शनिबार, वैशाख ८, २०८१

‘म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना उम्मेदवार हुन्छाैँ’

डा. शंशाक कोइराला, महामन्त्री, नेपाली कांग्रेस २०७८ असार २६ गते १५:००

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला भइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधी र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उद्घोष गर्दै आएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नु पर्ने भन्दै महामन्त्री कोइरालाले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए । तेरो र मेरो भन्ने स्वभावले सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी गर्दै उनले नेतापुत्र त्रयको भेटघाट गुट उपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाई सहमतिका साथ सभापतिको उम्मेदवार चयन गर्ने कार्यमा केन्द्रीत भएको उनले स्पष्ट पारे ।

तीन नेताको भेटघाट पार्टीभित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभई एकताका लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रुपमा बुझ्न उनले सबैलाई आग्रह गरेका छन् ।

आसन्न महाधिवेशन, क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा कांग्रेसका महामन्त्री शंशाक कोइरालासँग गरेको अन्तरवार्ताको सम्पादित अंश :

आसन्न महाधिवेशनको तयारी कस्तो हुँदै छ ? व्यक्तिगत र संस्थागत रुपमा ?

सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लाग्न सकेको छैन । यो अन्त्यसम्म आइपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशिल सदस्यताको अन्तिम टुंग्गो लाग्छ । र, एउटा खाका तयार हुन्छ । त्यसपछि हामी अधिवेशनतर्फ जान्छौँ । अहिले पार्टीको ध्यान नै क्रियाशिलतर्फ छ । आज पनि हाम्रो मिटिङ भएको थियो । क्रियाशिल सदस्यतामा के गर्ने भनेर कुरा भयो ।

केन्द्रीय सदस्यहरू रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरू पनि हुनुहुन्थ्यो । हामी क्रियाशिल सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दै थियौँ । क्रियाशिल टुंगो नलगाइकन हामी महाधिवेशनमा जान सक्तैनौँ । त्यही नै भइरहेको छ ।

क्रियाशिल सदस्यता तत्काल टुंगो लाग्ने अवस्था देखिएको छैन, यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका छ, कि त्यो आशंका गलत हो ?

यो महिनाभित्र क्रियाशिल सदस्यता टुंगा लगाउन सकिएन भने आशंका त भइहाल्यो नि । क्रियाशिल सदस्यका बारेमा हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भइसक्यो । त्यसमा पनि उजुरीहरू आएको छ, त्यसलाई पनि हेर्नु पर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन । समयमा नै अधिवेशन हुन्छ कि हुँदैन । प्रश्न चिन्ह चाहिँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दै छौँ ।

तपाईहरूको भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन्, अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रीत गर्न खोजियो भनेर टिप्पणी भएका छन्, खासमा के हो ?

खासमा विमलेन्द्र निधीले नै इनिसियट गरेको हो । सबैभन्दा पहिले उहाँको वैवाहिक सम्बन्धको ३५ वर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनु भयो । दोश्रोपटक यही मिटिङ गर्यौं । र, तेश्रोपटक प्रकाशमान जीको गयौँ । हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनु पर्यो । सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठिकै भयो । हामीमध्ये एकता हुनु पर्यो भन्ने कुरा आयो ।

यसमा धेरै कुराहरू उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधीले शेर बहादुर जीलाई छाड्नु भयो भने भन्ने संकेत देखिन्छ । दोश्रो कुरा हामी तिनै जनामध्ये एकजना सभापतिमा लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ । प्रकाशमान र म त छँदै छौँ । मैले के भनेँ भने, हामी तीन जनाबाट ५ जना गरौँ, ५ जनाबाट ७ जना गरौँ, ताकी हामी एउटै सुत्रमा बाँधिन सकौँ भन्ने धारणा थियो । तर, यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन ।

हामी तीन जना एक ठाउँमा उभियौँ भने वेभ आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नु भएको रहेछ बिमलेन्द्र जीले । राम्रो पनि भयो । नकारात्मक पक्षहरू पनि छन् । तर, त्योभन्दा भन्दै हामीले तीनै जना एकै ठाउँमा (नेतापुत्रहरु) उभियो भने नेपाली कांग्रेस एकै ठाउँमा आउँछ भन्ने संकेत चाहिँ प्रष्ट रुपमा दिएको छ ।

मुलुकको समुल राजनीतिक अवस्था प्रतिकुल भएको अवस्थामा नेतृत्व परिवर्तन गर्ने समय आएको हो ?

समय त आएको छ । मेरो भनाई के हो भने । अधिवेशन आउँदै छ । हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने हाम्रो दुर्रदशा भएको छ, अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौँ । कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने सम्भावना हुन्छ ।

त्यसले पार्टीलाई मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति मिल्छ र एकजना मात्रै उम्मेदबार भयो भने हामी सजिलोसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो कार्यक्रम गरेका हौँ ।

तपाईहरू तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कसरी सम्भव छ ?

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नु पर्यो । वार्तामा बसेर कुनै टुंगोमा त पुराउनु पर्यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनु पर्छ । र, हामी गम्भीर छौँ भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौँ भने त फेरि परिर्वतन हुँदैन । त्यसैले हामीले यति चाहिँ के भन्नु पर्यो भने हामीमध्ये एक जना उभियौँ भने सजिलोसँग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने लागेको छ ।

अनि त्यो समयमा रामचन्द्र र शेर बहादुर जीको व्यवस्थापन कसरी गर्नु हुन्छ ?

शेर बहादुर जीको त धेरै उमेर भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनु हुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो । तर, मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनु पर्ने हो ठाउँ । तर, उहाँ प्रत्यासी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नु पर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् ।

मलाई लाग्छ शेर बहादुर जीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भईसक्नु भयो । उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनु हुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी अप्ठयारो हुन्छ ।

अहिले महामन्त्री हुनुहुन्छ ?, तपाईको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नु हुन्छ ?

सबैभन्दा पहिले त मैले अधिराज्यभरिका कांग्रेसका कार्यकर्तासँग भेटघाट गरिरहेको छु । उनीहरूको राय, सल्लाहा, सुझाव एउटा त्यो भयो । दोश्रो कुरा नेताहरूबीचमा संवाद हुनु जरुरी छ । हुन त कुरा भइरहेको छ । नभएको होइन । शेखर दाइ, प्रकाशमान जी, रामचन्द्र जी र विमलेन्द्र जीसँग कुरा त भइरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौँ । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनु पर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

आफ्नो कार्याकालमा शशांक कोइरालाले बोल्नु पर्ने बेलामा बोलेनन् भन्ने छ नि ?

म भन्न चाहन्छु । एउटा त शेर बहादुर हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ । जसले उहाँलाई डिफेण्ड गरेँ । मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन । हामी पनि पदाधिकारीहरु हौँ । हाम्रो पनि उत्तिकै गल्ती हो । मैले ढाल बने शेर बहादुर जीको । मैले शेर बहादुर जीलाई धेरै सेभ गरेको हो । र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुर जीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्रभए त मैले पनि त बोल्न सक्थेँ नि ।

तपाईले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईलाई दिँदै छु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नु पथ्र्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टीभित्र ? त्यो हिसाबले मैले नबोलेको ।

तर, पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहिँ ? तीन तीन पटक धर्मको बारेमा बोल्दिनु भयो नि ?

हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले शुशिल दालाई भनँे, ‘हेर्नुहोस् शुशिल दा, यो विपी कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । तपाईले धर्म निरपेक्षता किन गर्दै हुनुहुन्छ ? उहाँ हतारमा हुनु हुन्थ्यो । ५ ,७ दिन मात्रै बाँकी थियो । उहाँले भन्नुभयो, ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो चेञ्ज गरौँला ।’

त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनु भएन भने त शुशिल कोइराला पनि फेलियर भएर जानु हुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनु भयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि । त्यो उपलब्धि पनि जान सक्ने सम्भावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दाहरू के हुनेछ ?

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हाम्रो धरासायी हुने प्रथम कारण के हो भने टुक्रा टुक्रा भएको, गुट उपगुटहरुले ध्वस्त पारेको छ । सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ । उहाँ त सबैको सभापति हो नि । उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनु हुन्थ्यो । तर, उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔँ । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । विपी कोइरालाले सभापतिय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरू चाहिँ मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सियल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनु पर्यो । तर ऊ आइसकेपछि उसले आफ्नो
शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनु पर्यो । महामन्त्री एकजना, उपसभापति जना….यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनु पर्यो । सबैले लडेर हुँदैन । अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउन ुपर्छ भन्ने मैले सोचेको छु ।

शासकीय स्वरुपलाई बहसमा ल्याउनुपर्छ भनेको छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ, यसमा तपाईको टिप्पणी के छ ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै वर्षदेखि उठिरहेको छ । म चाहिँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आफ्नो बहुमत ल्याउँछ । त्यहीअनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुँदैन ।

अन्त्यमा, महाधिवेशनबारे सबै टुंगो लागेर नयाँ कार्य तालिका कहिलेसम्म आउला ?

सबैभन्दा पहिला त क्रियाशिल सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनु पर्छ । त्यसमा हामी लागि रहेका पनि छौँ । समिति बनाएर जिम्मा लगाएका छौँ । अरु पार्टीबाट आएका समावेश हुनु पर्यो । विजय गच्छदारको पार्टी, सुनिल थापा जीको पार्टीको क्रियाशिलहरु समावेश हुनु पर्यो । र, त्यसपछि हाम्रो आन्तरिक समावेश हुनु पर्यो । मलाई लाग्छ यो शीघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ ।

प्रतिक्रिया