शनिबार, वैशाख ८, २०८१

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्छ : गौतम

मेरोन्यूज २०७८ असार २७ गते १६:०३

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा विचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताए ।

उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रिय सभामा पेश गर्नुपर्ने पनि बताए । नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनले बताए ।

उनले भने–‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भो । म मानिनँ । त्यसोभए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिन भने । तपाई किन उठ्नुहुन्न भन्नभयो ?, मैले भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको विचमा विभेद अन्त्य गर्दिनुुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरुले शासन गर्नु पर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरी पनि उठाउन चाहान्छु । यो राष्ट्रिय सभामा यदी यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामीले आज पास गरौँ । र त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको ७८/७९ को बजेट वक्तव्य फेरी आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाऊँ । र यहाँबाट पारित हुने व्यवस्था गरौँ । नियमावालीमा परिवर्तन गर्नुपर्छ भने गरौँ । यदी त्यसो हुँदैन भने माग गरौँ । संविधानमा त्यो छैन भने यो आवश्यकता छ । बाहिर सडकमा चाहीँ प्रस्तुत हुन सक्ने, त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नुपर्ने । राष्ट्रिय सभा संघीय संसदको एउटा अभिन्न अंग हो यसमा त्यो अधिकार छ । छलफल गर्न सक्ने क्षमता यहाँ छ । त्यस विषयमा विचार विमर्श गर्न सकिन्छ । त्यसकारण त्यो आउनुपर्दछ । यो मेरो माग हो ।’

गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन गराएर नेकपा माओवादी केन्द्र र नेकपा एमाले व्युतिएको अवस्थामा आफुले नेकपा एमाल रोजेर बैठकमा समेत उपस्थिति भएको पनि बताए । पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफु बैठकमा सहभागी भएको स्पष्ट पारे । वामदेव केपी ओली तर्फ गएको भन्ने हल्ला भएको भन्दै उनले आफु केपी ओलीतिर नभई आफु एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको बताए ।

उनले भने– ‘मैले केही समय पहिले नेकपा हुँदाखेरी भएको पार्टी विभाजनमा म कतैपनि सामेल हुन पाइनँ । सकिनँ । र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुर्नस्थापित भएपछि मैले एमाले रोज्नैप¥यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्तिपनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले ०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो । र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसहरुले के भने भने वामदेव केपी तिर गयो भनेर भने । मैले यो सभा मार्फत् हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञहरुलाई, जनतालाई, नागरिकलाई जानकारी गराउन चाहान्छु, म कुनै तर्फ गएको होईन । म नेकपा एमाले भएको हुनाले एमाले भएको प्रमाण पेश गर्न म गएको हो । तर मैले पार्टीमा गइसकेपछि जे भुमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भुमिका यद्यपी मैले प्राप्त गर्न सकिनँ ।’

गौतमले सत्तारुढ नेकपा एमालेले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियमहरु कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुँराउने अवस्था सिर्जना गरेको टिप्पणी पनि गरे ।

प्रतिक्रिया