शुक्रबार, चैत १६, २०८०

४५ देशका नागरिकले गरे सगरमाथाको आरोहण, झण्डै ४ अर्ब रुपैयाँ संकलन

मेरोन्यूज २०७८ असार २७ गते २०:४७
फाइल फोटो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै विश्वभर ‘लकडाउन’ रहेको अवस्थामा ४ सय ५७ जनाले विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा आरोह गरेका छन् । नेपालसहित ४५ देशका ४ सय ५७ नागरिकले सगरमाथा आरोह गरेका हुन् ।

पर्यटन विभागले फागुन अन्तिम सातादेखि सुरु भएको वसन्तकालीन हिमाल आरोहणको यो तथ्यांक आज आइतबार सार्वजनिक गरेको हो । विभागका अनुसार यसपटक सगरमाथा चुचुरोमा ७ जना नेपाली पुगेका छन् ।

कूल सगरमाथा आरोह गर्नेमा ४३ जना महिला र ४ सय १४ जना पुरुष रहेका छन् । यसपटक सगरमाथा आरोहण गर्ने नेपालीमा निजामती कर्मचारी युवराज धिताल, हेलिकप्टर पाइलट सोबित गौचन, हेलिकप्टर व्यवसायी फुर्वा छिरी शेर्पा, पर्यटन व्यवसायीद्वय रामशरण उप्रेती र टासीलाक्पा शेर्पा तथा पूर्णकुमार शेर्पा र सोनाम शेर्पा (बुवा–छोरा) नेपाली रहेका छन् । १२ जना नेपालीले सगरमाथा आरोहणमा असफल भए ।

आरोहणका क्रममा दुई जना नेपाली पथ प्रदर्शक (संखुवासभाका आङदोर्जी शेर्पा र पेम्बाटासी शेर्पा) तथा दुई विदेशी (अमेरिकी र स्विस) गरी चार जनाको सगरमाथामा मृत्यु भएको छ ।

यसपटक हिमाल आरोहणमा करिब पौने ४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको कारोबार भएको विभागको अनुमान रहेको छ । विभागले हिमाल आरोहणमा जानेबाट यस सिजनमा सलामी दस्तुर मात्रै करिब ५४ करोड ९२ लाख संकलन गरेको थियो ।

Advertisement

प्रतिक्रिया