शुक्रबार, चैत १६, २०८०

अस्मिता धामी हत्या प्रकरण

२४ दिनसम्म प्रहरीले हत्याराको सुइको समेत पाउन सकेन

प्रहरीको प्रष्टीकरण– शंकाको घेरामा रहेकाले आत्महत्या गरे, पानी परेको समयमा घटना भएकाले अनुसन्धानमा बाधा पर्यो ।

दया दुदराज २०७८ असार २६ गते १९:१७

काठमाडौं । ‘हामी पिछडिएका क्षेत्रका मान्छेहरु सधैँ ओझेलमा पर्दो रहेछौँ । न बोल्दिने कोही छ, न भनसुन गर्ने कोही छ । सेवा गर्न हिँड्नु भएकी भाउजु फर्केर आउनु भएन, भाउजुको हत्या भएको आज झण्डै एक महिना पुग्न लागि सक्यो न त केही तथ्य फेला परेको छ न त हत्यारा नै, न्याय पाउला भन्ने आश पनि विलिन हुन थाले ।’ यो भनाइ डडेल्धुराको परशुराम नगरपालिका–८स्थित जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता देवी धामीका देवर दिनेशको हो ।

धामी यही असार २ गते परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक जंगलमा मृतावस्थामा फेला परेकी थिइन् । प्रहरीले उनको शव फेला परेको २४ दिन बित्दा समेत हत्यामा संलग्नको सुँइको समेत पाउन सकेको छैन ।

असार १ गते साँझ अस्मिताको मोबाइलमा घण्टी बज्यो, त्यो फोन उनकै श्रीमान् अमर धामीको थियो । अस्मिताले फोन उठाइन्, फोनबाट आवाज आयो, ‘भोलि मामाको घरमा ‘ल्यान्टर’ हाल्ने कुरा छ, बिहानै खाना बनाएर लिएर आउनू बच्चालाई बाजेबज्यूकहाँ छाड्दिनु ।’ अस्मिता श्रीमान्ले भनेअनुसार नै खाना पुर्याइदिएर स्वास्थ्य केन्द्र पुगिन् ।

केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम चलिरहेको थियो । १ गते नै कार्यक्रम सम्पन्न भएता पनि केही खोपहरु भने उप्रिएका थिए । उप्रिएको केही खोपहरु जिल्लाको जोगबुढा अस्पताल पुर्याउने निधो गरिएको थियो । अस्मिताको माइती पनि जोगबुढा अस्पताल नजिकै रहेकाले उनी आफैं खोप पुर्याउन जाने निधो गरिन् । सल्लाहअनुरुप नै स्वस्थ केन्द्रका इन्चार्ज रमेश बोहोराले अस्मितालाई नै जोगबुढा अस्पताल पठाउने निर्णय गरे ।

खोप बोकेकी अस्मिता मृत फेला
असार २ गते पानी परिरहेको थियो । सोही दिन अन्दाजी ११ बजेको समयमा अस्मिताले स्वास्थ्य केन्द्रका इन्चार्ज बोहोरासँग २०० रुपैयाँ मागेर कोरोनाको खोप र केही स्वास्थ्य सामग्री बोकेर ‘फर्किन ढिलो भयो भने म माइतमै बस्छु’ भनेर निस्किइन् । उनी निस्किएको केही समय अन्दाजी ११ः१५ बजेतिर स्वास्थ्य केन्द्रका एक कर्मचारीको मोबाइलमा घण्टी बज्यो, उक्त कल अस्मिताकै थियो, उताबाट आवाज आयो, ‘मेरो मोबाइलमा ब्यालेन्स सक्किएको रहेछ मलाई ब्यालेन्स हालिदिनु है ।’ अस्मिताले भने बमोजिम नै उक्त कर्मचारीले उनको मोबाइलमा १०० रुपैयाँ ट्रान्सफर गरिदिन् । त्यसपछि अस्मिता सम्पर्कमा आइनन् ।

Advertisement

अस्मिता सम्पर्कमा नआएपछि उनका श्रीमान्ले स्वास्थ्य केन्द्रका इन्चार्ज बोहोरासँग सोधखोज गरे । ‘कोरोनाको खोप पुर्याउन गएकी हुन् ढिला भयो भने माइत नै बस्छु भनेकी छन्’ इन्चार्ज बोहोराले अमरलाई भने ।

बोहोराको कुरा सुनेपछि अमरले माइत नै गएको होला भन्ठाने, उनले भोलिपल्ट बिहान ससुरालीमा फोन गरेर सोधे तर उताबाट अस्मिता नआएको जवाफपछि अस्मिताको सोधखोजमा लाग्न थाले । अमर र उनका भाई दिनेश वरपरका सबै क्षत्रमा सोधखोज गर्न थाले केही व्यक्तिहरुले उनीहरुलाई स्वास्थ्य सामग्री बोकेर जोगबुढा अस्पतालतर्फ जाँदै गरेको बताए । सोही अनुसार उनीहरुले निरन्तर खोजी गरिरहे तैपनि ५ गतेसम्म अस्मितालाई फेला पार्न सकेनन् ।

भोलिपल्ट ६ गते गाउँलेहरुको साथ लागेर खोजी गर्दै जाँदा परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक जंगलमा अस्मिता मृतअवस्थामा फेला परिन् ।

अस्मिताका देवर दिनेशले भने, ‘भाउजुको मुखमा केही वस्तुले हिर्काएका जस्तो चोट थियो, अनुहारका केही हड्डीहरु पनि भाचिँएको जस्तै देखिन्थे, उनको चप्पल नजिकै एउटा ढुङ्गा पनि थियो । शवलाई घिसारेर एउटा सालको बुटोमा अड््िकएको अवस्थामा राखेको भेटियो ।’ अस्मिताको शव देख्नासाथ उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले शव पोष्टमार्टमका लागि जोगबुढा अस्पताल लग्यो ।

शव भेटिएको स्थानमा प्रहरीले दोहोर्याएर अनुसन्धान गर्यो । प्रहरी अधिकारीले असार ७ गते घटनास्थलमा नै पुगेर अनुसन्धान सुरु गरे । घटनास्थलबाट मृतकको नथ्थि, छाता, मास्क, चप्पल, भ्याक्सिनको डब्बा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक राजेन्द्र चन्दले बताए ।
शव मूल बाटोदेखि ६० देखि ७० मिटर तल फेला परेको थियो । त्यसको केही तल मृतकले बोकेको कोभिड भ्याक्सिनको बक्स र केहीमाथि चप्पल, नथ्थि, छाता, मास्क पनि छरपस्ट भेटिएको थियो ।

जिल्ला अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा हत्या भएको उल्लेख छ । उनको हत्या असार २ गते नै भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । ‘शव परीक्षण रिपोर्टबाट पनि हत्या नै भएको देखिएको छ । अहिले सोही आधारमा अनुसन्धान भइरहेको छ’, प्रवक्ता चन्दले भने । प्रहरीले अस्मिताको डिएनए परीक्षणका नमूना संकलन गरेर ८ गते नै काठमाडौँ पठाएको थियो । यद्यपि डिएनएको रिपोर्ट आजसम्म आएको छैन ।

अनुसन्धानमा प्रहरीको जम्बो टोली
घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको थियो । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोली पनि समेत खटिइएको छ । अस्मिताको हत्या गरिएको पुष्टि भएको दिन ८ गते प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानलाई निरन्तरता दियो ।

असार ८ गते घटनास्थलबाट ‘स्विच्ड अफ’ भएको अस्मिताको मोबाइल फुटेको अवस्थामा फेला पारेको थियो । यद्यपि अस्मिताले स्वास्थय केन्द्रका इन्चार्ज बोहोरासँग लिएर गएको २०० रुपैयाँ भने फेला परेको छैन ।

प्रहरी भन्छः शंकाको घेरामा रहेकाले आत्महत्या गरे
अस्मिताको हत्या भएको आज २४ दिन पुगेको छ । यद्यपि अनुसन्धान अझैपनि अन्योलमै रहेको पीडित पक्षको गुनासो छ । ‘घटनाको २४ दिन पुग्यो, प्रहरीहरु घटनास्थलमा त आउँछन् तर स्थानीयस्तरमा सोधखोज भने गर्दैनन्’ अस्मिताका देवर दिनेशले मेरोन्यूजसँग भने ।

तर आफूहरु निरन्तर सोही घटनामा नै केन्द्रित रहेर लागि रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुरामा प्रवक्ता चन्द बताउँछन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी हत्यामा संलग्न रहेको आशंका गरिएका केही व्यक्तिलाई निगरानी गरिरहेको र केही दिनमा नै घटनाको अभियुक्त सार्वजनिक गर्ने दाबी गर्छन् ।

‘घटनामा केही व्यक्तिहरुको संलग्नता रहेको शंकामा हामीले उनीहरुलाई निरन्तर निगरानीमा राखेका छौँ तर हामीले निगरानी गरेका एक जनाले घटना घटेको केही दिनमै आत्महत्या गरेको छ । घटनासँग सम्बन्धित भएको र हामीले उनलाई शंकाको घेरामा राखेका थियाँै ती व्यक्तिले आत्महत्या गरेका छन्, जसले गर्दा अनुसन्धानमा थोरै जटिलता देखिएको छ’, अनुसन्धानमा संलग्न ति अधिकारीले भने ।

मान्छेको आवागमन नहुने ठाउँमा घटना घटेकाले अनुसन्धानमा जटिलता देखिएको प्रहरीको भनाइ छ । ‘घटनास्थलमा पुग्न वस्ती भएको ठाउँबाट झण्डै डेढ घण्टा लाग्छ साथै त्यो क्षेत्र एकान्त छ । त्यहाँ फाट्टफट्ट मान्छेहरु पनि हिँड्दैनन् । एकान्त छ ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले थपे, ‘यति धेरै बाधाका बाबजुत हामी यही घटनालाई केन्द्रमा राखेर निरन्तर खटिएका छौँ ।’

घटनाको अनुसन्धानमा प्रहरीको उच्च अधिकारीका पनि चासो रहेका देखाउन प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कडेल शुक्रबार मात्रै घटनास्थल पुगेका थिए ।

घटना भएको बखत पानी परेकाले पनि प्रहरीलाई अनुसन्धानमा सकस परेको छ । पानीको कारणले पनि कतिपय प्रमाणहरु नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले बताए । ‘पानी परेको कारणले गर्दा कुकुरले समेत केही गर्न सकेन, पानीले गर्दा समेत धेरै प्रमाणहरु खत्तम भए’, उनले भने ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया