शनिबार, वैशाख १५, २०८१

दुई हप्तादेखि हराएकी सापकोटा नदी किनारतर्फ जाँदै, सिसिटिभीले देखायो फुटेज

मेरोन्यूज २०७८ साउन १ गते १३:३५

काठमाडौँ । गत असार १४ गतेदेखि हराएकी विना सापकोटा नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभीमा देखिएको छ । नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा सापकोटालाई नदी किनारतर्फ जाँदै गरेको भेटिएको हो ।

उनलाई राति ८ बजेर ४१ मिनेटमा नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । असार १४ गते नवलपुरको गैँडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन् ।

बाबु जयश्वरले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले उनी सिसिटिभी क्यामेरामा कैद भएका जानकारी दिए । प्रहरीको अनुसन्धानले उनले नारायणगढको लिलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग कुराकानीसमेत गरेकी थिइन् ।

सापकोटाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फुटेको अवस्थामा भेटेको छ । मोबाइलविहीन बनेकी उनले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया