मंगलबार, वैशाख ११, २०८१

कांग्रेस महाधिवेशन

‘च्याखे दाउँ’ थाप्ने रणनीतिमा सिटौला

मेरोन्यूज २०७८ असार २४ गते १२:५२

काठमाडौँ / २०७२ सालमा भएको १३ औं महाधिवेशनमा तेस्रो समूह बनाएर सभापतिको प्रतिष्पर्धामा उत्रिएका कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनमा पनि ‘च्याखे दाउँ’ थाप्ने तयारीमा जुटेका छन् । आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा तोकिएको महाधिवेशनमा पहिलो चरणमा १३ औं महाधिवेशनमा बनाएको समूहलाई जोगाउन सभापतिमा सकभर प्यानलसहित प्रतिष्पर्धा गर्ने र दोस्रो चरणमा जसको पल्ला भारी हुन्छ, त्यसैलाई सघाउन ‘च्याखे दाउँ’ थाप्ने तयारी सिटौलाको छ । उनले आफ्नो समूहका नेताहरूलाई पनि त्यही अनुरुप अगाडि बढ्न निर्देशन दिएका छन् ।

सिटौला समूहका नेता पूर्वमन्त्री भिमशेनदास प्रधानले कसैको पक्षमा नलागेर आफ्नै समूहबाट प्यानलसहित उठ्ने भन्दै कसैको पक्षमा लाग्ने कुरा नगर्न भनेको जानकारी दिए । ‘हामी १३ औं महाधिवेशनमा आकस्मिक रूपमा प्रतिष्पर्धामा गर्दात सम्मानजनक मत आएको थियो । अहिले त त्यो भन्दा राम्रो छ,’ सिटौलाको भनाइ उध्रित गर्दै प्रधानले भने, ‘संस्थापन वा अन्य कुनै समूहमा लाग्ने तयारी नगर्नुहोला । हामी आफै उठ्ने हो ।’

सिटौला समूहमा रहेका नेताहरू केही संस्थापनको पक्षमा र केही संस्थापन इतर समूहमा लाग्ने बताइरहेका बेला सिटौलाले कतैतर्फ नलागेर पहिलो आफै समूह मजबुद बनाएर अगाडि बढ्ने बताएका हुन् । समूहका युवा नेताहरू गगन थाथा र प्रदीप पौडेल संस्थापन इतर समूहमा र प्रधान, उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईं संस्थापनमा लाग्नु पर्ने बताइरहेका छन् । तर, सिटौलाले भने कसैको पक्षमा वकालत नगर्न भनेका हुन् । ‘हामी केहीले संस्थापन र केहीले संस्थापन इतरमा लाग्ने सुझाइरहेका थियौं । तर उहाँले कुनै समूहका बारेमा कुरा नगरी आफ्नै समूहलाई मजबुद बनाउन भन्नुभएको छ,’ प्रधानले भने ।


सिटौलाले मंगलबार आफ्नो समूहका नेताहरूसँग महाधिवेशनबारे छलफल गरेका थिए । त्यो छलफलमा युवा नेताद्वय थापा र पौडेल सहभागी थिएनन् । त्यसपछि उनीहरूले समूह छोडेकोबारे नेताहरूको प्रश्नमा विशेष कामका कारण आउन नसकेको र समूहमै रहेको प्रष्टीकरण सिटौलाले दिएका थिए ।


सिटौलाले नेताहरूलाई आफ्नो सक्षमताबारे प्रचार गर्न पनि निर्देशन दिएका छन् ।


विगत ५,६ वर्षको सिटौलाले पाएको भूमिकामा धेरै सफलता हात लागेकाले त्यो प्रचार गर्ने तयारीमा आफूहरू रहेको प्रधानले बताए । संविधान जारी गर्ने, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, पार्टी महासमिति बैठकका बेला सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद हुँदा मिलाउने मध्यस्थकर्ता भएर सफल पारेको लगायत विषय प्रचारको तयारी सिटौला समूहको छ ।

महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषय महाधिवेशन प्रतिनिधि चुनिएपछि तय गर्ने सिटौला समूहको छ । ‘प्रतिनिधि सभा क्षेत्रसम्मको अधिवेशन सम्पन्न भएपछि मात्रै कुन रणनीतिमा महाधिवेशमा होमिने भन्ने निक्यौल हुन्छ । त्यसपछि मात्रै धेरै विषयमा विश्लेषण गर्न सकिन्छ,’ प्रधानले भने ।


अहिले सिटौलासँग केन्द्रय समितिमा उनीसहित गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी र शिव हुमागाईं छन् । १३ औं महाधिवेशनमा सिटौला समूहबाट थापा महामन्त्री र चौधरी कोषाध्यक्षको उम्मेद्वार भएका थिए । त्यस्तै भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा सिटौला समूहबाट उपसभापतिमा तुलसा पन्त र मुक्ति पौडेल तथा महामन्त्रीमा बलदेव तिमल्सिना र युवराज पाण्डे छन् । त्यस्तै तरुण दलको उपाध्यक्षमा उत्तम चापागाईं छन् । महिला संघमा धना खतिवडा महासचिव छिन् ।

प्रतिक्रिया