बिहीबार, वैशाख १३, २०८१

प्रतिगमन विरुद्ध अबको विकल्प तीब्र राजनीतिक ध्रुविकरण

जनक शाह २०७८ असार २८ गते ९:००

काठमाडौं । नेपाली जनताको कठोर संघर्ष र वलिदानीका फलस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयको प्रारम्भिक चरण मै दुर्भाग्यपूर्णरुपमा गहिरो संकटको भुंमरीमा फस्न पुगेको छ ।

पुराना ठुला–साना कम्यूनिष्ट पार्टीहरु बीचको एकताको पटाक्षेप भैसकेको छ । अधिनायकवादी शासक बन्ने र संघीय गणतन्त्रलाई बदनाम गर्ने छद्म मनशाय राखि कम्यूनिष्ट एकताको नाममा सत्तामा पुग्न सफल भएको अहंकारी, अनैतिक, असहिष्णु, अधिनायकवादी र आसेपासे पोस्ने वर्तमान “ओली” प्रवित्ति–नेतृत्वको प्रतिगमन उन्मुख तानाबानाहरुलाई निष्तेज पारी अहिलेसम्मका संर्घषहरुको उपलब्धिलाई जोगाई नेपाली राजनीतिलाई संवैधानिक लयमा फर्काउनु नै अहिलेको नेपाली राजनीतीको प्रमुख मुद्दा हो ।

आफ्नो संवैधानिक दायित्वलाई तिलाञ्जली दिंदै ६ महिनामा दुई पटक जनप्रतिमूलक सार्वभौम प्रतिनिधि सभा विघटन गरी गैरसंवैधानिकरुपमा सत्ता कब्जाको अभिष्ट पुरा गर्ने अहंकारी शासकको कुल्सित मनसायमा फेरी पनि सर्वोच्च अदालतले असार २८ गते तुसारापात गर्ने नै छ । तर राजनैतिकरुपमा प्रतिगमनलाई परास्त गर्न अझै राजनैतिक पार्टीहरुबीचको एकता परिपक्व भैसकेको अवस्था भने छैन ।

नेकपा (एमाले) को नाटकियरुपमा तयार भएको १० बुँदे एकता प्रस्ताव एमाले पार्टीलाई केही समयसम्म जोड्ने रसायन बन्न सक्ला नसक्ला थोरै समय पर्खनै पर्ला तर त्यसले प्रतिगमनका बारेमा कुनै ठोस निष्कर्ष दिनसक्ने अवस्था भने छैन । सबै राजनैतिक दलहरु विचारको बेमेल सहित अप्राकृतिकरुपमा एक आपसमा टाँस्सिरहनु भन्दा एजेण्डा मिल्नेहरुबीचको मोर्चामा केन्द्रीत रही प्रतिगमनलाई परास्त गर्न स्वाधीन राजनीतिको बलियो जग बसाउन केन्द्रीत हुनुपर्दछ । सम्पूर्ण प्रगतिशील तथा अग्रगमनकारी राजनैतिक शक्तिहरुको तत्कालीन कार्यभार यही हुन आउँछ ।

अहिलेसम्मका परिवर्तनलाई संस्थागत गरी नेपाली जनताको हितमा वर्तमान शासन प्रणालीको कार्यान्वयन गर्ने हो भने नेपाली राजनीति अब नयां धु्रविकरणको प्रक्रियामा प्रवेश गर्नु पर्दछ । जसको ध्येय समाजवादतर्फ उन्मुख हुनुपर्दछ ।

कस्तो समाजवाद यसमा भन्ने विषयमा बेग्लै चर्चाको खांचो छ । तर अबको समाजवाद पुरानै शब्दावली अनुसारको पक्कै हुनु हुंदैन जो व्यवहारमा असफल भएको छ । २१औं शताब्दीसम्म आईपुग्दा बदलिएको सामाजिक संरचना, वर्ग चरित्रको स्वरुप र समाजका अन्तरविरोधहरुलाई सही ढंगले निक्र्यौल गरी समाजवादी दर्शनलाई नयां प्रकारले समृद्ध गर्दै जनकेन्द्रीत समाजवादी शासन व्यवस्थाको स्वरुप विकास गरिनु जरुरी छ ।

यस पृष्ठभूमीमा नया“ ध्रुविकरण अभियान एउटा अग्रगामी सोच सहितको नेपाली विशेषतामा आधारीत समाजवाद प्राप्तिको अभियान हुनु पर्दछ । यो अभियान सबै अग्रगामी एवं प्रगतिशील शक्तिहरुको ध्रुविकरणको प्रक्रियाको रुपमा अघि बढ्नुपर्छ । समाजवाद प्रति समर्पीत राजनैतिक शक्ति नै अग्रगामी र प्रगतिशिल हुने भएकोले यस्तो शक्तिले नेपालको राजनीतिमा नया“ समाजवादी केन्द्रको निमार्ण गर्दै ठूलो बहसको माध्यमबाट नया“ समाजवादी शासन व्यवस्थाको प्रारुप तय गर्नुपर्ने सही समय आएको छ । यही प्रक्रियाबाट नयाँ राजनैतिक विचार, दृष्टिकोण, कार्यदिशा र आर्थिक समृद्घि उन्मुख नयाँ शैली, संस्कार सहितको राजनैतिक शक्ति निमार्ण संभव हुन्छ ।

नेपालको संविधानले पनि राजनैतिकरुपमा एउटा युगान्तकारी परिवर्तनलाई संस्थागत गरी समाजवाद मार्फत नेपाली समाजको समतामूलक र प्रगतिशील सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको अवस्थामा वर्तमान गलत राजनैतिक नेतृत्वको सोच र क्रियाकलापबाट यी कुनैपनि कुरा पुरा हुन नसक्ने त छँदैछ, मुलुक झन् नयाँ संकटतर्फ उन्मुख रहेको हुँदा आवश्यकताको सिद्घान्त अनुरुप नेपालको राजनीती रुपान्तरण सहितको धु्रबिकरणको नयाँ चरणमा प्रवेश गर्नुपर्ने आवश्यकता देखिएको छ । सम्पूर्ण प्रगतिशील अग्रगामी शक्तिहरुले यस आवश्यकतालाई मनन गर्दै सचेततापूर्वक लाग्नु पर्ने देखिएको छ ।

विभिन्न संर्घषबाट प्राप्त ऐतिहासिक उपलब्धिहरुलाई जोगाउँदै संघीय व्यवस्थाको कार्यान्वन र सुदृढीकरण, जनचाहना अनुरुपको विकास र आर्थिक समृद्घिसंगै जनताका मौलिक हकहरुलाई प्रत्याभूत गर्दै कार्यान्वन गर्नुपर्ने दायित्व र जिम्मेवारी पनि वैचारिक, आचरणगत एवं व्यावहारिक रुपान्तरित नयाँ अग्रगामी राजनैतिक शक्तिले मात्रै पुरा गर्न सक्दछ ।

समाजवादका ठूला–ठूला गफ गरेर अर्ति उपदेशमात्र दिने अहिलेका शासकको गफाष्ट शासकीय शैलीबाट हैन समाजवादतर्फ उन्मुख आर्थिक क्रान्तिलाई तीव्रता दिएर विकासको समग्र आर्थिक–सामाजिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउने र पूर्णता दिने दिशातर्फ उन्मुख रहने कुराहरुलाई केन्द्रविन्दुमा राखी कठोर मेहनत, परिष्कृत एवं रुपान्तरित आचरण र राज्य संयन्त्रमा सुशासनका माध्यमबाट उपलव्ध साधन र स्रोतको प्रभावकारी परिचालन, सदुपयोग एवं व्यवस्थापन सुनिश्चित गर्नु नै अबको अर्थ–राजनैतिक नेतृत्वको प्रमुख दायित्व हुन आउ‘छ ।

त्यसैले नेपाली राजनीति सामु अबको एउटै उन्नत विकल्प भनेको हालसम्मका उपलब्धीहरुको रक्षा र समाजवादको व्यवहारिक कार्यान्वयनका लागि नयाँ राजनैतिक धु्रविकरण मात्रै रहेको छ । यस्तै ध्रुविकरण र आन्दोलन प्रक्रियाबाट मात्र नेपाल सुहाउँदो नयाँ समाजवादी विचार र शक्ति निमार्ण हुने प्रक्रिया पुरा हुन सक्दछ ।

प्रतिक्रिया