बिहीबार, वैशाख १३, २०८१

चिराइतोको मूल्य बढ्दा किसान खुसी

मेरोन्यूज २०७८ साउन १ गते ६:४३

ताप्लेजुङ । पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल १५ हजारका दरले कारोबार भइरहेको छ ।

झापाको बिर्तामोडमा भने प्रतिमन २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन १३ हजारमा कारोबार भइरहेको थियो । पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन २० हजार पुगेको हो ।

“एक साता अघिसम्म यहाँ प्रतिमन आठ हजारमा किनबेच भइरहेको थियो, अहिले १५ हजार पुगेको छ, झापामा २० हजार छ”, व्यवसायी सबिन बानियाँले भने । पछिल्लो सिजनमा उत्पादन न्यून रहेको र हाल भारतलगायतका ठाउँबाट यसको माग बढेकाले मूल्य पनि बढेको हुन सक्ने बानियाँले बताए ।

पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ । एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो । तर कोभिड–१९ का कारण एक वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायतका सामानको निकासी पनि ठप्प बनेको छ ।

हिमाली तथा पहाडी जिल्लामा अलैँची पछिको दोस्रो नगदेबालीका रूपमा लिइने चिराइतोको मूल्य न्यून हुँदा यसमा संलग्न किसान चिन्तित बनेका थिए । तर मूल्यमा सुधार आएसँगै मूल्य पर्खिएर बसेका किसानमा भने उत्साह छाएको छ ।

जिल्लाका प्राय किसानले यसअघि नै बिक्री गरे पनि केहीले भने मूल्य बढ्ने आशाले गोदाममै थन्क्याएर राखेका छन् । मूल्य बढेसँगै उनीहरुले पनि बिक्री गर्ने तयारी थालेका छन् ।

चार वर्षअघि चिराइतोको मूल्य प्रतिमन ३० हजारसम्ममा कारोबार भएको थियो तर क्रमशः मूल्य घट्दै गएर आठ हजारमा झरेको थियो । लामो समयसम्म न्यून मूल्य कायम रहँदा चिराइतो खेती गर्ने किसानलाई समस्या थियो ।

कम मूल्य हुँदा चिराइतो खेती गर्ने क्रमसमेत घट्दै गएकाले पछिल्लो समय यसको उत्पादनमा पनि कमी देखिन थालेको व्यवसायीले बताएका छन् । यसरी मूल्य घटेकै समयमा उत्पादन पनि घटेको र माग बढ्दै जाँदा फेरि मूल्य पनि बढेको व्यवसायीको अनुमान छ ।

ताप्लेजुङका साविकका गाविसहरु सुरुम्खिम, खेवाङ, मामांखे, याम्फुदिन र फक्ताङलुङका केही स्थानलगायतका किसानले चिराइतो खेती गर्दै आएका छन् ।

पाखाबारी र अन्य खेती गर्न नसकिने जङ्गल फाँडेर किसानले चिराइतो खेती गर्दै आएका हुन् । प्रमुख नगदे बालीका रूपमा अलैंची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भने जस्तो मूल्य नपाउँदा किसानमा उत्साह छैन ।

अलैंचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । कहिले भाउ बढ्ने कहिले ह्वात्तै घट्ने भएकाले ठुलो लगानीका साथ खेती गर्ने वातावरण बन्न नसकेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया