शुक्रबार, वैशाख १४, २०८१

देउवा-प्रचण्डः यस्ताे छ ‘हेट एण्ड लभ’को सम्बन्ध

रामकृष्ण अधिकारी २०७८ असार ३० गते १९:२६

२०७४ असोज अगाडिसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै सत्ता सहयात्रामा थिए । ‘आलोपालो’ प्रधानमन्त्री बन्दै सत्ता सहयात्रा गरेका यी दुई नेताका बीचमा एकाएक सहकार्य टुट्यो । माओवादी केन्द्रले सत्ता सहयात्री दललाई पत्तोसम्म नदिई आफैले १८ महिनाअगाडि अविश्वास प्रस्ताव राखेर सत्ताबाट फालेको एमाले अध्यक्ष केपी ओलीसँग चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको ‘मोडेल’मा सहमति गर्न पुग्यो ।

त्यसपछि त सबैभन्दा बढी सभापति शेरबहादुर देउवा प्रचण्डसँग रिसाए । त्यो स्वभाविक पनि थियो । सत्ता सहयात्रा गरिरहेको आफ्नै सहयात्री विपक्षीसँग मिलेर चुनावी मोर्चा बनाउने गरी धेरै अगाडि बढिसकेको थियो । त्यसमाथि कतिपय स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई साथ दिएको आरोप पार्टीभित्रै खेप्दासमेत प्रचण्डलाई देउवाले साथ दिएका थिए । त्यसपछि त देउवाकै नेतृत्वमा प्रदेश तथा केन्द्रको चुनाव भयो । कांग्रेस नराम्ररी खुम्चिन पुग्यो । एमाले-माओवादी गठबन्धनको प्रष्टै बहुमत अर्थात ६३ दशमलव २७ प्रतिशत प्रतिनिधिसभामा स्थान सुरक्षित बन्यो ।

चुनावी परिणामपछि देउवाले प्रचण्डलाई फकाउन निक्कै कोशिस गरे । एमालेलाई बाहिरै राखेर प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिएर वाम गठबन्धन भत्काउन देउवाले कोशिस नगरेका होइनन् । त्यसबेला प्रचण्डले मानेनन् । ओलीसँगै प्रचण्डले आधा-आधा कार्यकाल ‘प्रधानमन्त्री’ र जोर पाइलट बनेर एउटै पार्टी हाक्ने नीति लिए । तर ओली-प्रचण्ड सहमति टिकेन ।

देउवा प्रधानमन्त्री भएकै बेला माओवादीले संयुक्त जनमोर्चाको नाममा देउवालाई ४० शुत्रीय माग पेश गरेर ‘जनयुद्ध’ शुरु गरेको थियो । पछि देउवाले नै प्रचण्डदेखि माओवादी नेताहरूलाई ‘आतंककारी’सम्मको घोषणा गरी टाउकोको मूल्य तोकेका थिए ।

एमाले-माओवादी एकता त भयो, तर त्यो तीन वर्षमै भताभुङ्ग भइदियो । अहिले परिस्थिति फेरिएको छ । प्रचण्डलाई पहिले ५ वर्ष प्रधानमन्त्री बनिदेउ भनेका देउवालाई नै उल्टो प्रचण्डले अहिले सिंहदरबारको शासन सत्तामा ‘डाडुपन्यू’ चलाउने अवस्थामा पुर्याएका छन् ।

देउवा-प्रचण्ड पहिलो भेट

पङ्क्तिकारसँग प्रचण्डले भने अनुसार, देउवासँग उनको पहिलो भेट विं.सं. २०४८ सालको आम निर्वाचनको समयमा भएको हो । ‘२०४८ सालको आम निर्वाचनका क्रममा संसद उपयोग गर्ने हाम्रो पार्टी (तत्कालीन नेकपा एकता केन्द्र)को नीति थियो । त्यही बेला शेरबहादुर देउवाजीसँग सायद मेरो पहिलो भेट भएको हुनुपर्छ,’ प्रचण्डले भनेका थिए । त्यसपछि भने देउवा-प्रचण्ड कुनै न कुनै रुपमा प्रत्यक्ष/अप्रत्यक्ष छलफल हुँदै आएको छ ।

द्वन्द्व कालमा भने प्रत्यक्ष भेटवार्ता यी दुई नेताको हुन पाएन । त्यसको आफ्नै कारण थियो । देउवा प्रधानमन्त्री भएकै बेला माओवादीले संयुक्त जनमोर्चाको नाममा देउवालाई ४० शुत्रीय माग पेश गरेर ‘जनयुद्ध’ शुरु गरेको थियो । पछि देउवाले नै प्रचण्डदेखि माओवादी नेताहरूलाई ‘आतंककारी’सम्मको घोषणा गरी टाउकोको मूल्य तोकेका थिए । सोही कारणले एकदम तिक्त सम्बन्ध थियो प्रचण्ड-देउवाका वीचमा ।

तर, देउवासँग द्वन्द्व कालमै एकपटक टेलिफोन संवाद भएको प्रचण्ड स्मरण गर्छन् । ‘एकपटक द्वन्द्व कालमै उहाँ (देउवा)सँग टेलिफोनमा कुराकानी भएको थियो । त्यसबाहेक प्रत्यक्ष भेट त्यो बेला भएन । म दाङमा थिएँ, उहाँ (देउवा) प्रधानमन्त्री हुनु हुन्थ्यो, दाङबाट उहाँसँग मैले त्यतिबेला फोनमा कुरा गरेको थिएँ,’ प्रचण्डले त्यसबेलाको स्मरण गर्दै पङ्क्तिकारसँगको कुराकानीमा भने, ‘देउवाजीसँग त्यो बेला अलि बढी शान्ति प्रक्रियामा आउने सन्दर्भमा कुरा भएको थियो, शान्ति प्रक्रियाको वातावरण बनाउने विषयमा कुरा भयो । त्यो कुराकानीले नै उहाँसँगको सम्बन्धमा आइसब्रेक ल्याएको थियो ।’

त्यसपछि नै हो- देउवाले प्रचण्ड नेपालको एउटा बहादुर नेता हो भनेर बाहिर सार्वजनिक रुपमा नै बोलेका । अनि, देउवा पनि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु पर्ने र शान्ति सम्झौता गर्नु पर्ने पक्षमा लविङमा लागेका थिए ।

त्यस बेला गृहमन्त्री खुमबहादुर खड्का र गृह राज्यमन्त्री थिए देवेन्द्रराज कँडेल । कँडेलले ‘माओवादी नेताको टाउको झोलामा ल्याउँ, त्यही झोलाभरी पैसा बोकेर जाऊ’ भनेर एकदम ‘विवादास्पद’ अभिव्यक्ति दिएका थिए ।

देउवाले युद्धकालमा भेटेको माओवादीका उपल्लो स्तरका नेता भनेको कृष्णबहादुर महरा हुन् । त्यसभन्दा माथिल्लो नेतालाई उनले प्रत्यक्ष भेट्न भने पाएका थिएनन् । त्यो पनि माओवादीले वार्ता टोली बनाएर महरासहितका नेतालाई पठाएपछि । २०५८ सालमा सरकार-माओवादीबीच चलेको पहिलो वार्तामा प्रचण्डले महराको नेतृत्वको वार्ता टोली बनाएर पठाएका थिए ।

देउवासँग माओवादीको उच्च स्तरीय नेतृत्वले भेटेको त्यही बेला पहिलो हो । त्यही बेलादेखि माओवादी नेतृत्वले देउवासँग आवश्यकताका आधारमा क्रमशः सम्बन्ध र भेटघाट स्थापित गर्दै लगे । महरा भन्छन्, ‘सम्बन्ध राजनीतिक उद्देश्यका कारण बन्छन्, व्यक्तिगत सम्बन्ध पनि हुन्छन् । राजनीतिक सम्बन्ध भइराख्ने भन्ने हुँदैन । राजनीतिक उतारचढावसँगै सम्बन्धमा पनि उतारचढाव भइराख्छ । देउवासँग पनि त्यस्तै खालको सम्बन्ध थियो ।’

युद्ध कालका तिता सम्बन्ध

त्यस बेला गृहमन्त्री खुमबहादुर खड्का र गृह राज्यमन्त्री थिए देवेन्द्रराज कँडेल । कँडेलले ‘माओवादी नेताको टाउको झोलामा ल्याउँ, त्यही झोलाभरी पैसा बोकेर जाऊ’ भनेर एकदम ‘विवादास्पद’ अभिव्यक्ति दिएका थिए । त्यसपछि त देउवालाई एम्बुस थाप्ने र गृहराज्यमन्त्री कँडेललाई गोली हान्नेसम्मको काम माओवादीले गरेको थियो ।

देउवा सरकारबाट त त्यसको केही समयपछि हटे । तर, उनलाई र कँडेललाई माओवादीले तारो बनाउन छोडेन । कैलालीमा माओवादीले देउवाको गाडीमा एम्बुस राख्यो । तर, देउवालाई केही भएन । उनी बालबाल बाँचे । डोटीबाट फर्किंदै गर्दा देउवाको गाडीलाई लक्षित गरी एम्बुस थापिएको थियो ।

कँडेललाई भने ललितपुर कुसुन्तीमा १२ भदौ २०६० मा माओवादीका कार्यकर्ताले गोली प्रहार गरेका थिए । ६ वटा गोली लागेर पनि उनी बाँच्न सफल भए । ढाड, पाखुरा, काखीमा गोली लागेर बाँचेका कँडेल अहिले पनि काखीमा एउटा गोली बोकेरै हिँडिरहेका छन् । यतिसम्म तिक्तता सम्बन्ध थियो, देउवा-प्रचण्डका बीचमा । ‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैनन्’ भन्ने यी दुई नेताको त्यो बेलाको तिक्तता सम्बन्ध र त्यसपछिका ‘हट एण्ड लभ’का सम्बन्धले पुष्टि गरिरहेको छ ।

माओवादी शान्ति प्रक्रियामा आएर प्रचण्ड-बाबुराम-मोहन वैद्यहरूसमेत सार्वजनिक भएपछि भने देउवाको प्रचण्डसँगै बेलाबेला भेट हुन थाल्यो । त्यसबेला देउवा कांग्रेसको पार्टी नेतृत्वमा थिएनन् । मुद्दाका आधारमा, आवश्यकतामा आधारमा देउवा-प्रचण्ड सामान्य भेटघाट चलिरहन्थ्यो । जब देउवा कांग्रेसको नेतृत्वमा आए, त्यसपछि यी दुई नेताबीचमा बाक्लो भेट वार्ता हुन थालेको हो ।

देउवा निवासमा प्रचण्डको ‘डिनर’ !

देउवा आफ्ना कुरा छोटोमा भूमिका नबाँधी सिधा राख्छन् । तर, प्रचण्डमा त्यो खालको स्वभाव छैन । प्रचण्ड फेहरिस्त पृष्ठभूमि राखेर मात्र आफ्नो कुरा राख्ने नेता हुन् । त्यसकारण यी दुई नेताले जतिसुकै गम्भिर विषयमा कुराकानी गरे पनि संवाद लामो हुँदैन । धेरै जसो भेटघाट १५–२० मिनेटमै सकिहाल्छन् ।

तर, दुवै नेताका बीचमा देउवा पार्टी नेतृत्वमा आएपछि बेला-बेला पारिवारिक भेटघाट पनि नभएको होइन । देउवा कहाँ प्रचण्ड डिनरका लागि बेला-बेला सम्बन्ध सुध्रिएको र सत्ता सहकार्य भएको बेला पहिला पुगिरहन्थे । त्यो केही वर्षयता टुटेको छ । प्रचण्डका छोरा प्रकाशको निधन र पत्नी सीता विरामी भएपछि प्रचण्ड देउवा कहाँ गएर पारिवारिक रुपमा डिनर गरेका छैनन् ।

एमाले–माओवादी एकता आपसी शक्ति संर्घषले धेरै टिकेन । प्रचण्डलाई ‘ओलीटिक्स’ पचेन । ओलीलाई पनि प्रचण्ड सबैभन्दा बढी ‘टाउको दुखाईको पात्र’ बन्न पुगे ।

नत्र पहिलेका सहकार्यमा यस्तो पारिवारिक जमघट र डिनर पार्टी बेला-बेला देउवाको निवास बूढानीलकण्ठमा चलिरहन्थ्यो । प्रचण्ड कहाँ भने देउवा एकपटक मात्र खाना खान पुगेका छन् । तर, त्यसबेला यस्ता डिनर देउवाकै निवासमा अधिक हुने गर्दथ्यो । ‘देउवासँग राजनीतिक विषयमा मात्र होइन, पारिवारिक सम्बन्ध पनि छ । विगत सम्झने हो भने हाम्रो परिवारका बीचमा आपसमा भेटघाट गर्ने, सँगै खाना खाने क्रम पनि हुन्थ्यो,’ प्रचण्ड सम्झन्छन्, ‘परिवारका सदस्यसँगको भेटघाटपछि उहाँसँग खुलेर कुराकानी गर्न सकिने, उहाँले हामीसँग कुराकानी गर्न सक्ने वातावरण बन्यो, त्यसले बेलाबेला समझदारी बनाउन मद्दत पुगेजस्तो मलाई लाग्छ ।’

ओलीले फर्काइदिएको नयाँ सम्बन्ध

एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण देउवा-प्रचण्ड बीच नयाँ सम्बन्ध स्थापित गरिदिएको छ । एमालेसँगै सत्ता सहकार्य गरेर ओलीलाई प्रधानमन्त्री बनाउन २०७२ को संविधान जारी भएपछि काँध थापेका प्रचण्डले एकाएक ओलीलाइ थापेको काँध फेर्ने रणनीति लियो । ओलीले सहमति तोडेको र एकलौटी गरेको आरोपमा प्रचण्डले काँध फेर्ने नीति लिएका थिए ।

माओवादी केन्द्रले साथ छोड्दै ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएको थियो । त्यसपछि ओली सरकार ढल्यो । प्रचण्ड र देउवा ‘आलोपालो’ सरकार चलाउने समझदारी गर्न पुगे । देउवाको सहयोगमा प्रचण्ड र प्रचण्डको सहयोगमा देउवा प्रधानमन्त्री बने । स्थानीय, प्रदेश र केन्द्रीय चुनाव भयो । तर, चुनावकै सम्मुखमा प्रचण्डले ओलीसँग संवाद बढाए । चुनावमा वाम गठबन्धन गर्ने र पार्टीसमेत एकता गर्ने गरी नयाँ मोर्चाबन्दी निर्माण गराए ।

एमाले-माओवादी चुनावी गठबन्धन भयो । बहुमत वाम गठबन्धनले जित्यो । ओली र प्रचण्ड आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने गरी सहमतिमा पुगे । तर, यी दुवै पार्टीको एकता आपसी शक्ति संर्घषले धेरै टिकेन । प्रचण्डलाई ‘ओलीटिक्स’ पचेन । ओलीलाई पनि प्रचण्ड सबैभन्दा बढी ‘टाउको दुखाईको पात्र’ बन्न पुगे ।

युद्ध काल सम्झने हो भने, देउवा-प्रचण्ड तितो सम्बन्ध हो । २०५८ को शान्ति वार्ता भाँडिएपछि माओवादीले दाङलगायतका केही जिल्ला सदरमुकाममा भीषण फौजी हमला गर्यो । त्यसबेला देउवा प्रधानमन्त्री थिए । त्यसपछि त देउवाले पनि देशभर संकटकाल लगाएर माओवादीलाई ‘आतंककारी’ घोषणा गरे । माओवादी नेताहरूको टाउकाको मूल्य तोकिदिए । इन्टरपोलले रेड कर्नर नोटिससमेत जारी गर्यो । प्रचण्डसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्यहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोकियो ।

देउवा गीत–संगीत कहिल्यै सुन्दैनन । तर प्रचण्डलाई विहान गीत नसुनी हुदैन । प्रचण्ड पूराना गीत विहान सधैजसो सुन्छन् ।सञ्चारकर्मीहरूसँग प्रस्तुत हुँदा देउवा आफू त्यति नजाने जस्तो गरी अरूका कुरा बढी सुन्न र जान्न रुचाउँछन् ।तर, प्रचण्ड आफ्ना कुरा बढी खुलस्त बताउने स्वभावका छन् ।

ओलीले आफ्नै शैलीमा शासन चलाउन खोजे । संसद नै दुई पटक भंग गरिदिए । त्यसपछि भने प्रचण्ड-देउवा सम्बन्ध फेरि बाक्लियो । ओलीको सरकार सञ्चालन शैलीले देउवा-प्रचण्ड सम्बन्धलाई फेरि ‘रिचार्ज’ गर्ने वातावरण बनाइदियो । जसका कारण अहिले देउवा प्रधानमन्त्री बनेका छन् ।

स्वभावजन्य पृष्ठभूमि

देउवा-प्रचण्डको सम्बन्ध निक्कै उतार चढावपूर्ण छ । प्रचण्डले संसदीय व्यवस्थाविरुद्ध २०५२ सालमा ‘विद्रोहको विगुल’ फुक्दा देउवा प्रधानमन्त्रीको कुर्सीमा थिए । त्यो बेलादेखि प्रचण्ड र देउवाको सम्बन्धमा कहिले मित्रता त कहिले शत्रुताको सम्बन्ध रहँदै आएको छ । देउवा र प्रचण्ड दुवै आँटिला नेता हुन् । जोखिम मोलेरै भए पनि आफूलाई लागेको कुरामा ‘बोल्ड डिसिजन’ लिन आँट्छन् । पछि पर्न सक्ने प्रभावका विषयमा दुवैले त्यति रूची राख्दैनन् ।

प्रचण्ड आफूलाई लागेको विषयमा खुलेर कुरा गर्न रुचाउँछन् । तर, देउवा अलिक ‘रिजर्भ’ बस्ने स्वभावका छन् । देउवालाई उनकै पत्नी डा. आरजु राणा देउवाले समेत अहिलेको आधुनिक जमानामा यति रिजर्भ बस्नुहुन्न’ भनेर धेरैपटक सुझाव दिइसकेकी छन् । तर, त्यसले देउवालाई कहिले छोएन । उनको त्यो आनीबानी फेरिएको छैन । पत्नी आरजुको भनाइमा, गीत–संगीत त झन देउवा सुन्दै सुन्दैनन् । ‘संगीतमा उहाँ (देउवा)को रूची त जिरो हो, फिटिक्कै सुन्नुहुन्न,’ आरजुको भनाई छ ।

तर, प्रचण्डको स्वभाव फरक छ । प्रचण्ड गीत संगीतमा रूची राख्छन् । बिहान उठेपछि पुराना गीतहरू प्रचण्ड हरेक दिन जसो सुन्ने गर्छन् । सञ्चारकर्मीहरूसँग प्रस्तुत हुँदा देउवा आफू त्यति नजाने जस्तो गरी अरूका कुरा बढी सुन्न र जान्न रुचाउँछन् । तर, प्रचण्ड आफ्ना कुरा बढी खुलस्त बताउने स्वभावका छन् ।

बेला-बेला आफ्नै अडानमा पनि पोजिसन फेर्ने नेतामा पनि चिनिन्छन्, देउवा-प्रचण्ड दुवै । सुरुमा काम गर्ने, तर त्यसको नतिजापछि नराम्रो आए त्यही बेला पछुताउने स्वभाव दुवैमा छ । यसमा भने देउवा-प्रचण्डको समानता भेटिन्छ । कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महत दुवै नेताबारे भन्छन्, ‘प्रचण्डमा कुरा राखेर बुझाउन खोज्दा चाँडै कन्भिन्स हुने स्वभाव छ । कहिलेकाहीँ पोजिसन फेर्ने स्वभाव छ, तर अप्ठ्यारो र रिजिड होइन । अरूका कुरामा चित्त बुझ्दा आफ्नो कुरा हुनैपर्छ भन्ने पनि छैन । देउवा जी पनि मिलाएर जाऊँ, मैले जे भनेँ त्यही हुनुपर्छ नभनी अडानबाट फेरिने नेता हुनुहुन्छ । दुवै नेतामा लचकता देखाउने बानी र स्वभाव रहेर हुनुपर्छ, फेरि एकपटक ओलीको प्रवृतिसँग जुध्ने र सत्ता सहकार्यको सम्बन्ध बनाउने अवस्था बन्न पुगेको छ ।’

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया