शुक्रबार, चैत १६, २०८०

एमाले विवाद समाधान उन्मुख, कार्यदलले आज अन्तिम रूप दिने

मेरोन्यूज २०७८ असार २६ गते ६:४३

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेपका एमालेले गठन गरेको कार्यदलले विवादित विषयमा सहमति पुगेको दाबी गरेको छ ।

गत सोमबारबाट घनिभूत छलफल गरेको कार्यदलले विवादित विषय किनारा लगाउन सहमत भएको दाबी गरेको हो । शुक्रबारसम्म ५ दिनको छलफलले एमालेभित्र पैदा भएको समाधान उन्मुख भएको हो ।

शुक्रबार करिब ७ घण्टा छलफल गरेको कार्यदलले भाषागत विषय टुङ्ग्याउन बाँकी छ । शीर्ष नेता र कार्यदलस्तरमा भएका छलफलका आधारमा विवाद समाधानको दिशामा अघि बढेको र आजको बैठकबाट किनारा लाग्ने कार्यदल सदस्यले प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले शुक्रबारको वैठक निकै सौहार्द र सघन रूपमा सम्पन्न भएको र बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने सहमतिमा पुगिएको बताए ।

‘कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं’, बैठकपछि उनले भने ।

Advertisement

सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका विषयमा आजको बैठकमा छलफल हुने उनले बताए ।

‘तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं’, शुक्रबारको बैठकपछि उनले भने, ‘त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविष्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दूर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टुंग्याउने छौं ।’

बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले पनि कार्यदलमा सहमति जुटेको बताए । एकाध विषयमा सहमति हुन बाँकी रहेको र आजको बैठकमा सहमतिमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिने र शीर्ष नेतालाई बुझाइने उनको भनाइ छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल समूहले असन्तुष्टि जनाएपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगको थियो ।

एकले अर्को लाई कारवाही गर्नेदेखि समानान्तर पार्टी कमिटीका बैठक सञ्चालनसम्म भएको थियो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सरकारबाट हटाउन नेता नेपाल समूहले विपक्षी गठवन्धनमा लागेर समेत आन्दोलन गरेको थियो ।

प्रतिक्रिया