शनिबार, वैशाख १५, २०८१

उपेन्द्र-महन्थ पक्षको विवाद

जसपाभित्रको विवादलाई नियाल्दा देखिएको चित्र

यिनीहरू न संसद बचाउने शर्तमा, न मधेसको मुद्दामा विभाजित भए । मात्रै को सत्तामा जाने भन्नेमा विभाजित हुन पुगेका हुन्

जय प्रकाश आनन्द २०७८ असार २६ गते १३:०१

राजनीतिक दलहरूको एकता-विभाजनलाई केलाउने, विश्लेषण गर्ने मेरो आफ्नै तरिका छ । दृष्टिकोण अलिक फरक छ । एकता र विभाजनमा मधेस केन्द्रीत पार्टीमा मेरो धारणा जस्तो हुन्छ । त्यस्तै धारणा लेफ्ट (कम्युनिष्ट) पार्टीको सवालमा राख्ने विषयमा समेत हुँदै आएको छ ।

जस्तो कि एमाले भनेको एक प्रकारको वामपन्थी पार्टी थियो । तर, त्यसमा क्रान्तिकारिता रहेन । एउटा वामपन्थी पार्टीको सिद्धान्त र सोच रहेन भनेर अर्काे दृष्टिकोणबाट अलिक र्‍याडिकल लेफ्टिक्स पार्टी माओवादीको उदय भयो ।

पछि यी दुई पार्टीले २०७५ जेठ ३ मा पार्टी एकताको घोषणा गरे । हामी सबैले देख्यौँ । यी दुई पार्टीको एकता धेरै टिकेन । अहिले अलग अलग पूर्ववतः अवस्थामै फर्किसकेका छन् ।

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता किन टिकेन ? यसभित्र मासिनहरूका आ–आफ्नै दृष्टिकोण छन् । एमालेलाई माओवादीले हेर्ने र माओवादीलाई एमालेले हेर्ने दृष्टिकोण नै फरक थियो । एमालेप्रति एकदम आलोचनात्मक दृष्टिकोण लिएर माओवादी पार्टी बनेको थियो । पछि सँगै बस्दा फरक देखिएका दृष्टिकोणलाई सम्बोधन गरेर उनीहरू हुन सकेनन् । फरक दृष्टिकोणका साथ नै कम्युनिष्टका दुई खेमा एकीकरणपश्चात एउटा पार्टीमा बस्नु पर्दा अनेक प्रकारको बेमेलहरू देखियो । र, अन्ततः दुवै आ–आफ्नै बाटो लाग्नु पर्ने अवस्थामा पुग्यो ।

जनता समाजवादी पार्टी (जसपा)को हकमा पनि ठिक त्यस्तै हो । यसभित्र राजपा र समाजवादी (पहिलेको फोरम) दुवैभिन्न दृष्टिकोणका साथ एक ठाउँमा आएका थिए । त्यहाँभित्र फरक दुई पृष्ठभूमि थियो । पूर्व राजपा समूह जसमा महन्थ ठाकुर र राजेन्द्र महतोले नेतृत्व गरेको पक्ष थियो । यो खेमामा थोरै अपवादबाहेक अधिकांश मानिस सद्भावना पार्टी पृष्ठभूमिका थिए ।

सद्भावना पार्टीले मधेसको सवाललाई ठिक ढंगले उठाएन । मधेसको नाममा सत्ताको राजनीति मात्रै गरिरह्यो । मधेसको मुद्दालाई बिर्सियो भनेर मधेसकै कुरा गर्ने, तर अलिकति उग्र कुरा गरी अलिकति बढी क्रान्तिकारी फोरमको जन्म भयो ।

एउटाले अर्काेलाई कम क्रान्तिकारी आँकेपछि फोरमको जन्म हुन पुगेको हो । सद्भावनाले आफ्नो उद्देश्यलाई ठिक ढंगले उठाउन नसकेको मूल्यांकनसहित फोरम जन्मिएको हो । तर, पछि विभिन्न रुप र नाममा विभिन्न मधेस केन्द्रीत नेताहरू यसका विभिन्न भिन्न खेमामा जोडिने र पार्टी बन्ने क्रम चल्यो ।

उमेरले पाको भनेको होइन । ६०/६१ वर्ष मात्रै भयो होला उपेन्द्र यादवको उमेर । तर, यहाँ भन्न खोजिएको विचारले उपेन्द्र जी पाको कम्युनिष्ट हुन् ।

त्यसमा पछि दुवै पार्टी एकै ठाउँमा आउने अवस्था बन्यो । तर, सम्पूर्ण मत भिन्नता यथावत थिए । त्यही मत भिन्नताका कारण यो पार्टी पनि नेकपाजस्तै धेरै टिकेन । वर्ष दिनमै छुट्टिने निर्णयमा पुगे । अब निर्वाचन आयोगले गर्ने निर्णयका आधारमा दुवै पक्ष आ–आफ्नो बाटो लाग्ने तयारी हुँदैछ ।

जय प्रकाश आनन्द

पहिलो कुरा, सद्भावना पार्टी असफल भयो । आफ्नो उद्देश्य सद्भावनाले पूरा गर्न सकेन । त्यसकारण बढी क्रान्तिकारी सोचको साथ, बढी आन्दोलनकारी सोचको साथ फोरम बनेको थियो । यो दुवै प्रवृति र विचार भएका मानिसहरू र पार्टीसमेत एकीकरणका नाममा एकै ठाउँमा आए । तर, यसभित्रका मतभिन्नता आफ्नै ठाउँमा थिए ।

दोस्रो कुरा– वैचारिक विषय पनि महत्वपूर्ण थियो । सद्भावना पार्टीको विकसित घटक अथवा राजेन्द्र–महन्थको पूर्व राजपाको जुन घटक छ, त्यसमा अधिकांश मानिस प्रजातान्त्रिक विचार धारा पक्षका थिए । चाहे त्यो महन्ठ ठाकुर, राजेन्द्र महतो, सरदसिंह भण्डारी, अनिल झा जसलाई भने पनि । तर, उपेन्द्र यादवको धार भनेको वैचारिक रुपमा ‘पाको वामपन्थी’ धार हो ।

पाको भन्नाले ‘म्याच्युयड’ वामपन्थी । उमेरले पाको भनेको होइन । ६०/६१ वर्ष मात्रै भयो होला उपेन्द्र यादवको उमेर । तर, यहाँ भन्न खोजिएको विचारले उपेन्द्र जी पाको कम्युनिष्ट हुन् । लामो समयसम्म कम्युनिष्ट पार्टीमा बसेको । हरेक अन्तरविरोधलाई कम्युनिष्टहरूको जुन शैली हुन्छ विश्लेषण गर्ने, त्यो शैलीबाट हेर्ने । अनि संगठनमा बढी ‘लेफ्टिक्स’ मान्छेलाई जम्मा गरेर अगाडि बढ्ने उनको सोच । महन्थ–राजेन्द्रहरूको प्रजातान्त्रिक विचारधारा र उपेन्द्रहरूसँग वामपन्थी पृष्ठभूमिको विचारधारा । यी दुवै फरक दृष्टिकोणका कारण अन्तर विरोधहरू देखा परिरहेका हुन्थे । त्यसले अहिलेको ‘क्य्राक्स’ निम्ताउन सहयोग पुगेको हो ।

तेस्रो कुरा, मधेस आन्दोलनको पूर्णतालाई हेर्ने दृष्टिकोण पनि एउटा कारण हो । जस्तो कि, २०६४ सालमा पहिलो संविधानसभाको चुनावभन्दा पहिले दोस्रो मधेस आन्दोलन भयो । त्यो दोस्रो मधेस आन्दोलन भारतको मध्यस्थतामा सहमति गर्नका लागि राजेन्द्र महतो र महन्थ जीहरू तम्सिसकेको, बालुवाटार पुगेको अवस्थामा थियो । तर, उपेन्द्र यादव त्यसमा हस्ताक्षर गर्न तयार नभएको अवस्था थियो ।

धेरैपछि मात्र बाध्यताका कारणले हेलिकप्टर चढेर विरगञ्जबाट उपेन्द्र काठमाडौँ आएर हस्ताक्षर गर्नु परेको इतिहास छ । त्यतिखेरको सम्झौतालाई दुवै पक्षले हस्ताक्षर गरे पनि महन्थ –राजेन्द्र पक्षले पूर्ण सन्तुष्ट भएर हस्ताक्षर गरेको र उपेन्द्र यादव पक्षले असन्तुष्ट भएर हस्ताक्षर गर्नु परेको स्थिती थियो । यसको अन्तरकुन्तरका भिन्नता जसपाभित्र थियो नै ।

चौथो कुरा, भारतलाई हेर्ने दृष्टिकोण हो । उपेन्द्र यादवलाई विजय गच्छेदारहरूले पार्टी विभाजन गर्दा भारतले आफ्नो पार्टी तोडिदिएको भन्ने लागेको छ । भारतले मधेसलाई सधै सत्तासँग बार्गेनिङ गर्न मात्र प्रयोग गरेको भन्ने सोच उपेन्द यादवमा छ । तर, राजेन्द्र र महन्थको सोच बिल्कुल फरक देखिन्छ । यी सबै कारण र धेरै भिन्नताका बीचमा पार्टी एकता भएको थियो ।

यी सबैलाई केलाएर, विवेचना गरेर एउटा दृष्टिकोण बनाएर उनीहरूको पार्टी एकता भएको थिएन । राजपा र समाजवादीबीच एकता भएर जसपा बन्ने बेलामा उनीहरूको पार्टी एकता एक प्रकारले भन्दा अत्यन्तै नाटकीय रुपमा भएको थियो । त्यो बेलाको एकता खासगरी उपेन्द्र यादवमाथिको संकट टार्न गरिएको थियो । किनभने उपेन्द्र जीका ६ जना प्रतिनिधिसभाका सांसदलाई केपी ओलीले विभाजित गर्न लागेका थिए । त्यो विभाजनलाई रोक्न उपेन्द्र जीले १२ बजे राति महन्थ ठाकुर कहाँ पुगेर पार्टी एकता भयो भनेर विज्ञप्ति निकालिएको थियो ।

तत्कालीन राजपा र जसपाका दुवै पक्षले पार्टी एकता भयो भनेर विज्ञप्ति निकाले, निर्वाचन आयोगमा लेखियो पनि । तर, कुनै अन्य विषय मिलेको थिएन । ओली जीको मनोविज्ञानलाई जोडेर त्यसबेला उपेन्द्र र महन्थ दुवै पक्षले पार्टी एकताको घोषणा गरेका थिए । पार्टी मिलेको घोषणा गरिए पनि भित्री मत भिन्नतालाई सँगै बोकेर उनीहरू जसपा बनेका थिए । मिल्नु पर्ने कुनै कुरा मिलेका थिएनन् ।

पछिल्लो समय केपी ओलीसँग उपेन्द्र जीको ‘इगो’ अध्याधिक थियो । उपेन्द्र जी ओली नेतृत्वको सरकारमा सहभागी थिए । तर उनलाई स्वास्थ्य मन्त्रीबाट अपमानजनक ढंगले केपी ओलीले कानुन मन्त्रालय पठाएका थिए । तर, त्यहाँबाट पनि उपेन्द्र जी हट्नु परेको थियो । यो कुरालाई उपेन्द्र जीले एकदमै ‘इगो’को विषय बनाए ।

त्यसकारण उपेन्द्र यादव केपी ओलीसँग कुनै हालतमा सहकार्य गर्न नसक्ने अवस्थामा थिए । यता राजेन्द्र महतो र महन्थ ठाकुरहरू उपेन्द्रप्रतिको केपी ओलीको व्यवहार र उपेन्द्रको केपीप्रतिको इगोलाई बुझ्दै गर्दा केपी ओलीसँग सहकार्यका लागि दौडिरहेका थिए । केपी ओलीसँग सहकार्य गर्दा न मधेसको मुद्दा प्रमुख विषय भयो, न आफ्नो पार्टीलाई एक गरेर जाने कुरा प्रमुख विषय बन्यो । खाली ‘पर्सनल एडजस्टमेन्ट’का आधारमा सबै कुरा मिलाएर केपी ओली, महन्थ ठाकुर र राजेन्द्र महतोबीचमा पहिले नै भित्री सहमति बनिसकेको थियो ।

हामीलाई यति मन्त्री दिनुस् भन्ने महन्थ राजेन्द्रको माग र ओलीले यति मन्त्री दिन्छु भन्ने प्रस्तावबीचमा भित्री सहमति बनिसकेको थियो । त्यसपछि महन्थ र राजेन्द्रले उपेन्द्रका मानिसहरूलाई तिमीलाई मन्त्री बनाउँछौँ । हामीलाई सहयोग गर भनेर भित्री लविङ थाले । कतिपयलाई उनले आफ्नो पक्षमा पारे । त्यसपछि उपेन्द्रलाई पनि आफ्नो अस्तित्व रक्षा गर्नु पर्ने बाध्यता आइलाग्यो । महन्थ जीहरूले ओलीसँग गरेको सम्झौताका कारणले आफू अल्पमतमा परेको कुरालाई स्वीकार गरेर बस्ने कि छुट्टै एउटा धार बनाउने ? उपेन्द्रका लागि चुनौती थपियो ।

को सत्तामा जाने ? एउटा समीकरणको सरकारमा बस्ने वा अर्काे बन्ने समीकरणको सरकारमा गएर बस्ने ? त्यही कारण हो, जसपाभित्रको विभाजन । यो अत्यन्त निरासाजनक विभाजन भयो ।

यसरी दुवै पक्ष आ–आफ्नै ढंगले अगाडि बढ्दै जाँदा अहिलेको अवस्थामा आइपुगेका हुन् । यी दुई पक्ष शुरुमै मतभिन्नता जस्ताको तस्तै राखेर एक ठाउँमा बस्नु हुँदैनथ्यो । तर, परिणामतः त्यही कुरा अहिले देखियो । र, योभन्दा राम्रो छुट्टिएर जाने कुरामा उनीहरू सहमत भए ।

अब उनीहरू दुवै पक्ष धेरै अगाडि पुगिसकेका छन् । दुई नम्बर प्रदेशमा महन्थ जी र राजेन्द्रका मान्छेहरूलाई बाहिर निकालेर कांग्रेसलाई साथ लिएर उपेन्द्र यादव पक्षले सरकार बनाइसकेको अवस्था छ । प्रदेश सरकार अन्यत्र पनि कसलाई समर्थन गर्ने-नगर्नेमा प्रष्ट विभाजन छ । केन्द्रमा केपी ओलीको सवालमा भइहाल्यो । यसले एक प्रकारले जसपा पार्टी विभाजनकै अवस्थामा पुगिसकेको थियो ।

अझै एकै रहँदा थप जटिलता आउने थिए । दुवै पक्षबीचमा । त्यसकारण उनीहरू दुवै समूह अन्तिममा छुट्टिने निर्णयमा पुगेका हुन् । तर, सवाल के आउँछ भने आफ्नो मूल उद्देश्यका लागि उनीहरू विभाजित भएका होइनन् । यिनीहरू न संसद बचाउने शर्तमा विभाजित भए। न मधेसको मुद्दामा विभाजित भए । को सत्तामा जाने ? एउटा समीकरणको सरकारमा बस्ने वा अर्काे बन्ने समीकरणको सरकारमा गएर बस्ने ? त्यही कारण हो, जसपाभित्रको विभाजन । यो अत्यन्त निरासाजनक विभाजन भयो ।

उपेन्द्र -महन्थ सम्बन्ध

राजनीतिमा व्यक्तिगत सम्बन्ध उत्तिकै महत्वपूर्ण हुन्छ । महन्थ र उपेन्द्रको व्यक्तिगत सम्बन्ध कहिल्यै समधुर बन्न सकेन । राम्रो कहिल्यै रहेन । एकले–अर्काेलाई शुरुदेखि नै प्रतिस्पर्धी देख्ने मात्र भइरह्यो । महन्थ जी कांग्रेसबाट आएर तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गर्नु भनेकै हामीलाई समाप्त पार्न हो भन्ने सोचबाट हिड्नु भएको थियो, उपेन्द्र जीहरू । त्यही कारण आम सभाहरूमा उपेन्द्र यादवले तराई मधेस लोकतान्त्रिक पार्टीलाई संक्षेपमा तमलोपा नभनी ‘तामालोटा’ भन्नु हुन्थ्यो । तामालोटा बाहुन–पण्डितहरूले बोकेर हिड्छन् नि । महन्थ जी ब्राम्हाण –पण्डित हुन् ।

उपेन्द्रले त्यही भएर महन्थलाई तामाको लोटा बोक्ने जातका हुन भनेर तमलोपा नभेनर ‘तामालोटा’ भन्ने गर्थे ।

यसैबाट बुझ्न सकिन्छ, उपेन्द्र र महन्थका बीचमा कतिसम्म वैमनष्यता थियो भन्ने कुरा । यस्तोका बीचमा उपेन्द्र महन्थ कसरी सँगै बस्न सक्थे ? प्रश्न पार्टी एउटा बनाउँदैमा उठेको थियो । अहिले त्यही देखाए । राजनीतिमा यी कुराहरूको पनि अर्थ हुन्छ । व्यक्तिगत सम्बन्धको पनि राजनीतिमा ठूलो सम्बन्ध हुन्छ । त्यो कहिल्यै सौहार्दतामा रहेन । एकअर्कामा संवाद गर्ने, एक अर्कालाई सम्मान गर्ने दुवैमा कहिल्यै भएन ।

उपेन्द्रको तुलनामा उमेरले महन्थ जी पाको मान्छे । अलिक बढी अनुभवी पनि । बढी तितो कुरा नबोल्ने मान्छे । त्यस कारण उनको भाषा र शैली शालिन हुन्थ्यो । उपेन्द्रको जस्तो कटुटा महन्थ जी बोल्दैन्थे । तर, महन्थ जी जुन मानिसबाट घेरिनु भएको थियो, तिनीहरू उपेन्द्रलाई भन्न केही बाँकी राख्दैन्थे । महन्थ जीका जुन मान्छेहरू छन्, उनीहरूले जुन भाषा शैली प्रयोग गरे । आलोचनाको तौरतरिका अवलम्बन गरे, त्यो उपेन्द्रले महन्थलाई बोल्ने जस्तै भाषाहरू थिए, महन्थले नबोले पनि । त्यसकारण यी दुईबीचमा सौहार्दता कहिल्यै देखिएन भन्दा हुन्छ ।

अब के हुन्छ ?

यो प्रश्न स्वभिावक रुपमा उठ्छ । निर्वाचन आयोगमा छुट्टिने निर्णय पछि इजालस गठन गरेर उसले सुनुवाइृ थाल्दैछ । साउन ३ बाट आधिकारिकताको सुनुवाई गर्ने तयारी निर्वाचन आयोगले गरेको देखिन्छ ।

यस्तो अवस्थामा अव तराइ–मधेसमा कसलाई फाइदा जनक हुन्छ ? भन्ने प्रश्न स्वभाविक छन् । तर यसमा यसै हुनछ भनेर भन्न जटिल छ ।

केपी ओली र उनका निकट मानिसहरूको आंकलन छ, महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथ लिएपछि खासगरी २ नम्बर प्रदेशमा एमालेको त्यसमा पनि ओलीको जनाधार बढ्न पुगेको छ ।

प्रधानमन्त्री ओली पक्षको यो हालैको मूल्यांकन हो । दुई नम्बर प्रदेशबाट मधेसीहरूले जसरी केपी ओलीलाई कठोर आलोचना हुने गर्दथ्यो । अब त्यो आलोचना गर्ने स्थिती रहेन भन्ने ओली पक्षको बुझाई छ । यदि, ओली र उनका मान्छेको यो विश्लेषण सही हो र उनीहरूले मधेसमा आफ्नो प्रभाव बढेको देखेका हुन् र त्यस्तो अनुमान गर्दै छन् भने त्यसले महन्थ र राजेन्द्रहरूलाई फाइदा त गर्दैन ।

यसले महन्थ र राजेन्द्र पक्षलाई नै राजनीतिक रुपमा घाटा हुने हो । दोस्रो, महन्थ र राजेन्द्र पक्ष २ नम्बर प्रदेशको सत्ताबाट बाहिर छन् । प्रदेश सरकारमा हुँदा राजेन्द्र महन्थ पक्षले जसरी सत्ताको लाभ प्राप्त गरिरहेका थिए । अहिले त्यसबा बिमुख भए । अहिले उपेन्द्र यादवलाई एउटा तर्क गर्ने मेलो मिलेको छ– महन्थहरू केपी ओलीसँग मिल्न गए, म गइनँ ।

केपी ओली अलोक प्रिय छन्, उनले प्रजातन्त्रलाई नोक्सान पुर्याए । संसद विघटन गरे, मैले सही अडान लिएँ भन्ने कुरा उपेन्द्रले जुन भनिरहेका छन्, त्यसलाई अलिकति मधेसमा मान्छेहरूले रुचाएको जस्तो देखिन्छ । राजेन्द्र महतोहरूले ठिक गरेनन्, बरु उपेन्द्रले ठिक गरे भन्ने पनि मधेसमा सुनिन थालिएको छ । अब यो साच्चै मधेसको मान्छेहरूले रुचाएको हो भने उपेन्द्रलाई केही फाइदा हुने देखिन्छ ।

तेस्रो, प्रदेश २ को सरकार कांग्रेससँग मिलेर उपेन्द्रले सुरक्षित गरे । सरकार सुरक्षित भएकाले त्यसको लाभ पनि उपेन्द्रलाई मिल्छ । कथंकदाचित अहिले भनिहाल्ने बेला छैन, तर शेरबहादुर देउवाको नेतृतवमा सरकार बन्यो भने उपेन्द्र पनि सरकारको मजबुत ठाउँमा रहन्छन् । त्यसको लाभ पनि उपेन्द्रलाई प्राप्त हुन्छ ।

यदि, त्यो समयमा केपी ओली अबको अदालतको निर्णयले तल जाने स्थिती बन्यो भने राजेन्द्र –महन्थहरूका लागि बोल्ने ठाउँ रहँदैन । त्यसपछि हामीले ठिक गर्याैँ भन्ने ठाउँ रहँदैन । त्यसले गर्दा मलाई लाग्छ, जसपाभित्रको अहिलेको विवाद र नेताहरूले लिएको कार्य नीतिले तराई–मधेसमा कस्तो प्रभाव पर्छ ? त्यसका बारेमा भने केही समय अझै पर्खेर हेर्नु पर्ने हुन्छ । तर, महन्थ जीहरूले मधेसमा अलिक बढी नोक्सान ब्यहोर्नु हुन्छ जस्तो लागिरहेको छ ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया