शुक्रबार, चैत १६, २०८०

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

मेरोन्यूज २०७८ असार २६ गते ६:५३

म्याग्दी । मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ३५ लाख अनुदानमा उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् ।

पुर्वाधार विकास कार्यक्रमको २५ लाख बजेटबाट पदमार्ग र पर्यटन पुर्वाधार कार्यक्रमको दश लाख बजेटले आश्रयस्थल निर्माण भएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले जानकारी दिए ।

“ओझेलमा परेको दुरलेकको पर्यटन विकासका लागि पुर्वाधार बनाएका हौं,” उनले भने “पुर्वाधार बनेपछि पर्यटकलाई सुविधा पुग्ने र चहलपहल बढ्ने अपेक्षा गरेका छौ ।” दुरलेकको झण्डी देखि मन्दिरसम्मको दुई किलोमिटर पदमार्ग निर्माण भएको छ ।

उकालो र भिरालोमा ढुङ्गाको सिँढी चिनेर र बिछ्याएर पदमार्ग बनाएको उपभोक्ता समितिका अध्यक्ष लालु पुनले बताए । पदमार्गको चौडाई १.५ मिटर छ । पदमार्ग बनेपछि चिप्लो बाटोमा लडेर दुर्घटना हुने र बाटो बिराउने समस्या हटेको स्थानीय भक्तबहादुर पुनले बताए ।

बस्तीदेखि टाढा रहेको दुरलेकमा पदमार्ग बनाउन रुमका ६५ जना मजदुर करिब ४५ दिन जङ्गलमै बास बसेका थिए । जङ्गलमै अस्थाइ टहरा बनाएर खानेबस्ने ब्यवस्था मिलाएर मजदुरलाई राखिएको थियो ।

Advertisement

यसैगरी प्रदेश सरकारकै दश लाख सहयोगमा दुरलेक नजिकै पाहुनाहरुको सुविधाका लागि आश्रयस्थल निर्माण भएको छ । दश मिटर लम्बाई र पाँच मिटर चौडाई भएको एक तले आश्रयस्थलको भवन बनाइएको छ । दुरलेक घुम्न जाने पर्यटकलाई रातको समयमा बास बस्न सहज होस भनेर आश्रयस्थल बनाइएको हो ।

समुद्री सतहदेखि तीन हजार छ मिटर उचाइमा रहेको दुरलेक डाँडो पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । दुरलेकले बागलुङको ताराखोला, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ ।

अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, चुरेनलगायतका हिमश्रृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ ।

सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न त्यहाँ आन्तरिक पर्यटक जाने गरेका छन् । दुरलेकमा पाँचऔले, सतुवालगायतका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । अनौठा आकृतिका आकर्षक ढुङ्गाहरु छन् ।

हिउँदमा सडकमार्ग भएर रुम हुँदै घ्याङ्लेपानी तथा त्यहाँबाट झण्डै चारदेखि पाँच घण्टाको पैदल यात्रापछि दुरलेक पुग्न सकिन्छ । सो क्षेत्रमा स्थानीयवासीले वर्षामा गोठ राख्ने गरेका छन् ।

दुरलेकमा खानेपानीको ब्यवस्थापन र मन्दिर निर्माण गरेर हिउँमा खेलिने स्कि खेलको सम्भाव्यता अध्ययन गर्न पहल गरेको वडा अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया