शुक्रबार, वैशाख १४, २०८१

विरोधको नाममा विरोध : जनतालाई सास्ती

स्वास्थ्य विज्ञहरु भन्छन् : विरोध गर्ने अवस्था छैन, हेलचेक्राइले कोभिडको जोखिम बढाइरहेको छ

दया दुदराज २०७८ साउन ४ गते १४:४०


काठमाडौँ । जनताका सामान्य आधारभूत आवश्यकता पूरा गर्न विरोधै गर्नुपर्छ भन्ने मानसिकता नेपालीमा बनिसकेको छ । क्षणिक रुपमा त्यसले एउटा दबाबको काम त गर्ला, तर त्यसले कालान्तरमा आफैमाथि प्रहार गरिरहेको छ भन्ने तथ्य भने नेपालीले धेरैपछि मात्र बुझ्ने गरेका छन् ।

पछिल्लो समय जेमा पनि विरोध गर्ने, आन्दोलनमा उत्रने र दबाब सिर्जना गरेर आफ्ना माग पूरा गराउने होडबाजी चलेको छ ।

खोप लगाउन पाइएन, पेटोलियम पदार्थको ढुवानी बन्द, मूल्य वृद्धि भएन तरकारी सडकमा फालेर विरोध प्रर्दशन यी केही प्रतिनिधिमूलक घटना हुन् । नेपालमा विरोध शब्द अब कसैका लागि पनि नौलो छैन । तर जुन तरिकाले विरोध भइरहेको छ । त्यो विरोध आफ्नै लागि हानिकारक छ, भन्ने कुरा खासै बुझेको पाइदैन ।

यसको तात्पर्य विरोध नगर्न भन्न खोजिएको होइन । आफ्नो अधिकारका लागि विद्रोह बोल्न सक्नु पर्छ । तर, विरोधका नाममा जे विषयमा पनि विरोध गर्ने कामले भने कालान्तरमा आफैलाई बर्बादीमा पारिरहेको हुन्छ । यसतर्फ भने आन्दोलनरत पक्षले खासै ध्यान दिइएको पाइदैन ।

घटना १

गत ०७३ साल मंसिर २४ गतेका दिन राजधानीको नयाँ बानेश्वर–मिनभवनस्थित होलसेल तरकारी बजारका व्यापारीले हजारौँ मूल्य बराबरका तरकारी सडकमा फालेर आन्दोलन शुरु गरे । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वी भागको सडक अवरुद्ध गर्दै बिक्रीका लागि ठिक पारेको तरकारी सडकमा फालेर उनीहरूले विरोध गरेका थिए ।

उनीहरूको एउटै माग थियो, तरकारी बजार खाली गराउन नागरिक लगानी कोषले चलाउन लागेको डोजर आतंक बन्द गरियोस् ।

नागरिक लगानी कोषको खाली जग्गामा २ सय हाराहारीका तरकारी व्यापारीले त्यहाँ तरकारी राखेर व्यापार गर्दै आएका थिए । कोषले आफ्नो कार्यालय भवन बनाउन जग्गा खाली गर्न यसअघि नै तरकारी व्यापारीहरूलाई आग्रह गरेको थियो । तर, व्यापारीहरूले भने वैकल्पिक व्यवस्था नगरी तरकारी पसल नहटाउने भन्दै अडान लिँदै आएका थिए । अन्ततः व्यापारीहरूले अटेर गरेपछि जग्गा खाली गराउन कोषले बल प्रयोग गरेको थियो ।

घटना २

२०७६ साल पुस एक गतेका दिन चितवनमा अण्डाको मूल्य नपाएको भन्दै अण्डा उत्पादक किसानहरूले अण्डा फालेर आन्दोलन गरेका थिए । चितवनको भरतपुर चौविस कोठीमा किसानले सडकमै अण्डा फालेर विरोध प्रदर्शन गरेका थिए ।

बिचौलिया आफैँले अण्डाको मूल्य घटाएर निर्धारण गरेकाले सडकमा उत्रिएर नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्य समितिको आयोजनामा भएको विरोध कार्यक्रममा १६ पेटी अण्डा बाटोमा फ्याकिएको थियो ।

बिचौलियाले आत्मनिर्भर बन्दै गएका कुखुरापालक किसानलाई पेशाबाट विस्थापित गराउने काम भएको भन्दै विरोधका लागि उनीहरू अण्डा सडकमा फ्याँकेका थिए । यद्यपि, अण्डा व्यापरीहरूको बिचमा अझै विचौलीयाले पकड जमाउन छाडेका छैनन् । अझै किसानहरू मारमा नै छन् ।

घटना ३

गत २०७७ साल भदौ १३ गते भक्तपुरको सूर्य विनायक नगरपालिका ८ सूर्य विनायक चोकमा रहेका डेरी सञ्चालकले दुध बिक्री नभएपछि सडकमा फ्याँकेका थिए ।

निषेधाज्ञामा किसानबाट संकलन गरेको दुध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चालक रहेको डेरीले सडकमा दुध खन्याएकी थिए । उनले किसानबाट संकलन गरेर ल्याएको दुध बिक्री नभएपछि फ्याँकेका हुन् । तर, त्यो दुधको मूल्य उनले पाउन सकेनन् ।

घटना ४

देश कोरोना भाइरस (कोभिड-१९)को पहिलो चरणको महाव्याधीबाट गुज्रिरहेको बेला ०७६ पुस ५ गतेका दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला संसद विघटन गरेका थिए । उनले संविधान मिचेर संसद विघटन गरेको भन्दै विभिन्न राजनैतिक दलहरू एक जुट भएर उनको प्रतिगमनकारी कदमविरुद्ध आन्दोलन गरेका थिए ।

कोरोनाको पहिलो चरणको चपेटाबाट विस्तारै उम्कदै गरेको नेपालमा बढ्दो आन्दोलनकाले नेपालमा दोस्रो चरणको कोभिडले प्रवेश गरेको विभिन्न जन स्वास्थ्यविदले बताउँदै आएका छन् ।

सास्तीपूर्ण विरोध

माथि देखाइएका यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । देशमा भएका आन्दोलन र विरोधहरूले परिवर्तन पक्कै आएको छ । तर, यस्ता धेरै आन्दोलन पनि छन् जसले देशवासीलाई सास्तीसमेत दिएको छ । देशमा यस्ता धेरै आन्दोलनहरू भए, विरोधहरू भए जसका कारण अझै पनि जनताहरू सास्ती भोग्न बाध्य छ ।

संविधानमाथि प्रहार भएको भन्दै ०७७ साल माग २२ गते प्रचण्ड नेपाल समूहले देशभर आम हडतालको घोषणा गरेको थियो । सरकारको विपक्षीका रुपमा रहेका प्रचण्ड नेपाल समूहले घोषणा अनुरुप नै आम हडताल गर्यो । त्यसपछि विभिन्न समयमा आन्दोलनका कार्यक्रम निरन्तर चलिरह्यो ।

अन्ततः अदालतले प्रतिनिधिसभा पुनः स्थापना त भयो । तर, कोभिडको लहर त्यससँगै विस्तारित भएर आयो । योसँगै योबीच मुलुकमा धेरै साना ठूला आन्दोलनहरू भए ।

तत्कालीन प्रधानमान्त्री ओलीको कदमका पक्ष-विपक्षमा उर्लिएको जनसागरले नै कोरोनाले चर्को रुप लिएको विभिन्न स्वास्थ्यविदहरूले जनाएको छ । नेपालमा कोरोना संक्रमितको दर सुन्य स्तरमा पुगेको देखिदैन । तर, देशमा भिडभाड र आन्दोलनसमेत उत्तिकै उच्च बिन्दुमा छ । विश्व कोरोनाको महामारीबाट गुज्रिहरको छ । तर, नेपालको राजधानीको माइती घरमा हरके दिन कुनै न कुनै आन्दोलनका कार्यक्रम नभएको दिन नै भेटिन्न ।

अझै प्रधानमन्त्री ओलीले संस्थागत रुपमै अदालतको पछिल्लो निर्णयको विरोधमा भण्डाफोर अभियान चलाउने बताइसकेका छन् । यसले सानो ठूलो आन्दोलन अझै नरोकिने छनक ओलीले दिइसकेका छन् । कोभिड संक्रमण दरस्थिर रहे पनि मृत्युदर नरोकिरहेको यो अवस्थामा आन्दोलनका नाममा राजनीतिक दलले नै भीडभाड कायम राख्ने कामले कोरोनाको तेस्रो लहर छिट्टै नेपालमा नभित्रेला भन्न सकिन्न ।

राज्यस्तरबाट गर्नु पर्ने खोपको व्यवस्थापन नभइसकेपछि यो अवस्था सिर्जना भएको सहजै नियाल्न सकिन्छ । तर, आफूमाथि भएको अन्यायको विरोध गर्न उतारिने यो आन्दोलनकारीको भीड भाड कतै आफूमाथि नै जोखिम बढाइरहेको त छैन ? यसतर्फ सचेत हुनु पर्ने जन स्वास्थ्यविद्हरुले बताइरहेका छन् ।

सरकारको पक्षमा होस या सरकारको विपक्षमा, जुनसुकै पक्षमा आन्दोलन गरिएता पनि यसले हानी आफैलाई पुर्याउने स्वास्थ्यविदहरूले बताउँदै आएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक अनुप बास्तोलाका अनुसार नेपालमा जसरी दोस्रो चरणको कोरोना प्रवेश गर्यो त्यसैगरी तेस्रो चरणको कोरोनासमेत प्रवेश गर्न जोखिम बढेको छ ।

डा. अनुप बास्तोलाले मेरोन्युजलाई भने, ‘नेपालले पहिलो चरणको कोरोना नियन्त्रण हुँदै गर्दा देशमा धेरै राजनीतिक उथलपुथलहरू भए । जसकारण देशका धेरै जसो स्थानबाट मान्छेहरू ओसारपसार गरेर विरोध प्रर्दशन गर्ने काम भयो । त्यही बेलाको हेल्चेक्रर्याइका कारण दोस्रो चरणको कोरोनाले प्रवेश पाएको हो ।’

उनले विरोध गर्ने काम नराम्रो नभए पनि परिस्थिति हेरेर मात्र विरोधका कार्यक्रम बनाउनु पर्ने बताउँछन् । ‘विरोध गर्नु नराम्रो त होइन तर अवस्था र परिस्थिति अनुकूल भएन, यस्तो अवस्थामा तोकिएको मापदण्डहरू नै कार्यन्वयन गरिएन भने पक्कै पनि संक्रमितको दर बढ्छ नै,’ निर्देशक बास्तोलाले भने, ‘पछिल्लो समय देशमा देखिएको राजनीतिक हलचल र आन्दोलनको यो तीव्रतालाई देख्दा नेपालमा कोरोनाको अर्काे लहर आउदैन भन्न सकिन्न ।’

‘अहिले कोरोना सकिएको छैन । केही घटेको मात्रै हो, अहिले पनि टेकुमा दिनहुँ आइसियु र अस्पतालमा संक्रमितहरू आउने क्रम जारी नै छ । सुन्यस्तरमा पुगेता पनि स्वास्थ्य मापदण्डहरू अपनाइएन भने पक्कै पनि नेपाल कोरोनाको तेस्रो चरणमा प्रवेश गर्ने देखिन्छ,’ निर्देशक बस्तोलाले बताए ।

विरोधले के पाइयो ?

किसानले आफूले उत्पादन गरेका उब्जनीको उचित मूल्य पाएनन्, – आन्दोलन, व्यापारीले उचित मुल्य पाएनन्,– आन्दोलन । कुनै न कुनै पक्षबाट चेपमा परेका किसानहरूको समस्या अझै उकासिएको पाइदैन । कृषक समुहहरू र किसानहरूको बढ्दो आन्दोलन कार्यक्रमहरूले के पाइयो ? यो विषयमा कृषक अझै अन्योलमै छन् ।

गत २०७३ मंसिर २४ गते बानेश्वरमा नागरिक लगानी कोषविरुद्ध आन्दोलन गर्दै तरकारी फ्याँकेर आन्दोलन गर्ने कृषकहरूले अझैसम्म क्षतिपूर्ति नपाएको नेपाल कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।

कृषक समूह महासंघका अध्यक्ष बस्नेतले भने, ‘देशको अवस्था र यसले कृषकमाथि गरेको वेवास्ताका कारण कृषक साथीहरू सडकमा उर्तिनु भएको हो । तर, यति गर्दासमेत उपलब्धि सुन्य स्तरको छ ।’ बस्नेतले कृषकहरूको गुनासोको कुनै सुनुवाई नभएको बताए ।

मन लागेर सडकमा दुध पोख्न, सडकमा तरकारी फ्याँक्न त अगाडि सरेका हैनौ । तर, के गर्नु आफूसँग जे छ त्यही नै अगाडि सार्ने हो । सरकारको ध्यानकार्षण गराउनका लागि नै बाध्यतावस सडकमा मिहेनत खेर फाल्नु परेको छ । हामीलाई रहरले कहाँ फाल्ने इच्छा हुन्छ र ?’ बस्नेतले भने ।

‘न त सरोकारवालाले हाम्रो दुःख बुझ्छ न त फ्याँकिएका सामग्रीहरू फिर्ता नै आउछ । यो अवस्था देखेर किसानहरु आजित नभएका हैनन्, तर देशको अवस्थालाई बुझेर नै किसानहरू अझै पनि संघर्ष नै गरिराखेका छन्,’ अध्यक्ष बस्नेतले थपे, ‘कति दुध फालिए, कति तरकारीहरु सडकमा फालियो ?, कति किसानहरूले आफ्नो मिहेनत खेर फाल्नु पयो ? यी प्रश्नहरूको लेखाजोखा सरकारसँग छैन,’ बस्नेतले भने ।

किसानहरू यतिधेरै आजित भएको भन्नु हुन्छ । सरोकारवालाले ध्यान दिएन पनि भन्नुहुन्छ । अझै पनि ध्यानदिने छाटकाट देखिदैन । अब पनि सडकमै मिहेनत फ्याँकेर आन्दोलन गर्नुहुन्छ ? भन्ने मेरो न्युजको प्रश्नमा अध्यक्ष बस्नेतले भने, ‘किसानसँग जे छ त्यही देखाउने हो । किसानसँग यसको अलावा अन्य कुनै स्रोत र साधन छैन । सरोकारवालाले ध्यान नदिएसम्म किसान सडकमा नै आउछन् । यसले केही उपलब्धि हुँदैन भन्ने थाहा छ । तर, यसको विकल्प पनि छैन ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया