मंगलबार, वैशाख ११, २०८१

‘आफूले बनाएको सबै पेन्टिङकाे बच्चाकाे जस्तै माया लाग्छ’

एरिना ताम्राकार २०७८ साउन २ गते १४:३८

सानैदेखि सबैले काममा इच्छा राखेका हुन्छन् । मलाई पनि त्यस्तै भयो । बुबाको नेवारी साहित्यमा इच्छा र हस्तकलामा हाम्राे पुर्खामा लागेकाले मलाई चित्र कोर्न प्रेरणा मिलेको हो । मनमा नै चित्र भएकाले ऐतिहासिकलाई आधुनिकतामा लैजान लागिरहेकी छु ।

हामी (पतिसहित)ले ललितपुरको कुपण्डोलमा स्टुडियो खोलेर कर्मथलो बनाएका छौँ । आफूले बनाएको सबै चित्र मन पर्छ । समय, परिस्थिति र अवस्थाअनुसार प्रिन्ट गर्ने भएकाले आफ्नो बच्चाको जस्तै माया लाग्छ ।

कोरोनामा पेन्टिङ

म अहिले स्टुडियोमा छु । पेन्टिङ सिकाउनुका साथै कोर्ने काम गरिरहेको छु । कोरोना र निषेधाज्ञाका कारण पेन्टिङ सिक्न चाहनेलाई अनलाइनबाट सिकाउँदै आएको छु । १५ दिनदेखि निरन्तर काम हुन थालेको छ ।

योभन्दा अगाडि डेढ महिना निषेधाज्ञामा गाह्रो भयो । पहिलेको निषेधाज्ञामा घरमै बसेर काम गर्यौं । यसपटकको कोरोना महामारीमा साथी, आफ्ना मान्छे,छिमेकी गुमाउँदा पीडा भयो । जसले गर्दा सोच्न सक्ने, काम गर्न सक्ने वातावरण भएन । तनाव भयो । जिन्दगी के हो ? आज हो कि भोलि हो ? भन्ने अवस्था आएपछि केही काम गर्न सकिनँ । जागर मर्यो । दुःखद घटना बारम्बार सुन्दा पेन्टिङ गर्न नसकेको हो ।

जीवन नै पेन्टिङमा

करिब २५ वर्ष पेन्टिङ गर्ने काम गरिसकेँ । यो भनेको करिब जीवन नै भन्न मिल्ला । सुरुका दिनमा पत्रिकामा छापिने पेन्टिङ हेर्दै दुरुस्तै बनाउने कोशिस गरेँ । अनि, कोर्न थालेँ ।

मैले चित्रमा महिलालाई प्राथमिकता दिएर कोर्ने गर्छु । मैले हरेक महिलाको दुःख बुझेको छु । आमाको दुःख बुझेँ । फेरि, बुबाले दुःख गर्नु हुन्न भनेको होइन । तर, आमा घरका धेरै काममा लाग्नु हुन्थ्यो । शरीर दुखे पनि केही नभनी सहेर काम गर्ने, आमा । त्यसैले महिलाको दुःखलाई अनेक कोणबाट पेन्टिङ गरेको छु ।

मेरो माइती र घर ललितपुरमै हो । यहाँसबै मल्ल कालीन क्षेत्र भएकाले अनेक चित्र देख्थेँ । यी यस्तै परिवेशले पेन्टिङतिर लागेँ । यसैलाई पेशा बनाएर आय आर्जन गरिरहेको छु ।

बच्चाको जस्तै सम्बन्ध

आफूले बनाएको पेन्टिङ सबै मन पर्छ । कुनै छान्न सक्दिनँ। सबै आफ्नै बच्चा जस्तै लाग्छ । २५ वर्षअगाडि एक किसिमले पेन्टिङ बनाइन्थ्यो । ती सबै मन पथ्र्यों । १० वर्षअघि अर्कै किसिमको पेन्टिङ बनाउने गथ्र्येँ । अहिले फरक किसिमको बनाउन थालेको छु ।

समयानुसार स्थान र अवस्था हेरी पेन्टिङ हुन्छ । त्यसैले आफ्नो बच्चासँगको सम्बन्ध जस्तै आफूले बनाएको पेन्टिङको माया लाग्छ । यो मन पर्छ, त्यो मन पर्छ भन्ने हुँदैन ।

अहिले तराई सिरिज गर्दैछु । त्यहाँका विभिन्न प्रकारका परिस्थिति र अवस्थालाई पेन्टिङमा उर्ताने काम गरेको छु ।

कुनै बेलाबाटोमा हिँड्दै गर्दा कागज निकालेर कोर्न मन लाग्छ । बाटामा कस्तो कस्तो सिनले मलाई तान्छ । त्यही बनाउने गरेको छु ।

एकपटक भक्तपुर गएको थिएँ । पर्यटन आएक रहेछन् । ग्राफ्ट पसलमा पर्यटकको भिड थियो । बाटोमा पर्यटकको हुलमा एक जना काली रंगकी केटीलाई देखेँ । मैले उसको राम्रो पेन्टिङ बनाएँ । यस्ता उदाहरण धेरै छन्

पेन्टिङ र पैसा

पहिला पेन्टिङमा गाह्रो थियो । सुरुमा धेरै दुःख पाएँ । अरू साधना गर्नु पर्ने क्षेत्रका साधकले पैसाको दुःख पाएको भने जस्तै मैले पनि धेरै दुःख पाएँ । सुरुका दिनहरूमा पेन्टिङमा धेरै मेहनेत गरेर बिताएँ ।

विस्तारै विस्तारै कला सम्मेलनमा, प्रदर्शनमा भाग लिन थाल्यौँ । सञ्चार माध्यमले हामीलाई अलिकति पत्याइदिए । अहिले हामी श्रीमान् श्रीमती यही क्षेत्रमा रहेका छौँ । स्टुडियो खोल्यौँ । अहिले धेरै राम्रो छ । नेपाली समाजले पनि आर्टलाई सम्मान गर्न थालेको छ ।

अहिले स्वदेश मात्र होइन, विदेशमा समेत हामीले बनाएको पेन्टिङ जान थालेको छ । तर, कोरोना भाइरसका कारण रोकिएको छ । नेपाली पेन्टिङ नयाँ पुस्तामा पनि नयाँ रुपले आएको छ ।

भूकम्प, नाकाबन्दी, कोरोनाले समस्या पार्दा यो क्षेत्रमा नकारात्मक असर परेकै छ । तर,यसको विकासका लागि हामी लागेकै छौँ । विश्वका विभिन्न देशमा हाम्रो पेन्टिङ पुग्दा नेपालीपन विश्वभर फैलिएको छ ।

हामीले विश्वस्तरमा कला पुर्याएका थियाैँ । तर, मोर्डनतिर नेपालको कल्चर लागेको छ । अर्थात् आर्टमोनर्डमा नेपाली कल्चरले छुँदा नेपालको ऐतिहासिक क्षेत्र, व्यक्तिलाई सबैले आर्टमार्फत अंगालेका छन् ।

चित्रकार एरिना ताम्राकारसँग मेरो न्युजका किरण अधिकारीले गरेको कुराकानीको अंश ।

प्रतिक्रिया