शुक्रबार, चैत १६, २०८०

हास्य कलाकार सरापेका यस्ता छन् रूची

मेरोन्यूज २०७८ असार २६ गते १५:५०

काठमाडौँ । हास्य कलाकार सरापे दर्शकमाझ चर्चित छन् । सिन्धुली जिल्लाको कमलामाई ४ कुँडुलेका उनको खास नाम यादव देवकोटा हो ।

यतिखेर हास्य टेलिसिरियल भद्रगोलमा सरापेले मधेसी मूलका व्यक्तिको अभिनय गरिरहेका छन् । विगत दुई वर्षदेखि ‘म्याक्स मनी ट्रान्सफर’को ब्राण्ड एम्बेड्सर उनले रिसानी माफ होस्, तिते करेली, शंख एण्ड चक्र, तितो सत्य, गाई कि त्रिशुल, मेरी बास्सैजस्ता सिरियलमा अभिनय गरिसकेका छन् ।

सरापेले झण्डै एक हजारभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेका छन् । सरापेले आफूलाई मन पर्ने सपिङ, घुमफिर, खानपिन, ग्याजेट्सका बारेमा यादव देवकोटासँग नरेन्द्र रौलेले गरेको कुराकानी :

सपिङ

सरापेलाई क्याजुअल पहिरन लगाउन मन पर्छ । त्यसमध्ये जिन्स पाइन्ट र टिसर्ट उनलाई सजिलो लाग्छ । विशेष अवसरमा सोहीअनुसारको पहिरन लगाउछन्, उनी । घुम्न निस्किँदा बजारमा राम्रो कपडा देखे किन्छन्, उनी । अहिलेसम्म सय जोर कोट फेरिसके । ‘सुट् के हो ? कसरी लगाउने भन्नेबारे मित्र राज कार्कीले सिकाए,’ उनले सुनाए ।

Advertisement

बालकोट, भक्तपुरका राज कार्की उनका १५ वर्षदेखिका साथी हुन् । कार्कीसँग उनले सिरियलमा अभिनय गरेका छन् । स्कुल सञ्चालन गरिरहेका राजले टेलरिङ व्यवसायमा हात हाल्दा उनलाई अचम्म लाग्यो ।

पछि कार्कीको विचार सुनेपछि उनी प्रभावित बने । झण्डै डेढ दशक त्यो सम्बन्धपछि गएर व्यवसायिक साझेदारीमा परिणत भयो । नरदेवीमा राज कार्कीले सञ्चालन गरेको श्रीराज कलेक्सनमा सरापे व्यवसायिक साझेदारीका रुपमा जोडिएका छन् ।

खानपिन

सरापेलाई नेपाली खाना सबैभन्दा बढी मन पर्छ । यसबाहेक नेवारी खानाका परिकार उसको रूचीको खाना हो । अण्डा बारा, आलु तामा उनका प्रिय परिकार हुन् । नयाँ नयाँ रेस्टुराँ पुगेर फरक–फरक स्वादका खाना खानु उसलाई आदत परेको छ ।

घुमफिर

कलाकारिता यात्रामा लागेर सरापेले दर्जनभन्दा बढी देशमा पुग्ने अवसर पाएका छन् । खाडी मुलुक सबैजसो घुमिसके । त्यसबाहेक जापान, अस्ट्रेलिया, हङकङमा पुगिसके । घुमेकामध्ये हङकङ र दुबई उनलाई मन पर्ने देश हो ।

‘कसरी त्यत्रो विकास भयो ? मेरो दिमागले सोचेरै भ्याएन,’ दुबई पुगेको स्मरण गर्दै उनले भने, ‘ढुंगामा मासु पकाएको देख्दा अच्चममा परेँ ।’

मलेसिया घुम्दा खुब इन्ज्वाय गरेको उनले सम्झिए । कार्यक्रमका सिलसिलामा विदेश जाँदा नेपालीहरूले अत्यन्तै माया, सम्मान र प्रेम दर्शाउने गरेको उनी सम्झिन्छन् । घर, देश छाडेको पीडा हुन्छ । विदेश पुगेपछि जातभात, भूगोल, धर्म भन्ने हुँदैन । सबैले एउटै आमाका सन्तान जस्तै व्यवहार गरेको उनले सम्झिए ।

सरापेले स्टेज कार्यक्रमका सिलसिलामा नेपालमा ७० वटा जिल्ला घुमिसकेका छन् । सुदूर पश्चिमका बाजुरा, बझाङ, कञ्चनपुर, अछामदेखि पूर्वमा इलाम, झापा, भोजपुर जस्ता जिल्लाहरू घुम्दा फरक अनुभव बटुले । सुदूर पश्चिममा आफ्नै भाषा, साहित्य, कला, संगीतलाई गरेको त्यो प्रेमले उनी प्रभावित बने । नेपालमा मात्र हैन रोजगारीका लागि भारत पसेका बासिन्दाहरूले त्यहाँ पनि आफ्नै गीत, संगीतलाई अगाध माया गरेको देखे ।

यो सबै देख्दा उनलाई सुदूर पश्चिमका गीतहरूमा अभिनय गरौं भन्ने लाग्यो । स्थानीय कलाकार लाब बहादुर खड्का, चक्र बम, रेखा जोशीले उनलाई अभिनयका लागि अफर गरिसकेका छन् । उनी बिना पारिश्रमिक अभिनय गर्न तयार भएका छन् ।

गीत संगीत

सरापेले अहिलेसम्म ४ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । झमक बहादुर, तमासा, जंगली लभ, प्रोड्युसरमा अभिनय गरिसकका छन्, उनले । तुलसी घिमिरेको दक्षिणा, युवराज लामाको देउता उनलाई मन पर्ने चलचित्र हुन् । यस्तै बलिदान पनि उनलाई मन परेको चलचित्र हो । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठले उनको जीवनमा ठूलो प्रभाव पारेका छन् । मह जोडी, मिथिला शर्मा, गौरी मल्ल उनलाई मन पर्ने कलाकार हुन् ।

गायनतर्फ राज सिग्देल, राजेशपायल राई उनका प्रिय गायकहरू हुन् । पुरानामध्ये भक्तराज आचार्य, नारायण गोपाल उनलाई मन पर्छ । दोहोरीमा विष्णु माझी, राजु परियारका गीत उनलाई खुब सुन्छन् ।

ग्याजेट्स

सरापेले जीवनमा एकपटक मात्र मोबाइल किने । १० हजार रुपैयाँ पर्ने मोटोरोलाको सेट् । त्यसपछि कहिल्यै मोबाइल किन्न परेन । अहिले उनी सामसुङको एसएच ८ मोबाइल बोक्छन् । उनलाई माया गर्ने फ्यानहरुले मोबाइल उपहार दिने गर्छन् । अहिले अमेरिकामा उनका लागि आइफोन १२ प्रो म्याक्स एक जना फ्यानले किनिसकेका छन् ।

अमेरिकामा बस्ने लोकेन्द्र भट्टराईले सरापेका लागि आइफोन किनिसकेका हुन् । ‘उहाँ अत्यन्त घनिष्ठ मित्र हो, नेपाली कलाकारितालाई माया गर्ने, गीत, संगीत भनेपछि हुरुक्कै हुने व्यक्ति हो,’ उनले भने, ‘धेरै कलाकारहरूलाई उहाँले सहयोग गर्नु भएको छ ।’

प्रतिक्रिया