शनिबार, वैशाख ८, २०८१

अभिनयमा छुच्छी छु, तर वास्तविकतामा अर्कै छु

निरु खड्का (निर्मली) २०७८ असार २६ गते २०:१०

हामी सबै मानिस आफूले गरिरहेका काममा मेहनत नै गरिरहेका हुन्छाैं । त्यसरी मेहनत गरेर गरेको काम मन नपर्ने कुरै भएन । सबै काम हाम्रा लागि उत्तिकै मन पर्ने हुन्छन् । तर काममा संलग्न भएको बेला अरु बिर्सिएर जुन काम गर्न खोजिन्छ, त्यही मात्र राम्रो लाग्ने हुन्छ । वास्तवमा भन्दा आफूले गरेको काम, ध्यान, नृत्य, अभिनय, विज्ञापन, भ्वाइस रेकर्ड मन पर्नु स्वभाविकै हो । मैले सरकारी जागिर छाडे पनि मैले गर्ने ध्यान, नृत्य, अभिनय र प्रेमबारेमा केही भन्छु :-
ध्यानः
सबैभन्दा पहिला चर्चा गरौं ध्यानको । केही काम गर्दापनि मान्छेमा शान्तिको आवश्यकता छ । शान्ति तब मिल्छ जब खुसी मिल्छ, खुसी ध्यानले हुन्छ । ध्यानमा आध्यात्मा हुन्छ । यसलाई मानिसहरुले धर्मसँग जोड्छन् । आफू खुसी हुनका लागि ध्यान गरेकी हुँ । मेरो बुझाइमा पनि ध्यान केहो ? रहस्यको विषय भएको छ । तर म यसमा यति आनन्दित भएकी छुँ र त्यसलाई फलो गरिरहेकी छुँ ।

अहिले मेरो लागि ध्यान पिसफूल समय हो । जुन २४ घण्टामा २१ मिनेट म ध्यानमा पोख्त हुन्छु । २१ मिनेटको पिस फूलको समयले मेरो काममा सहजता ल्याउँछ । दिनभर काममा व्यक्त गराउँछ । सकारात्मक सोचतर्फ उन्मुख गराउने भएकाले मैले ध्यान रोजेकी हुँ । अध्यात्ममा लागेको मान्छे ठूलो हुन्छ भन्ने होइन । कोही पनि मान्छे अध्यात्ममा जाँदा रिसलाई कसरी शान्त राख्ने ? मनमा खुसी कसरी राख्ने ? भन्ने मात्र हो । साधु सन्त हो भन्ने होइन । यसमा आफ्नै भावना इच्छासँग छलफल गर्ने हुन्छ । ध्यानमा जानु अघि शारीरिक व्यायाम गछौं । व्यायाम गर्दा शरिर बलियो हुन्छ । अनि हामी प्रणायाम गछौं । त्यसपछि मात्र ध्यानमा बस्छौं ।

२०७२ सालको भुकम्पको बेला म आफैं परे । माटोले बनेको घर भत्कियो । म, छोरी र बुढा दोस्रो तलामा थियौं । लोग्ने माथि भएकाले माथिबाट निकालियो । छोरीलाई भित्ताामा प्वाल बनाएर निकालियो म ओरालोमा भएकाले मेरो खुट्टा भास्सियो । मेरो खुट्टा अड्किएकाले खुट्टा निकाल्दा रिस्क्यु भयो । खुट्टा काट्नुपरे काट्ने तर मर्न नदिउँ भनेर मलाई निकाल्न थालियो । त्यसबेला मलाई डरसँगै मेरो जन्म हुन थालेको फिल भयो । म निस्किएपछि त पुर्नजन्म भएको महसुस भएको छ ।

तर भुकम्पको कम्पनले मेरो मस्तिष्कको केही भाग पनि कम्पन गर्यो । जुन म भित्रको घृणा, द्वेष, तितो अनुभव दिमागको कतै कुनामा बसेको थियो । भुकम्पको कम्पनले निस्किदै गयो । त्यसको केही समयपछि म अमेरिका बसे । अमेरिकाबाट फर्किएपछि मेरो डिप्रेसनको लेभल मोटोरेट भयो । मेरो छोरा जन्मेपछि मलाई जीवनप्रतिको विस्तृणा, मर्न मन लाग्ने अवस्थामा पुगे । २ पटक त कोशिस पनि गरे । डा ऋषुबन्धले मेरो परिवर्तनको लागि ठूलो सहयोग गर्नुभयो । मैले उपचारका क्रममा औषधिहरु खाएँ ।

मेरो अवस्था देखेर मेरो श्रीमान् (नरोत्तम गौतम)ले जीवनको लागि चक्र विज्ञानको आवश्यकतामा जान सल्लाह दिए । म त्यता लागे । उहाँले पहिला नै त्यसको कोर्स गर्नुभएको थियो । त्यसकारण ध्यान हरेक मानिसलाई जरुरी छ । हाम्रो पूर्वीय संस्कारमा ध्यान अनिवार्य थियो । पूर्वजहरुले ध्यान को महत्व र दैनिक जीवनमा यसकाे प्रभाव बुझेर नै त होला ध्यानलाई अमृत मानेका छन । जंगल, कुटी वा एकान्तमा मात्र ध्यान गर्नुपर्छ भन्ने छैन । जहाँ आनन्द छ त्यहाँ श्वासकाे गतिलाई महसुस गर्दा नि ध्यान हुन्छ । यो ध्यान गर्ने काम धेरै गाह्रो अझ विशेष गरेर आफ्नाे भावना र विचार असन्तुलित भाको बेला गर्ने हो । तर जब जीवन विज्ञानको चक्र विज्ञान गर्ने अवसर पाए । ध्यानप्रतिको सबै भ्रम टुट्यो । मेडिसिन मेरो हट्दै गयो । कलाकारितालाई निरन्तरता दिन पाएँ । प्रोडक्सन हाउस निर्माण गरेको छुँ । त्यसमा पनि समय दिएको छुँ । यसले टेलिफिल्म, भ्वाइस रेकर्ड, कार्यक्रम बनाउने गर्छ । सबै सकारात्मक सोच र ध्यानले नै हो । त्यसैले ध्यान मलाई मनपर्छ ।

अभिनयः
कलाकारिता क्षेत्रमा म आउँदा मलाई यो क्षेत्र ठिक होइन, नजा भनेर अग्रजहरुले सल्लाह दिनुहुन्थ्यो । तर मेरो इच्छा नै यहि भएकाले म यसैमा लागेँ । म यो कर्मको क्षेत्र भएकाले जीवन अगाडि बढाउन, र आफूलाई राम्रो बनाउने काममा लागेको छुँ । मेरी बास्सै प्रत्येक मंगलबार नेपाल टेलिभिजनबाट प्रसारित हुन्छ । टेलिसिरियलमा अहिले यसैमा छुँ । यसबाहेक म भ्वाइस रेकर्ड पनि गर्छु । केही विज्ञापनमा पनि देखिएकी छुँ । टेलिभिजनमा आउने एउटा सिरियलभन्दा अर्कोमा आउने मेरो इच्छा नभएकोले एउटैबाट चर्चामा आउने, एउटैमा राम्रो काम गर्ने इच्छाले मेरी बास्सैकी ‘निर्मली’ भएकी हुँ । एउटी छुच्ची पात्र, घरज्वाईकी श्रीमती, झगडा गर्ने नराम्रो रोलमा देखिएकी छुँ ।

म एउटा कलाकार छुच्ची हुँदा धेरै ऐना हेरे । नराम्री भएर होकी जस्तो पनि लाग्छ । तर कला भनेको फरकता हो । जापानिज नाटक उइन्टर सनाटाको भ्वाइस ओभर पनि दिएकी छुँ । त्यो मनपर्छ । यो क्षेत्रमा सक्रिय भएको डेढ दशक पुग्यो । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘थोरै भए पुगी सरी’ टेलिफिल्मबाट करिअर सुरु गरेकी थिए । करिब २२ वर्षको उमेरमा अधवैशे महिला अरुन्धतीको भूमिकामा मलाई सबैले मन पराए । अब कोरोनाको सहजता बढेकाले सबै खुला हुँदै गएकाले नियममा रहेर चलचित्रमा पनि आबद्ध हुन्छु ।

नृत्यः
नृत्य मैले धेरै गीतहरुमा गरेकी छुँ । कोरस डान्सबाट नृत्यमा पाइला टेकेकी मैले राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रममा अभिनयसँगै नृत्य गरेकी छु, गर्छु पनि । तर नृत्य गर्ने एउटा समय, उमेर हुँदो रहेछ । त्यो उमेर कटेपछि नृत्य गर्न सकिँदैन । तर अभिनय मर्दासम्म गर्न सकिन्छ । त्यसैले केही वर्षपछि मेरो नृत्यमा सहभागिता नहुन सक्छ । सबै गीत राम्रो लाग्छ । शुरुमा नाचेको मादल बजाइदेऊ पानीमा गीत बिर्सन सक्दिन ।

सरकारी जागिर छाडेकी निर्मलीः
सरकारी क्षेत्रमा पनि अभिनय, नृत्यको स्थान छ । नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय नाचघर, प्रज्ञाप्रतिष्ठान, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी यिनै थाहा पाएर म निर्मली २०६२ सालमा सशस्त्र प्रहरीमा कलाकारको लागि अप्लाई गरे । सबै परिक्षामा पास भएँ । जागिर पाएँ ।
तर मैले कलाकारितामा पूर्ण रुपमा सरकारी क्षेत्रबाट स्वतन्त्र हुन नपाउने महसुस भयो र छाडें । तर सबैले बुद्धि नभाकी सरकारी जागिर छाड्ने हो र ? भन्छन् । मैले स्वतन्त्र देखिन छाडे । यो मेरो इच्छाको कुरा हो ।

खुसीको क्षणः
सबैलाई कसरी मापन गर्ने भन्ने हुन्छ । कहिले काहीं यत्तिकै पनि खुसी भइन्छ । अभिनय, नृत्य शुरु गर्दा खुसी भएँ । तर आफूलाई मैले भन्नुपर्दा छोरा र छोरी जन्मिएको क्षण धेरै खुसी लाग्छ । आफूले बच्चा जन्माउदाको समय आफ्नो बुवा आमाको महत्व पनि बुझिँदो रहेछ । मैले मेरो बुबा आमाको माया र महत्वलाई बुझ्ने मौका पाएको समय भनेको आफूले छोरी पाउँदाको अवस्था हो । त्यो खुसीको मुभमेन्ट पनि हो । नयाँ टर्निङप्वाईन्ट पनि हो ।

प्रेमः
आफू कलाकारितामा भएकाले विवाह गर्ने भनेर प्रेम प्रस्ताव आउनु सामान्य प्रक्रिया हो । मलाई पनि नआएको होइन । कुन प्रस्ताव स्वीकार गर्ने र कुन मतलब नगर्ने भन्ने कुरा आफूमा निर्भर हुन्छ त्यो पनि जीवनलाई हेरेर । कसैले आफूलाई प्रेम प्रस्ताब राख्दा यो मेरो जीवनभरीको लागि हुन्छ त भन्ने हाम्रो मनले नै भन्दो रहेछ । यो मेरो क्राइट एरिया मिट गर्ने जीवनसाथी खोजे । मेरो श्रीमान् र मेरो लाईन फरक हो । तर उहाँको साथले मेरो काममा सहज बनाउँछ । मेरो प्रेम उहासँग भएर जीवनसाथी बनाउनुमा रातो कपडा आफूलाई मन पर्छ भने रातो नै खोज्छु भने जस्तै मिल्यो । लभ पर्यो, बिहे गरे । सन्तान् छन् खुसी र सुखीमा जीवन गइरहेको छ ।

मैले नै खोलेको प्रडक्सन हाउसलाई अगाडि बढाउने योजना छ । विज्ञापन, भ्वाइस रेकर्ड, नाटक, अभिनय नृत्य सबैमा प्रेम छ तर नृत्य केही समयपछि छाड्छु । म अभिनयमा छुच्छी छुँ । तर परिवारमा, साथी, कसैले मलाई छुच्छी देख्नुहुन्न । सबैले मलाई प्रेम गर्नुहुन्छ । मैले पनि गर्छु ।(किरण अधिकारीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया