मंगलबार, जेठ ८, २०८१

युरोकप विजेताले कति पाउँछ पुरस्कार ?

के क्रिस्टियानो रोनाल्डो नै हुन सक्छन् गोल्डेन बुटका दाबेदार ?

आयुश राठौर २०७८ असार २५ गते १८:२२

काठमाडौँ । जारी १६ औँ संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तिम अवस्थामा पुगेको छ । आगामी सोमबार राति १२ः४५ बजे बेलायतको वेम्बली स्टेडियममा अन्तिम खेल भएसँगै प्रतियोगिता समाप्त हुनेछ ।

Advertisement

यसपटकको युरोकप फाइनलमा विश्व विजेता देशहरू इटाली र इंग्ल्याण्ड भिड्ने भएका छन् । २४ वटा देशहरू सहभागी भएको प्रतियोगितामा इटालीले स्पेनलाई पराजीत गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै, इंग्ल्याण्डले डेनमार्कलाई पराजीत गरेको हो ।

फाइनल प्रवेश गर्नका लागि इटालीले स्पेनलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजीत गरेको थियो । यस्तै, इंग्ल्याण्डले डेनमार्कलाई २–१ गोलले पराजीत गरेको हो ।

इंग्ल्याण्ड पहिलोपटक युरो च्याम्पियनशिपको फाइनलमा पुगेको हो । उसले सन् १९६६ मा विश्वकप हात पारेको थियो । त्यसपछिका वर्षहरूमा जारी युरोकपको उपाधि इंग्ल्याण्डका लागि सबैभन्दा ठूलो उपाधि होड रहेको छ ।

५५ वर्ष लामो (वर्ल्डकप वा युरोकप) अवधिमा प्रमुख प्रतियोगिताको फाइनलमा प्रवेश गरेको इंग्ल्याण्ड पहिलो देश हुनसक्छ । जारी युरोकपको फाइनल खेल हुन लागेको वेम्बली स्टेडियममा नै इंग्ल्याण्डले विश्वकपको उपाधि हात पारेका थिए ।

युरोकप विजेताले कति पाउछ पुरस्कार ?

युरोकप महादेश स्तरीय खेल प्रतियोगिताको सबैभन्दा ठूलो प्रतियोगिता हो । २४ देश सहभागी यस प्रतियोगितामा विजेता हुने देशले ठूलो मात्रामा धन राशीसहित विभिन्न पुरस्कार पाउने छ ।

जारी युरोकपको फाइनल खेलका विजेता इटाली वा इंग्ल्याण्डले ठूलो धन राशी पाउने छ । विजेताले एक करोड युरो अर्थात एक अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पाउने छ ।

यस्तै, दोस्रो हुने देशले ७० लाख युरो अर्थात करिब एक अर्ब (९९ करोड, १५ लाख रुपैयाँ), तेस्रो र चौथो हुनेले ५० लाख युरो अर्थात ७० करोड ८२ लाख रुपैयाँ पाउने छ । यसैगरी क्वाटरफाइनलिष्ट ४ देशले ३२ लाख ५० हजार युरो अर्थात करिब ४६ करोड ३ लाख रुपैयाँ प्राप्त गर्दछन् ।

गोल्डेन बुटका दाबेदार को ?

जारी युरोकप फुटबलको गोल्डेन बुट अवार्डको हकदारमा अहिलेसम्म पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले रहेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था स्पोर्टिङ न्युजका अनुसार जारी युरोकपमा गोल्डेन बुटको पहिलो दाबेदार रोनाल्डोले ५ गोल गरेका छन् ।

यस्तै, गोल्डेन बुटका दोस्रो दाबेदार चेक गणतन्त्रका फारवर्ड प्याट्रिक शिकले पनि ५ गोल गरेका छन् भने तेस्रो दाबेदार फ्रान्सका फरवार्ड करिम बेञ्जामा, स्विडेनका मिडफिल्डर एमिल फोर्सबर्ग र बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु ४–४ गोल गरेका छन् ।

यस्तै, प्रतियोगितामा खेल्न बाँकी इंग्ल्याण्डका कप्तान तथा फरवार्ड ह्यारी केनले ३ गोल गरेका छन् । अब उसले फानइल खेल खेल्न बाँकी नै रहेकाले दाबेदारका रुपमा लिएको छ । एजेन्सीहरूको सहयोगमा

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया