शनिबार, वैशाख १५, २०८१

कांग्रेस महाधिवेशन नजिकै गर्दा क्रियाशील सदस्यता वितरण झनै जटिल बन्दै

मेरोन्यूज २०७८ असार ३१ गते १८:०९


काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिेवेशनको मिति नजिकिँदै छ । तर क्रियाशील सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।
क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेको ५ दिन भयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारा र धनुषाका नेता कार्यकर्ताहरू संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका हुन् ।
उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको दाबीसहित निर्णय सच्याउन माग गरेका छन् ।
क्रियाशिल सदस्यतालाई नेपाली कांग्रेसको मेरुदण्ड मानिन्छ । केन्द्रीय क्रियाशिल सदस्यता छानबिन समितिले असार महिनामा क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या निरूपण गरी अन्तिम टुङ्गो लगाउने बताएको थियो । तर अधिकांश जिल्लामा क्रियाशील सदस्यता वितरण सम्बन्धमा विवाद चुलिँदै गएको छ । दैनिकजसो पार्टी कार्यालयमा धर्ना बस्ने कार्यकर्ता बढ्दै जानुले विवाद समाधान भन्दा पनि जटिल बन्दै गएको पुष्टि गरेको छ ।

नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताका अनुसार आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशील सदस्यता थप्ने काम छ ।

धनुषाका पूर्व सांसद डाक्टर चन्द्र मोहन यादव लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अस्था आएको छ ।
धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढङ्गले नयाँ क्रियाशील सदस्यता थप्ने काम भएको उनले बताए । कांग्रेसको क्रियाशील सदस्य संमायोजनको समस्या समाधान गर्ने आज अन्तिम दिन हो । केन्द्रिय क्रियाशील छानबिन समितीका एक सदस्यका अनुसार अझै ३४ जिल्लाको समस्या समाधान भएको छैन । कांग्रेसको वडा माधिवेशन साउन १२ गतेबाट हुदैछ । भने केन्द्रिय महाधिेवेशन भदौं १६ गतेदेखि १९ गते काठमाडौं हुने तयारी छ ।

प्रतिक्रिया