शुक्रबार, वैशाख ७, २०८१

किन बढ्दै छ महिला हत्या ?

पछिल्लो ३ वर्षमा ६ हजार भन्दा बढि महिलाको हत्या

दया दुदराज २०७८ असार ३१ गते १३:०९

घटना–१
गत असार २ गते देखि हराईरहेकी डडेलधुराको परशुराम नगरपालिका ८ स्थित जमारानी आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत २८ वर्षीय अस्मिता देवी धामीको शव प्रहरीले असार ६ गते मृत अवस्थामा फेला पा¥यो ।

शवको पोष्टमार्टम रिर्पोटमा धामीको हत्या गरिएको पुष्टि भयो तर उनको हत्यामा संलग्न अभियुक्तहरुको भने कुनै टुंगो छैन । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता प्रहरी निरिक्षक (ईन्सपेक्टर) राजेन्द्र बहादुर चन्दका अनुसार उनको हत्या भएको हो ।

धामीलाई २ गते नै हत्या गरिएको र ६ गते मात्रै शव फेला पारेको प्रवक्ता चन्दले जानकारी दिए । प्रहरीले केही व्यक्तिहरुलाई शंकाको घेरामा राखेर निगरानी गरीरहेको र उनिहरु विरुद्ध प्रमाण पेस गरेको छ । यद्यपि घटनाको महिनौ दिनपुग्न लाग्दा समेत प्रहरीले अभियुक्तको टुंगो लगाउन सकेको छैन ।

घटना–२
जेठ २० देखि वेपत्ता रहेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुर २७ असारमा मृत फेला परिन् । उनलाई प्रहरीले शौचालयको सेफ्टी ट्यांकीभित्र गाडेर डलान गरि राखिएको अवस्थामा फेला पारेको हो ।

सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायवउपरिक्षक (डिएसपी) प्रकाश विष्टले मेरोन्युजलाई जानकारी दिए ।

प्रहरीले ठाकुरको हत्या भएको पुष्टि गरेको छ । उनलाई हत्या गरेर शव लुकाउनको लागि सेफ्टिट्यांकीको जगमा पुरेर ढलान गरेर काठले शव लुकाउन खोजिएको अवस्थामा शव फेला परेको थियो । अवैध सम्बन्धको आशंकाले सुजिताको अप्रिय घटना घटेको हुन सक्ने भन्दै प्रहरीले उनको श्रीमान सहित ५ जनालाई पक्राउ गरेको छ । यस घटनाको विषयमा प्रहरीले अनुसन्धानको दायरा बढाएको छ ।

घटना–३
गत असार ११ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर निस्केकीखचितवन राप्तीनगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी नौ दिनपछि मृत फेला परेकी थिईन् । आइतबार साँझ राप्तीनगर पालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा मृत भेटिएकी सुजिताको अपहरणपछि हत्या भएको बताइएको छ । यद्यपि घटना अझैपनि अन्योलमै रहेको प्रहरी अधिकारीहरुले जनाउदै आएका छन् ।

११ असारको बिहानै ६ बजे साथीको घरबाट तरकारी लिन भनी निस्किएकी भण्डारी उतैबाट सम्पर्कविहीन भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । आइतबार उनको शव जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्न लागेको अवस्थामा फेला परेको थियो । शवको पहिचान भण्डारीकै आफन्तले गरेका हुन् ।

प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो । तर, कुकुरले कुनै नयाँ क्लु भने फेला पार्न सकेन । घटनाबारे अनुसन्धान गर्न चितवन प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । प्रहरीले प्रेस सम्मेलन गर्दै अनुसन्धानमा अभियान्ता र युट्युबरहरुले दख्खल दिएको समेत बताएका छन् ।

घटना–४
गत सोमबार विहान अन्दाजी साढे १० बजे उच्चअदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी महिला मृत अवस्थामा फेला परिन् । अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी निरौला (पराजुली) को शव कार्यालयको पछाडि पट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे फेला परेको थियो ।

उनको हत्या आरोपमा नेपाल प्रहरीका असई युवराज बानियाँलाई जिल्ला प्रहरी कार्यालय ईलामले मंगलबार नै पक्राउ गरेको छ । त्यही अदालतमा मुख्यन्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो । घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

सोधपुछ पछि प्रहरीले सोमबार बिहान १० बजेतिरै आरोपीलाई पक्राउ गरेको थियो । दुवैजनाको फोन कल डिटेल र फेसबुकको कुराकानीका आधारमा बानियाँ पक्राउ परे पनि मंगलबार मात्र सार्वजनिक गरिएको हो ।

कति महिलाको हत्या ?
यी सबै पछिल्लो समय देखिएका केही प्रमुख प्रतिनिधि घटनाहरु हुन् । प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ३ वर्षमा ६ हजार १ सय ३८ जना महिलाको हत्या भएको छ । ६ सय १५ जनाको कर्तब्य, २ हजार ३ सय ७९ जनाको भवितव्य र ८ सय ८८ जनाको फुटकर गरी जम्मा ६ हजार १ सय ३८ जना महिलाहरुको हत्या गरिएको प्रहरी प्रवक्ता वसन्त कुँवरले मेरोन्युजलाई जानकारी दिए ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा १४ सय १५ जना, आर्थिक वर्ष ०७६/०७७ मा १२ सय ६० र आर्थिक वर्ष ०७७/०७८ को जेठसम्म ३ हजार ४ सय ६३ जना महिलाको हन्या भएको छ ।

यो ३ वर्षको अवधीमा २६ हजार २ सय ४२ जना व्यक्तिहरुको हत्या भएको थियो । जसमध्ये ६ हजार १ सय ३८ जना महिला छन् ।

बढ्दो घटनादर
पछिल्लो ३ वर्षको तथ्याङ्कलाई नियाल्दा यो हत्यादर सामान्य स्तरको नभएको पुर्व प्रहरीहरुले बताएका छन् । पछिल्लो समय हत्याका घटना मात्र नभई आत्महत्या, बलात्कार जस्ता क्रुर अपराधका घट्ना बढ्दो क्रममा देखिन्छ । प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई कानुनी दायरामा ल्याएतापनि घटनाको क्रम भने रोकिएको छैन । न्यायिकप्रवृत्ति नै फितलो भएर हो या अनुसन्धानमा कमजोरी भएर हो ? हत्यादर उत्तिकै बढ्दो नै देखिन्छ ।

नैतिक शिक्षाको अभावले हत्यादर बढ्यो
‘हत्या बढ्यो तर किन बढ्यो ? भन्ने विषयलाई मनन गर्नु आवस्यक छ । हत्याका घटनाहरु यसरी बढ्नुमा केही कारणहरु छन् । पछिल्लो तथ्याङ्कलाई नियाल्दा हत्याका घटनाहरु उच्चविन्दुमा पुगेको देखिन्छ ।’ नेपाल प्रहरीका पुर्व डिआईजी हेमन्त मल्लले मेरोन्युजलाई भने ।
पुर्व डिआईजी मल्लले हत्याका घटनाहरु बढ्नुमा केही शीर्ष कारणहरुलाई देखाएका छन् । उनले राजनीतिक अवस्था, असन्तुष्टि, डिप्रेसन, द्धन्द्ध, सहनशिलताको अभाव र नैतिक शिक्षाको अभाव जस्ता केही कारणहरु देखाएका छन् । यसका अलावा धेरै कारणहरु समेत छन् । उनले भने, ‘राजनितिले राज्यको सबै खाले काम र कारवाहीहरु सञ्चालन गर्दछ जस्ले समाजको आर्थिक पक्ष र समाजिक पक्षदेखि विभिन्न पक्षहरुको रेखदेख गरेको हुन्छ । यसले पनि असर गरेको हुन्छ । यो भन्दा अघिका समयहरुमा समेत मारपिट, झैझगडा जस्ता घटनाहरु नघटेको होईन, बाबुले छोरालाई कुटेकै हुन्थ्यो, छोरा र बाबुबिच झैझगडा भएकै हुन्थ्यो । यस्ता धेरै द्धन्द्धहरु पनिहुने गर्ने तर पछिल्लो समय यसका घटनाहरुले सिधाहत्याको खुंखार रुप लिनथालेको देखिन्छ त्यसको कारण नै सहनशिलताको अभावहो ।’

मान्छेमा असन्तुष्टि बढ्दै गएको कारणले समेत हत्यादर घट्न नसकेको पुर्वडिआईजीमल्लले बताए । ‘मान्छेहरु अवसर र अधिकारका कुराहरु गर्दा समेत हत्या दर बढेको छ । आफ्नो हकहित र अधिकारको पक्षमा वकालत गर्नु गलत कुरो त होईन तर अधिकारकै लागि कसैको बाच्न पाउँने अधिकार लुट्ने कुरा भने गलत हो । असन्तुष्टि पनि हत्याका प्रमुख कारण मध्यकै एक कारण हो ।’ मल्लले भने ।

नैतिक शिक्षाको अभावले समेत अपराधका घटनाहरुमा वृद्धि भएको मल्लले बताए । उनले भने, ‘नैतिक शिक्षाले आफुले वहन गर्नुपर्ने सामाजिक, पारिवारीक वा व्यक्तिगत दायित्व सिकाउछ । यदि आधार सम्मान र आफ्नो दायित्वहरु नै विर्सिएपछि हत्याका घटनाहरु बढेको छ । मानिसहरु अधिकारका लागि हत्या गर्न तयार हुन्छन् तर आफ्नो दायित्व निवार्ह गर्न भने सक्दैनन् ।’ मल्लले थपे ‘यो त देखेका, भोगेको घटनाहरुले गर्दा देखिएका कारणहरु हुन् यसका अलावा धेरै कारणहरु पनि हुन सक्छन् जुन अझै पनि पत्ता लागेका छैनन् ।’

बदलाका भावनाले हत्या बढ्योः मनोविश्लेषक
सामान्तया हत्याका कारणहरु धेरै नै हुन्छन् । विभिन्न पक्षबाट नियाल्दा यसको फरक फरक कारणहरु देखिन्छन् । प्रहरीको अनुसन्धानले र मनोविद्ले बुझ्ने कारणहरु फरक फरक हुन्छ । यीदुवै पक्षले देखाएको कारणहरु पनि फरक फरक नै पाईन्छ । मनोविश्लेषक प्रज्ञा श्रेष्ठले मेरोन्युजसँग भनिन् ‘आफ्नो रिसलाई बसमा राख्न नसकेको कारणले गर्दा हत्याका घटनाहरु बढेको छ । व्यक्तिगत रिस राग र ईष्र्याका कारणले द्धन्द्ध हुन्छ उक्त द्धन्द्धमा आफु भित्रको रिसलाई लुकाउन वा बसमा राख्न नसक्दा यस्ता हत्याका घटनाहरु उच्चविन्दुमा पुगेको छ । मानवताभित्रको रिस गतल ठाउँमा पोखिन पुग्दा हत्या हुन पुग्छ । कतिपय हत्याहरु योजनावद्ध हुन्छन् भने कतिपय हत्याहरु नसोचेको तवरले भैदिन्छ जसको प्रमख कारण रिसलाई सम्हाल्न नसक्नु हो ।’

हत्याका घटनालाई कसरी नियन्त्रण गर्ने ?
हत्या वृद्धिदर भएसँगै यसको निर्मुलीकरणका उपायहरु समेत हुन्छन् । हत्याका घटनाहरु पुर्णतः सुन्यस्तरमा पुर्याउन नसकेपनि केहीहद सम्म भने पक्कै पनि नियन्त्रणमा ल्याउन सकिने पुर्व डिआईजी मल्ल बताउछन् । ‘देशमा यो प्रकारको घटनाक्रमहरुलाई नियाल्दा कारणहरु त प्रसस्तै देखिन्छ तर यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरालाई वहसमा ल्याउनु आवश्यक छ, यदि यो वृद्धिदरलाई नियाल्ने हो भने दयानिय अवस्था नै हो । कानुन र प्रहरीको अनुसन्धानले मात्र यसको निर्मुलीकरण हुन सक्दैन’ मल्लले भने ।

प्रायः कुनै पनि व्यक्तिको लागि सरक्षीत स्थान भनेको आफ्नो घर नै हो तर याहाँ त घरभित्रै आफ्नो बाबुले छोरालाई र छोराले बाबुको हत्या गरेको देखिन्छ । सुरक्षित स्थानमै यसरी असुरक्षित बस्नु परेको छ भने त कसरी निर्मुलीकरण हुन सक्छ ? गम्भिर प्रश्न उठ्छ । जुनसुकै हत्याका घटनाहरु प्रत्यक्ष समाज, व्यत्तित्व, परिवार र राज्यसँग जोडिने हुँदा राज्यपक्षले कम्तिमा पनि एउटा हत्याको घटनालाई लिएर गहन रुपमा विभिन्न विज्ञ टोली परिचालन गरेर अध्ययन गर्नु आवश्यक छ । जसले गर्दा हत्याका प्रमुख कारण वा ठोस कारण पत्ता लगाउन सकिन्छ । यदी प्रहरीले हत्याका कुनै शिर्ष घटनाहरुलाई आत्मसाथ गर्दै कुनै विज्ञ टोली परिचालन गरेर हत्याका कारण पत्ता लगाउन सक्यो भने पक्कैपनि हत्याका घटनाहरु नियन्त्रण गर्ने उपाय निस्कन्छ ।’ मल्लले भने ।

कानुन नै फितलो भएर हो की हत्या बढेको भन्ने मेरो न्युजको प्रश्नमा मल्लले भने, ‘कानुन बलियो भएर अपराध नियन्त्रण हुने भए अमेरीका जस्तो ठाउँमा अपराध किन घटेन ? सिंगापुरमा अपराध हुँदैन ? मृत्युदण्डका सजायहरु दिने देशहहरुमा अपराध हुदैन ?, कानुन बलियो भयो भन्दैमा अपराध नियन्त्रण हुन्छ भन्ने गलत साँेच हो । तर अपराध नियन्त्रणको एउटा पुल चही हो । तर कानुनले नै सबै अपराध घटाउछ भन्ने होईन ।’ सरकार पक्ष सामाजिक पक्ष र विभिन्न निकायको विज्ञ टोली खटाएर अपराधका ठोस कारण निकाल्ने र यसको नियन्त्रणको पाटो खोज्ने हो भने केही हद सम्म पक्कै पनि नियन्त्रण हुने पुर्व डिआईजी मल्लले जानकारी दिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया