बिहीबार, चैत १५, २०८०

जसपामा ठाकुर समूह

ओलीको भरपर्दा जसपा ठाकुर पक्ष बिलखबन्दमा

न एजेण्डा स्थापित, न पार्टीको वैधानिकता पाउने अवस्था

मेरोन्यूज २०७८ असार ३० गते ८:३१

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएर शेरबहादुर देउवा पदासिन भएका छन् । ओलीले आफ्नै पार्टी एमाले र जनता समाजवादी पार्टी (जसपा)लाई स्पष्ट देखिने गरी दुई चिरा बनाएरै आफूले सत्तामा राज गर्न खोजेका थिए ।

संविधान, विधि र कानूनलाई बेवास्ता गर्दै उनले गरेका निर्णयमा लगाम लगाउँदै सर्वोच्चले संविधानको व्याख्या गर्दै सत्ताबाट पाखा लगाउने काम गर्‍यो ।

अब भने ओलीको कदमबाट एमाले भन्दा जसपा छेदविच्छेद भएको छ । सर्वोच्चको आदेशपछि जसपाको अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समूह उत्साहित भएको छ भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह निराश भएको छ ।

ओलीले गत बैशाख २७ गते विश्वासको मत लिनु पूर्व नै निलम्बित सांसद रेशम चौधरीलगायतका मुद्दा फिर्ता र नागरिकतासम्बन्धी प्रावधान परिवर्तन गर्ने आश्वासनसहित जसपाको ठाकुर समूहलाई आफ्नो पक्षमा बनाएका थिए । ओलीले केहीका मुद्दा फिर्ता गरिदिए पनि ।

नागरिकतासम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर समूह सत्तामा पनि गयो । तर, त्यो सत्ता र अध्यादेश ठाकुर समूहका लागि फलिफाप भएन । किनकि सर्वोच्चले अध्यादेश कार्यान्वयन नगर्न आदेश दियो भने ओलीको मन्त्रिपरिषद् विस्तार पनि अवैध भनिदियो ।

Advertisement

तै पनि ओली सत्तामा हुने बेलासम्म त केही हुन्छ कि भनेर साथ र सहयोग रहिरहने बताएका ठाकुर समूहका नेताहरु सोमबारको सर्वोच्चको परमादेशपछि ओलीसँगको सम्बन्ध ‘नखाँउ भने दिनभरको शिकार, खाउ भने कान्छा बाबुको अनुहार’ भएको छ ।

यादव समूहले मंगलबार बैठक बसेर पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा रहेको मुद्दाले असर गर्छ कि गर्दैन भन्नेबारे कानून व्यवसायीसँग छलफल गरेरमात्रै सरकारमा सहभागी हुने निर्णय गर्‍यो । निर्वाचन आयोगले कानुन अनुरुप नै जसपाका दुवै समूहलाई छुट्याउन तीन साउनमा इजलास बस्ने निर्णय गरिसकेको छ ।

दुवैले २२ असारमा आफूहरू एकै ठाउँमा बस्न नसक्ने भन्दै आयोगले कानून अनुरुप छुट्याइदिन सहमति जनाएका थिए । त्यसको फैसला गर्न तीन साउनमा आयोगले इजलास बोलाएको हो ।

यसै यादव समूहसँग कार्यकारिणी समितिमा बहुमत छ । अर्को ओली सत्ताबाट बाहिरिएपछि ओलीलाई सहयोग गर्ने ठाकुर समूहलाई सरकारी सम्यन्त्रको साथ सहयोग हुने अवस्था रहेन । त्यसमाथि यादव समूह त अहिलेको सरकारको बलियो सत्ता सहयात्री हो ।

खासमा ओलीले ठाकुर समूहलाई सकभर राज्य सम्यन्त्र लगाएर पार्टीको वैधानिकता दिलाउने, नभए पनि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर भए पनि नयाँ पार्टी बनाउन सहयोग गर्ने वचन दिएका थिए । तर, ओली दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि आफ्नै पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह बाहिरिने भयमा रहे र अध्यादेश ल्याउने आट गर्न सकेनन् ।

त्यसले ओलीले आफ्नो पार्टीमा रहेको विवाद त लगभग मिलनको विन्दुमा पुर्‍याउन सफल भएका छन् । तर, जसपाको ठाकुर समूहलाई ‘घर न घाट’ को बनाइदिए ।

एमालेको अन्तरकलह समाधान उन्मुख रहेका बेला जसपामा पनि एकताका लागि दबाब परेको छ । दुवै पक्षले निर्वाचन आयोगलाई औपचारिक रूपमा दल विभाजन गरिदिन आग्रह गरिसकेकाले त्यो सम्भावना देखिन्न ।

ओली सरकारबाट मुद्दाहरूको सम्बोधन प्रक्रियाले पूर्णता नपाएको, नागरिकता अध्यादेश सर्वोच्चबाट खारेज गरिएको, सर्वोच्चकै आदेशका कारण ठाकुर पक्ष सरकारबाट बाहिरिनुपरेको र अहिले आएर ओली नै पदमुक्त हुने अवस्था बनेपछि राजनीतिक रूपमा ठाकुर पक्षको रणनीतिले सफलता पाएन । यादव समूहलाई भने परिस्थितिले बलियो बनाइदियो ।

पार्टीको कार्यकारिणी समितिमा बहुमत गुमाएको ठाकुर पक्ष संसदीय दलमा पनि कमजोर बन्न सक्छ । यसअघि २० जना सांसदमध्ये ११ जनालाई मन्त्री बनाउँदा पनि बाँकी सांसदबीचमा असन्तुष्टि देखिइसकेको थियो । मन्त्री बनेकाहरू पनि १३ दिनमै बाहिरिनुपर्दा अपमानबोध गरेका थिए । उनीहरूमध्ये कतिपय आफ्नो पक्षमा आउन सक्ने आकलन यादव पक्षको छ ।

यादव समूहका नेता महेन्द्रराय यादव ठाकुर समूहमा अहिलेको अवस्थामा २० जना सांसद नरहेको र केही आफूहरूसँग आउन वार्तामा रहेको बताउँछन् ।

‘अहिलेसम्म पार्टी एउटै छ, मन्त्रीको लोभमा केही सांसदले पार्टी निर्णयविपरीत काम गरेका थिए तर अहिले २० सांसद उहाँहरूको पक्षमा छैनन्,’ उनले भने, ‘कतिपय सांसदले गलत निर्णय गरेको महसुस उतिबेलै गर्नुभएको हो, हाम्रो निरन्तर सम्पर्कमा हुनुहुन्छ ।’

पुस ५ मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा जसपाले एक ढिक्का भएरै त्यसको विरोध गरेको थियो । फागुन ११ मा सर्वोच्चले विघटन बदर गरेपछि र फागुन २३ मा नेकपालाई एमाले र माओवादी केन्द्रकै पूर्ववत् अवस्थामा फर्काएपछि जसपाभित्रको दृष्टिकोणमा भिन्नता आउन थाल्यो ।

ठाकुर र महतोको निकटता ओलीसँग बढ्दै गयो भने यादव र बाबुराम भट्टराई पक्ष ओलीलाई हटाउने अभियानमा कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा गोलबद्ध हुन पुग्यो ।

जेठ ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा र ओली दुवैको सरकार बनाउने दाबीलाई अस्वीकार गर्दै प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेपछि ठाकुर पक्ष उत्साहित बनेको थियो । अहिले सर्वोच्चले निर्णय खारेज गरिदिएपछि ठाकुर समूह निराश भएको छ ।

ठाकुर समूहका नेता लक्ष्मणलाल कर्ण जसपामा पुनःमिलन तत्कालका लागि सम्भव नरहेको बताउँछन् । राजनीतिक मुद्दामा फरक÷फरक धारणा रहेकाहरू एउटै पार्टीमा बस्न सक्ने अवस्था नरहेको उनले बताए ।

प्रतिक्रिया