्रेन्स थियो । शीर्षक थियो, चाइनिज् राइज् इन नेपाल । नेपालमा कसरी चीनको प्रभाव बढिरहेको छ ? भारतको प्रभाव कसरी घटिरहेको छ ? मैले आफ्नो कार्यपत्र प्रस्तुत गरेँ । विभिन्न टिभी, रेडियोले अन्तर्वार्ताका लागि बोलाउँछन् । यसरी नै दिन बित्छ ।

नेपालमा चीनको प्रभाव बढेको र भारतको घटेको प्रसंग उप्काइहाल्नु भयो । यसलाई कसरी व्याख्या गर्न सकिन्छ ?

मेरो विचारमा कुटनीतिक, राजनीतिक तरिकाले हेर्ने हो भने अहिले नेपालमा चीनको उपस्थिति, प्रभाव भारतभन्दा अगाडि छ । त्यसको मुख्य कारण ओली नेतृत्वको सरकार नै थियो । मनमोहन अधिकारीको पालामा पनि कम्युनिष्ट सरकार थियो । तर, केहीअघि दुई तिहाईको शक्तिशाली सरकार थियो । पछि मिलीजुली सरकार बन्थे । यस्तो राजनीतिक अवस्था पहिले थिएन ।

भारतले सन् २०१५ मा नेपालले आफ्नो नयाँ संविधान लेखिराखेको बेला मधेसी र जनजातिको विषय समेट्नु पर्छ भनेको थियो । त्यसपश्चात् नेपालमा नाकाबन्दी भयो । त्यसबाट जुन दुःख, समस्या नेपालीहरूमा प¥यो, त्यसले भारतप्रति नकारात्मक भाव पैदा गर्यो ।

घटनाक्रमहरूले चीनसँग नजिक हुने वातावरण सिर्जना भयो । तर, नेपाल पूरै चीनको मातहतमा चल्न सक्दैन । भौगोलिक हिसाबले भारत नै नजिक छ । नेपालसँग चीनको भाषा र अन्य कुरा मिल्दैन ।

भारतले चाह्यो भने नेपाललाई कस्मिर बनाउन सक्छ भनेर नेपाली कांग्रेसका नेता प्रदीप गिरीले केही अघि भन्नु भएको थियो । के भारतले नेपाललाई यस्तै बनाउन सक्छ ?

असम्भव । प्रदीप गिरी मेरा घनिष्ठ मित्र हुनु हुन्छ । उहाँले किन यस्तो बोल्नु भयो ? त्यो त भनाई मात्र हो । नेपाल, नेपाल नै रहन्छ । नेपाललाई चीनले तिब्बत जस्तो खोस्न सक्दैन । भारतले सिक्किम बनाउने कुरा व्यर्थ हो ।

नेपालमा राजतन्त्र फर्किने वा फर्काउने प्रसंग बेलाबेला चर्चा चल्छ । त्यो सम्भव छ ?

त्यो पनि असम्भव । जबसम्म दुई तिहाइको सरकार थियो, त्यो बेला पनि सम्भवै थिएन । फेरि, राजतन्त्र त माओवादीले फालेको हो ।

नेपालमा भारतले चाह्यो भने जे पनि हुन्छ भन्ने सुनिन्छ । हरेक घटनाका पछाडि भारतलाई दोष दिइन्छ । तपाईको अनुभवले के भन्छ ?

त्यो कुरा थियो । १९५० मा राणा शासनलाई हटाएको घटनामा हात थियो । तर १९५९ मा राजा महेन्द्रले कोइराला सरकारलाई हटाउँदा भारतले आपत्ति मात्र जनायो । केही गर्न सकेन । नेहरु जीले यो ठिक भएन भन्नु भयो । १९९० मा जब बहुदल आयो, त्यसमा भारतको हात थियो । २००५ मा माओवादी, सात दल र राजालाई कसरी मिलाउने भन्ने निर्णय नेपालकै हो ।

भारत सरकारको फैसला थिएन । भारतले सहजीकरण मात्र गरेको हो । मद्दत गरेको हो । २००८ मा जुन चुनाव भयो, त्यसमा भारतको हात थियो ।

नेपाल भारतसँको सम्बन्धलाई कसरी नियालिरहनु भएको छ ?

भारत र नेपालका जनता–जनताबीच सम्बन्ध ठिक छ । कुटनीतिक, राजनीतिक सम्बन्ध पनि अब्बल दर्जाको छ । तर, चीनको तुलनामा यतिबेला भारत तल नै छ ।

प्रतिक्रिया