मंगलबार, वैशाख ४, २०८१

अझै घटेन कोरानाको संक्रमित दर : हेल्च्याक्राई नगरौँ

सञ्जिता खनाल २०७८ असार २६ गते १६:४९

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चहलपहल ह्वात्तै बढेको छ । तर, चिकित्सकहरूले निषेधाज्ञा खुकुलो भए पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर नघटेको हुँदा सचेत हुन आग्रह गरेका छन् । सरकारले गत वैशाख १६ गतेदेखि लागु गरेको निषेधाज्ञा असार २३ गतेदेखि खुकुलो बनाएको हो ।

‘स्मार्ट लकडाउन’का रूपमा खुकुलो भएको निषेधाज्ञामा केही संघ संस्था मात्रै सञ्चालन हुन बाँकी रहेको छ । तर, २३ असारयता सार्वजनिक सवारी साधानसहित व्यापारिक केन्द्रहरू खुलेको छ । खुकुलो निषेधाज्ञामा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले आग्रह गर्दै आइरहेको छ । तर, बढ्दो भिडभाड र चहलपहल हेर्दा मानिसहरू बेपर्वाह देखिन्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार निषेधाज्ञा खुकुलो भए पनि संक्रमण दर कायम रहेकाले हेल्च्याक्राइ गर्न नहुने बताउँछन् । ‘कोरोना परीक्षणको दर घटेको हुँदा संक्रमण दर घटेको देखिन्छ, परीक्षण बढेको दिन संक्रमण बढ्छ, त्यस कारण संक्रमण समुदायमै रहेको हुँदा सचेत बन्नै पर्ने हुन्छ,’ डा पुनले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने, ‘निषेधाज्ञा छैन, सबै खुले भनेर हेल्च्याक्राइँ गर्ने अवस्था भने छैन, यसमा सबै सर्तक र सचेत हुनै पर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले निषेधाज्ञा खुकुलो हुनेबित्तिकै सर्वसाधारणहरुले पहिलो लहरको संक्रमणपछि गरेको गल्ती फेरि दोहोर्याएको बताउँछन् । अहिलको कोरोना संक्रमण अझै रहेको र मानिसहरूले फेरि जनस्वास्थ्यको मापदण्डलाई पालना नगर्ने र बेवास्ता गरेकाले आगामी दिनमा संक्रमण बढ्ने खतरा देखिएको उनले बताए ।

‘अहिले निषेधाज्ञा खुकुलो भएपछि फेरि मानिसहरूले कोरोनाको त्यो भयावह अवस्थालाई बिर्सिएको जस्तो देखिन्छ। त्यसले गर्दा अहिलेको अवस्थालाई हेर्दा कोरोना संक्रमण फेरि बढ्न सक्छ,’ डा बास्तोलाले भने, ‘एक त भाइरस नै संक्रामक छ, त्यसमाथि मानिसहरूको व्यवहार परिवर्तन हुनै सकेको छैन ।’

उनका अनुसार मंसिरमा पहिलो लहरको संक्रमण कम भएपछि मानिसहरुले कोरोनालाई बिर्सेर जनस्वास्थ्यका मापदण्ड तोडेका थिए । जसले गर्दा फागुनपछि नयाँ भेरिएन्टसहितको भाइरस फैलियो । वैशाखमा फेरि निषेधाज्ञा नै गर्नुपर्ने अवस्था आएको थियो । ‘हामी संक्रमणको जोखिममा नै छौं, अहिले नै स्वास्थ्यको मापदण्डको पालना गर्न बिर्सन हुँदैन,’ उनको आग्रह छ ।

संक्रमणको जोखिम सबैभन्दा बढी काठमाडौं उपत्यकामा छ । उपत्यकामा बढ्दै गएको भिडभाडले थप खतरा बढेको जनस्वास्थ्य विज्ञको भनाई छ । जिल्ला प्रशासन कार्यलयले जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो बनाइएको र हरेक कार्य गर्दा वा घरबाहिर निस्किँदा जनस्वास्थ्यको मापदण्ड पालना गर्नु पर्ने भनेको छ । तर, उपत्यकाका मुख्य बजारमा कोरोना संक्रमण नै नभएजस्तो गरी मानिसहरुको भिडभाड बढेको देखिन्छ । तर चिकित्सकहरुले यस्तो हाम्रो व्यवहारले पुनः संक्रमण फैलाउन मद्दत पुग्ने भन्दै जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिरहेका छन् ।

यस्तो छ कोरोना संक्रमणको चित्र

लकडाउन खुकुलो हुनुभन्दा अघिल्लो १० दिनमा

लकडाउन खुकुलो हुनुभन्दा अघिल्लो १० दिनमा मात्र २६ हजार ४२८ जनामा कोरोना पुष्टि भएको सरकारको तथ्यांकमा देखिन्छ ।
३८ हजार ५०५ जना त्यो समयमा निको भएका थिए । निको हुने संक्रमितको संख्या भन्दा १२ हजार ७७ संक्रमितको संख्या बढी छ । सोही अवधिमा ४१० जनाले संक्रमणका कारण ज्यान गुमाएका थिए । यो तथ्याकं असार ५ गतेदेखि असार १४ गतेसम्मको हो ।

असार ५ गते २,४०१ जनामा कोरोना संक्रमण देखिएको थियो भने ३,६६० जना निको भएका थिए । त्यस्तै, ३४ जनाको मृत्यु भएको थियो । असार ६ गते ३,४५६ जनामा कोरोना संक्रमित भेटिदा ३,४५६ जना निको भएका थिए । ५१ को मृत्यु भएको थियो । असार ७ गते २,२९७ जनामा संक्रमण देखिदा ३,१३० जना निको भएका थिए भने ४६ जनाको मृत्यु भएको छ ।

असार ८ गते ४,५२२ जना संक्रमित भेटिदा ४१ जनाको मृत्यु र ४,९५४ जना निको भए । असार ९ गते २,४७५ जनामा कोरोना देखिदा ३,५५८ जना निको भएका थिए भने ८१ जनाको मृत्यु भएको थियो । असार १० गते २,४७५ जनामा संक्रमण देखिदा २,५१८ जना निको भए भने २४ जनाको मृत्यु भयो । असार ११ गते २,४७६ जनामा कोरोना देखिदा ५,४५५ जना निको भए भने २७ जनाको मृत्यु, असार १२ गते २,०१६ मा संक्रमण देखिदा ४,९१४ जना निको भए भने ३० जनाले ज्यान गुमाए ।

असार १३ गते १,९२० जनामा संक्रमण देखियो भने ३४ जनाले ज्यान गुमाए भने ३,००७ निको भए । असार १४ गते २,४४४ जनामा संक्रमण देखिदाँ ३,८५३ जना निको भए । ४२ जनाले ज्यान गुमाए ।

लकडाउन खुकुलो भएपछिको १० दिनमा

पछिल्लो १० दिनको तथ्याकंअनुसार संक्रमणको दर केही कम देखिए पनि परीक्षण कम हुँदा संक्रमणको दर घटेको मात्र देखिएको विज्ञहरुले बताएका छन् । पछिल्लो १० दिन अर्थात असार १५ गतेदेखि २५ गतेसम्म्ममा २६ हजार ८६७ जनामा कोरोना पुष्टि भएको छ । २७ हजार ७६३ जनाको संक्रमणमुक्त भएका छन् । २८९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

कुन दिन कति ?
गत असार १५ गते २,६३६ जनामा संक्रमण देखिदा ४,३४८ जना निको भए । २० जनाको मृत्यु भयो । असार १६ गते २,८९२ जनामा संक्रमित थपिदा ३,५९७ जना निको भए भने ४१ जनाको ज्यान गयो । यसैगरी, असार १७ गते २,७६० जना संक्रमित थपिदा ४,०१७ जना निको भए । ३३ जनाको मृत्यु भएको थियो ।

असार १८ गते २,२९९ जना संक्रमित थपिदा ३,४५१ जना निको भए भने ३४ जनाको ज्यान गयो । असार १९ गते २,३२८ जना संक्रमित थपिए भने ३,०६६ जना निको भए । १९ जनाको मृत्यु भयो । असार २० गते १,६०३ जना संक्रमित थपिए भने २,५५२ जना निको भए । २७ जनाको मृत्यु भयो । असार २१ गते २,६२२ जनामा कोरोना पुष्टि हुँदा २,२११ निको भए । २३ जनाको मृत्यु भयो । असार २२ गते २,६३४ जनामा संक्रमण देखिदा १,५६५ जना निको भए । १५ जनाको मृत्यु भयो ।

असार २३ गते २,९७९ जनामा संक्रमण देखिदा १,३३३ जना निको भए भने २८ जनाको मृत्यु भयो । असार २४ गते १,८७५ जना संक्रमित भेटिदा १,२८६ जना निको भए । २० जनाले ज्यान गुमाए । असार २५ गते २,२३९ जनामा कोरोना पुष्टि हुँदा १,३१६ जना निको भए । सोही दिन २० जनाले ज्यान गुमाए ।

यी तथ्याकंले पनि संक्रमण दर नघटेको देखाउँछ । अझै पनि संक्रमणको प्रतिशत २४ भन्दामाथि छ । विश्व स्वास्थ्य संगठनले २१ प्रतिशतभन्दा माथिलाई जोखिम रहेको बताउँदै आएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सडकमा देखिएको भिडले फेरि कोरोना संक्रमण बढ्न सक्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले निषेधाज्ञा खुकुलो कोरोना संक्रमणको जोखिम कम भएर नभएको बताए । ‘लामो समयदेखि निषेधाज्ञा गर्दा जनजीवन र आर्थिक गतिविधि प्रभावित हुने भएकाले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने निर्देशनसहित निषेधाज्ञा खुकुलो बनाइएको मात्र हो, संक्रमण दर कम भएर होइन,’ अधिकारीले भने । जनस्वास्थ्यको मापदण्ड पालना गरेमात्रै संक्रमण नियन्त्रणमा आउन सक्ने डा अधिकारीको भनाइ छ।

उनले अहिले पनि अत्यावश्यक काम गर्ने अवस्थामा मात्रै घर बाहिर निस्कने, घरबाहिर निस्किदा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात धुने लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने विषयमा जोड दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले पछिल्लो समय परीक्षण दर घट्दा संक्रमण दर घटेको देखिएको बताए । उनले लक्षण देखिने बितिकै परीक्षण गराउन र छुटै बस्न आग्रह गरे ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया