आइतबार, जेठ ६, २०८१

कोभिड–१९ विरुद्धको खोप लिन आज चीन जाँदै निगमको जहाज

मेरोन्यूज २०७८ असार २४ गते ११:५०

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउन जहाज त्यसतर्फ जाने बताए । सरकारले (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उनकाअनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ । जहाजले भोलि खोप ल्याउने छ ।

असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन जाने र साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

‘आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ । परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने यकिन छैन,’ उनले भने ।

उनले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको यकिन हुने बताए । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो ।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उनले बताए ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

प्रतिक्रिया