शुक्रबार, वैशाख १४, २०८१

कसरी मारिए हाइटीका राष्ट्रपति ?

हाइटीका राष्ट्रपति जोभेनेल मोसेको हत्याकाण्डमा घरेलु राजनीतिक षडयन्त्र र विदेशी कनेक्सन देखिएको छ

केशरमणि कटुवाल २०७८ असार २६ गते १०:४१

लामो समयदेखिको राजनीतिक अस्थिरता, सत्तापलट, तानाशाहीतन्त्र र प्राकृतिक विपतले क्यारेबियन राष्ट्र हाइटीलाई अमेरिकी क्षेत्रको सबैभन्दा गरिब राष्ट्र बनाइदियो । १२ जनवरी, २०१० मा आएको भूकम्पले लाखौंको मृत्यु भयो भने हाइटीको अर्थव्यवस्था र आधारभूत संरचनामा नै ठूलो नोक्सान पुग्यो। सोही कारण १ करोड १० लाख जनसंख्या भएको हाइटीका ६० प्रतिशत जनता गरिबीको रेखामुनि छन् ।

हाइटीमा राजनीतिक स्थिरता ल्याउन सहयोग गर्न सन् २००४ मा राष्ट्रसंघ मार्फत शान्ति सेना तैनाथ गरियो र २०१७ मा फिर्ता गरिएको थियो । सोही वर्षदेखि हाइटीको राष्ट्रपति बनेका जोभेनेल मोसेको हत्या भएको छ। केही महिनादेखि जारी राजनीतिक अस्थिरता र सरकारविरोधी प्रदर्शनबीच राष्ट्रपति मोसेको राष्ट्रपति निवासमै हत्या भएको हो भने उनकी पत्नी गम्भीर घाइते भएकी छन् ।

केशरमणि कटुवाल

माइकल मार्टलीको स्थानमा सन् २०१७ मा राष्ट्रपति बनेका मोसेको कार्यकाल गत ७ फेब्रुअरीमा नै सकिनुपर्ने भन्दै विपक्षीहरुले प्रदर्शन गर्दै आएका थिए । बढ्दो राजनीतिक संकटबीच राष्ट्रपतिको हत्याले हाइटीमा फेरि अर्को अस्थिरता र अन्योलको अवस्था सिर्जना भएको छ । राष्ट्रपति जस्तो कडा सुरक्षा घेराबीच रहने व्यक्तिको कसरी हत्या भयो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ र प्रारम्भिक रुपमा यो हत्या विदेशी शक्तिको षड्यन्त्र र संलग्नतामा भएको देखिएको छ ।

५३ वर्षीय जोभेनेल मोसेको हत्याका लागि दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाका २६ जना र २ जना हाइटी मूलका अमेरिकी नागरिकको संलग्नता देखिएको छ । जसमा १५ जना कोलम्बियन र दुई जना अमेरिकी नागरिक पक्राउ परिसकेका छन् । पक्राउ पर्ने अमेरिकीमा जेम्स सोलागेज र जोसेफ भिन्सेन्ट रहेका छन्। हत्यामा सामेलमध्ये १३ कोलम्बियन र २ अमेरिकी पूर्व सैनिक हुन् ।

हाइटीका प्रहरी प्रमुख लियोन चाल्सले राष्ट्रपतिको हत्यामा २६ कोलम्बियन र २ अमेरिकी गरी २८ जना कमाण्डो परिचालित भएको पाइएको बताएका छन् । हत्यामा विदेशी कमाण्डो प्रयोग भएको देखिए पनि उनीहरुलाई राष्ट्रपति निवासमा कसरी सहज प्रवेश मिल्यो भन्ने कुरा कसैले बाहिर ल्याएको छैन । राष्ट्रपतिको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले समेत थाहा नपाई हमलाकारी राष्ट्रपतिको निवासमा पुगेर दर्जनौं गोली चलाएर राष्ट्रपति भवनबाट बाहिरिएको देखिन्छ । जसले गर्दा यो घटनामा विदेशी शक्तिसँगै हाइटीका सुरक्षाकर्मी र त्यहीका राजनीतिक शक्तिहरु समेत सामेल हुनसक्ने आशंकालाई बलियो बनाएको छ । त्यसैले यो हत्या अमेरिकाको नाकैमुनि रहेको गरिब क्यारेबियन देशमाथि नाङ्गो विदेशी हस्तक्षेप र घरेलु राजनीतिको बिग्रदो अवस्थाको उदाहरण हो । यद्यपि घटनाबारे थप अनुसन्धानपछि मात्रै घटनाका अन्य पक्षबारे खुल्न सक्नेछन् ।

हत्याकाण्डमा संग्लन्न हमलाकारीका पासपोर्ट

हमलाकारी कसरी घुसे ?
बुधबार राजधानी पोर्ट–अ–प्रिन्समा राष्ट्रपति जोभेनेल मोसेको हत्या भयो । सो घटनामा उनकी पत्नी घाइते भएकी छन् । राष्ट्रपति कार्यालय र बेडरुम समेत तोडफोड गरिएको छ । हमलापछि उपचारका लागि फ्लोरिडा लगिएकी उनकी पत्नी मार्टिन मोसेको अवस्था नाजुक र स्थिर भएको बताइएको छ । राष्ट्रपतिको हत्यापछि अन्तरिम प्रधानमन्त्री क्लड जोसेफले आम जनतालाई शान्त रहन आग्रह गर्दै राष्ट्रव्यापी संकटकाल घोषणा गरेका छन् । संकटकालको समयमा अन्तरिम प्रधानमन्त्रीको हातमा अधिक शक्ति हुनेछ र प्रहरीको कामका लागि सेनाको प्रयोग गर्न सक्नेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘भयानक हत्या’ र बेलायती प्रधानमन्त्रीले ‘एक घृणित कृत्य’ को संज्ञा दिएका छन् । संयुक्त राष्ट्रसंघले अपिल जारी गर्दै सबै राजनीतिक दललाई हिंसा या भड्कावपूर्ण क्रियाकलाप नगर्न अपिल गरेको छ ।

हतियारले लैस हमलाकारीले पोर्ट–अ–प्रिन्सको पहाडी क्षेत्रमा रहेको राष्ट्रपति निवासमा हमला गरे। अन्तरिम प्रधानमन्त्री क्लड जोसेफका अनुसार आक्रमणकारी विदेशी थिए र उनीहरुले अंग्रेजी र स्पेनिस भाषा प्रयोग गरेका थिए । हाइटीमा आधिकारिक रुपमा क्रेओल या फ्रेन्च भाषा बोलिन्छ। यसबाट हत्यामा विदेशी व्यक्तिहरु संलग्न रहेको पुष्टि हुन्छ ।

राष्ट्रपति जोभेनेल मोसेको निवास

राष्ट्रपति मोसेको टाउको, छाती, पेट र पिठ्युमा गरी १२ गोली लागेको छ । आक्रमणमा राष्ट्रपति र उनकी पत्नीलाई मात्रै गोली लागेको छ । राष्ट्रपति मोसेकी छोरी जोमर्ली सो समयमा आफ्ना भाइको कोठामा लुकेकी थिइन् । घरमा काम गर्ने दुई जना कामदारलाई आक्रमणकारीले बाँधिदिएका थिए । सरकारी अधिकारीहरुले राष्ट्रपतिका तीन सन्तान जोमर्ली, जोवेनेल जुनियर र जोवेरलिनलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ। हमलापछि जारी गरिएको एउटा भिडियोमा कालो पोशाकमा हतियारले लैस भएका व्यक्तिहरु राष्ट्रपतिको घरबाहिर रहेको देखिन्छ । उनीहरु भनिरहेका थिए, ‘डीईए (यूएस ड्रग इन्फोर्समेन्ट एजेन्सी) को अभियान हो, सबै जना निहुरिनुहोस् ।’

अमेरिकाका लागि हाइटीका राजदूत बुचित एडमन्डले अमेरिकी ड्रग एजेन्टले यो कारबाहीको दाबी गर्नु असम्भव भएको बताए । उनले यो हमलामा भाडाका पेशेवर हमलाकारी भएको बताएका छन् । पछि उनीहरुले योजनाबद्ध रुपमा एजेन्ट भएको बताए । देशका नाममा सन्देश जारी गर्दै अन्तरिम प्रधानमन्त्री क्लड जोसेफले आक्रमणकारीमाथि उचित सजायको सुनिश्चितता गरिने बताएका छन् । उनले अहिले अवस्था नियन्त्रणमा आइसकेको पनि दाबी गरेका छन् ।

देशमा कसको नियन्त्रण ?
अन्तरिम प्रधानमन्त्री क्लड जोसेफले देशको शासन व्यवस्था सुचारु रुपले कायम राख्न सबै कदम उठाएको बताएका छन् । यद्यपि हमलाकारी विदेशी भएको र राष्ट्रपति जस्तो व्यक्तिको सुरक्षा घेराभित्र हमला भएपछि अब देश कसको हातमा छ र उनको नियन्त्रणमा कति छ भन्ने प्रश्न उठेको छ । यसै सातामात्रै राष्ट्रपति मोसेले प्रधानमन्त्रीको पदका लागि एरियल हेनरीको नाम अघि सारेका थिए । तर उनले अझै शपथ लिएका छैनन् । त्यसैले क्लड जोसेफले काम गरिरहेका छन् ।

जोसेफले देशमा चुनाव नभएसम्म आफूले नै कामकाज चलाउने बताएका थिए । यता एक अन्तर्वार्तामा हेनरीले आफ्नो क्याबिनेट चयनका क्रममा रहेको बताएका छन् । उनले अन्तरिम प्रधानमन्त्री जोसेफसँग कुनै टकराव नरहेको पनि बताएका छन् । यद्यपि उनी संकटकाल लगाउने भन्दा वार्ताबाट नै समस्याको हल खोज्नुपर्ने पक्षमा छन् । हाइटीको संविधान अनुसार यदि कुनै कारणले राष्ट्रपतिको पद खाली भएमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले राष्ट्रपतिको भूमिका निभाउछन् । तर केही साताअघिमात्रै कोरोना भाइरसको संक्रमणबाट प्रधानन्यायाधीश रेने सिल्भेस्टरको मृत्यु भएको थियो ।

चुनावमाथि आशंका
जोभेनेल मोसेको कार्यकाल उथलपुथलपूर्ण रह्यो । उनीमाथि विपक्षीले निरन्तर भ्रष्टाचारको आरोप लगाउँदै आएका थिए । राजधानीसहित देशका केही ठूला सहरमा उनको राजीनामा माग गर्दै विरोध प्रदर्शन भएका थिए । सन् २०१९ मा निर्वाचन हुनुपर्ने भए पनि राजनीतिक अस्थिरता र विवादका कारण निर्वाचन हुन सकेको थिएन । यसै वर्षको ७ फेब्रुअरीमा विपक्षीले राष्ट्रपति जोभेनेल मोसेको राजीनामा माग गर्दै आन्दोलन गरेका थिए । सोही दिन उनको हत्या र सरकारलाई अपदस्थ गर्ने कोशिसलाई असफल पारेको बताएका थिए ।

हाइटीमा पछिल्ला दिनमा सामूहिक हिंसा र अपहरणका घटना बढेका थिए । त्यसैले तत्कालै नयाँ निर्वाचन भएर सत्ता हस्तान्तरणको प्रक्रिया अघि बढ्नेमा प्रशस्त आशंकाहरु छन् । विदेशीको संलग्नतामा राष्ट्रपतिको हत्यापछि अझ राजनीतिक दलहरुबीच विश्वासको संकट पैदा भएका कारण देशः अनन्त अस्थिरतातर्फ जाने खतरा पनि उत्तिकै छ । खुला रुपमा कुनै शक्तिराष्ट्र नदेखिएपनि हाइटीको राजनीतिमा अमेरिकासहित त्यस क्षेत्रका शक्ति राष्ट्रको भूमिका संकट बढाउन या समाधानमा निर्णायक बन्न सक्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया